मधेशको विकासका लागि एमाले चाहिन्छ : अध्यक्ष ओली
सिमरा, ३० भदौ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दललाई मधेशका पक्षमा काम गरेको एउटा मात्रै तथ्य देखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिनुभएको छ । जीतपुर सिमरा उपमहानगरपालिकामा आयोजित प्रदेश नम्वर दुईको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो चुनौती दिनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो–एमालेका बारेमा मधेशमा ठूलो भ्रम फिंजाइएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलले त्यस्तोे भ्रम फिंजाएका छन्, तर म चुनौती दिन चाहन्छु, ती भ्रम फिंजाउने दलले मधेशका पक्षमा काम गरेको एउटा मात्रै तथ्य प्रमाण देखाऊन्, ।
अध्यक्ष ओलीले तराई मधेशको विकासका लागि आफ्नो नेतृत्वको सरकारले विशेष कार्यक्रम सहित ठूलो परिमाणमा बजेट छुट्याएको बताउँदै त्यस्तो बजेट अन्य दलले २० वर्षसम्म पनि छुट्याउन नसकेको र नसक्ने समेत बताउनु भयो । जसले मधेशलाई विकासबाट पछाडि राख्यो त्यही दल अहिले एमालेलाई मधेशविरोधी भनी कुप्रचारमा लागेको बताउनुभयो ।
मधेश र देशको विकासका लागि पनि एमाले चाहिने बताउँदै समृद्ध मधेश बनाउन सूर्य चिन्हमा मतदान अपिल गर्नुभयो । संविधान संशोधन मधेश र मधेशी जनताको हितमा नरहेको बताउँदै उहाँले बाहिरी चासो अनुसार संशोधन प्रस्ताव आएकाले समर्थन नगरेको स्पष्ट पार्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका लागि एमालेको तर्फबाट मेयरका उम्मेदवार डा. कृष्ण पौडेलले सिमराको विकासका लागि आफू र आफ्नो पूरा टिमले कडा मेहनत गर्ने बताउनुभयो । उहाँले सिमराको मुहार फेर्नका लागि आफूहरुको नेतृत्व समक्ष भएको भन्दै मतदातालाई अन्य दलको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो । अध्यक्ष ओलीले आजै महोत्तरीको बर्दिबासको सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


