एमाले र कांग्रेस कार्यकर्तावीच झडप, दूवै दलले एकअर्काले आक्रमण गरेको आरोप-प्रत्यारोप
धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । दूवै दलले एकअर्काले आक्रमण गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा सांघातिक आक्रमण भएको जनाएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गए राति करिब १२ बजे आक्रमण भएको हो ।
मेयर पदका उम्मेदवार यादवले आफूहरु सुतिरहेको अवस्थामा १०० बढीको समूहमा आएका एमाले कार्यकर्ताहरुले घरमा आक्रमण गरेको आरोप लगाएका छन् । सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा एमाले कार्यकर्ताहरुले आफ्नो घरमा आक्रमण गरेको यादवले बताए । मदिरा सेवन गरेर पुगेका उनीहरुले घरको मूलढोका तोडफोड समेत गरेर ढुंगामुढा गरेको यादवको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा पराजय हुने डरले एमाले कार्यकर्ताहरुले रातीको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बताउँदै आक्रमणकारीहरुले घर परिसर भित्र रहेको मोटरसाइकल र कुर्सीहरु समेत तोडफोड गरेको उम्मेदवार यादवले बताए ।
यादवका अनुसार अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । घरमा आक्रमण गर्न पुगेका उनीहरुले ढंगामुढा गरेपछि ढुंगा उछिटिएर उनीहरुका केही व्यक्ति समेत घाइते भएको उम्मेदवार यादवले बताएका छन् ।
एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको आरोप कांग्रेसको छ । घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेको उम्मेदवार यादवले बताए ।एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् ।
यता अकौडा घटनाप्रति नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको सामुन्ने उम्मेदवारको घरमा आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक बनेको गुनासो गरेका छन् । उनले निर्वाचनको पूर्व संध्यामा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुनु सुरक्षा व्यवस्थाको तैयारीमाथि गंभीर प्रश्न उठेको बताएका छन् ।
शान्तिपूर्ण तथा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा मतदाताहरुको सुरक्षालाई ध्यान राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग समेत गरेका छन् । नेपाली काँग्रेसको मेयर पदका उम्मेदवार आक्रमण हुँदा समेत हालसम्म प्रहरी प्रशासनको उपस्थिति नहुनु निन्दनीय रहेको निधिले बताएका छन् । चुनावको एक दिन अघिएमाले कार्यकर्ताहरु बिचलित भई आक्रमण गरेको निधिको भनाइ छ ।
घटनाका सम्बन्धमा एमालेले भने नेपाली कांग्रेसका तर्फबाट राज्य आतंक मच्चाएको आरोप छ । कांग्रेस नेता विमलेन्द्र निधीको निर्देशनमा कांग्रेस कार्यकर्ताले प्रहरीकै संरक्षणमा एमालेका कार्यकर्तालाई घर घरमा पसेर आक्रमण गरेको एमालेको आरोप छ । एमालेका जिल्ला नेता शीतल साहले एमालेलाई मतदानको दिनसम्म घर बाहिर निस्कन नदिने भन्दै टोलटोलमा आतंक मच्चाइएको बताए ।
कांग्रेस नेता निधीको प्रत्यक्ष संलग्नतामा एमाले कार्यकर्तालाई घर घरमा पुगेर धम्क्याइएको आरोप एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले लगाए । महासेठले आइतवार विज्ञप्ति जारी गरी धनुषामा राज्य आंतक सिर्जना गरिएको र असुरक्षाका कारण अनगराई नगरपालिकाका ७० भन्दा बढी एमाले कार्यकर्ता विस्थापित भएको जनाएका छन् ।
केही व्यक्तिलाई गए रातिदेखि बेपत्ता पारिएको एमालेको आरोप छ । जिल्ला प्रहरी कार्यालयले भने घटनाको अनुसन्धान भइरहेको र दोषीलाई पक्राउ गरी कारवाही गरिने जनाएको छ ।


