भारतीय सीमासंग जोडिएका मतदात केन्द्रहरु अति संवेदनशील
धनुषा । धनुषाको भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको पाईएको छ । सीमा क्षेत्रमा विशेष निगरानी पु¥याउँदै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्नका लागि धनुषास्थित सुरक्षा समितिले तयारी पूरा गरेको जनाएको छ ।
असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि भारतीय सीमासंग जोडिएका गाउंपालिका तथा नगरपालिकाहरुको मतदान केन्द्रहरु अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति धनुषाले जनाएको छ । स्थानीय तहको निर्वाचनका लागि धनुषाको २ सय २२ मतदान स्थल अति संवेदनशील रहेका छन् ।
सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल ३ सय २७ मदतान स्थल मध्ये २ सय २२ अति संवेदनशील र १ सय ५ संवेदनशील रहेका छन् । धनुषाको समरमुकाम जनकपुरका केहि मतदान केन्द्रमा सामान्य रहेको धनुषाका डीएसपी प्रविण धितालले जानकारी दिनुभयो ।
खुल्ला सीमाका कारण भारतीय सीमासंग जोडिएका ७ नगरपालिकासहित १८ गाउंपालिका, नगरपालिकाको मदतान स्थल अति संवेदनशीलमा राखिएको जिल्ला निर्वाचन सुरक्षा व्यवस्थापन समिति धुनुषाले जनाएको छ । मतदाताहरुको सहजताका लागि धनुषाको ३ सय २७ मतदान स्थलमा ५ सय ३२ मतदान केन्द्र निर्धारण गरिएको धनुषाका प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उपाध्यायले जानकारी दिनुभयो ।
धनुषाको ११ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका रहेको छ । जसबाट ८ सय ८१ जनप्रतिनिधि निर्वाचित हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि ३ हजार १ सय ९२ कर्मचारी परिचान गरिएको प्रमुख निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो ।
मतदानका लागि मतदाताहरु उत्साहपूर्वक मतदातापरिचय पत्र लिन मतदान केन्द्रमा आईरहेको औरहीका मतदान अधिकृति नन्दकिशोर यादवले बताउनुभयो ।प्रदेश नं.२ का मतदाताहरु मतदानका लागि निकै उत्साहित छन् । सम्बन्धित पक्षले तयारी समेत अन्तिम चरणमा पु¥याएकाले निर्वाचन शान्तिपूर्ण हुनेमा सबै पक्ष विश्वस्त देखिएका छन् ।


