मध्यपहाडी लोकमार्गले समृद्धिको ढोका खोलेको भौतिक पुर्वाधार तथा राज्यमन्त्री सीता गुरुङको भनाई

जन्मथलोमा गुरुङलाई भव्य स्वागत र सम्मान

धनकुटा खबर / तेह्रथुम, १ असोज । भौतिक पर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई जन्मथलो तेह्रथुमको आठराईबासीले भव्य स्वागत तथा सम्मान गरेका छन् । आठराई गाउँपालिकाको चुहानडाँडा र सक्रान्तिबजारमा राज्यमन्त्री गुरुङलाई स्थानीयबासी, क्याम्पस, विद्यालय, संघसंस्था तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् ।

आठराई गाउँपालिका–४, साविक इवा गाविसमा जन्म भई तेह्रथुम जिल्लाबाट व्यवस्थापित संसद हुँदै राज्यमन्त्री बनेकी नेतृ गुरुङ मन्त्री बनेपछि पहिलो पटक जन्मथलो आउनुभएको हो । राज्यमन्त्री गुरुङलाई पुर्वविद्यार्थीको रुपमा त्रिमोहन उच्च मावि सक्रान्तिबजार र तेह्रथुम बहुमुखी क्याम्पसले सम्मान गरेका छन् ।

यस्तै नेपाली कांग्रेस आठराई गाउँपालिका कार्यसमिति, सबै वडा कार्यसमितिहरु र भातृ संस्थाहरुले समेत सम्मान पत्रसहित अविर जात्रा, माल्यार्पण र खादा ओढाएर सम्मान गरेका छन् । राज्यमन्त्री गुरुङलाई आठराई गाउँपालिकास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले समेत स्वागत तथा सम्मान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहनुभएकी राज्यमन्त्री गुरुङले मध्यपहाडी लोकमार्गले तेह्रथुम जिल्लाको समृद्धिको ढोका खोलेको बताउनुभएको छ । पाँचथरको जोरसालदेखि माझीटार हुँदै सक्रान्तिबजारदेखि पुरै तेह्रथुम जिल्लालाई छिचोलेर अघि बढेको निर्माणाधीन लोकमार्ग सम्पन्न भएपछि जिल्लाले आर्थिक समृद्धिको फड्को मार्ने उहाँले बताउनुभयो ।

उहाँले पटक पटक लोकमार्गको ट्रयाक परिवर्तन गर्ने चलखेल भएको भन्दै अब पाँचथर तेह्रथुम खण्डका कुनैपनि ठाउँमा ट्रयाक परिवर्तन नहुने र कुनै पनि हालतमा हुन नदिने बताउनुभयो । राज्यमन्त्री गुरुङले भौतिक पुर्वाधारतर्फ यहाँका सडक, पुल निर्माण र मर्मत सम्भार नै आफ्नो कार्यकालका प्राथमिकता रहेको बताउनुभयो । लोकमार्गको निर्माणाधीन खण्डको अवलोकनपछि माझीटार–सक्रान्तिबजार–म्याङलुङ सडक खण्डको काम तीब्र गतिमा गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँले जिल्लाको स्वास्थ्य, शिक्षा खानेपानी, तथा सडकहरुको अवस्था हेरेर प्राथमिकतामा राखी आफ्नो ठाँउबाट सकेसम्म अगाडी बढाउने बताउनुभयो । राज्यमन्त्री गुरुङले वर्षाले क्षतिग्रस्त जिल्लाका महत्वपुर्ण सडकहरु दशैँ अगाडि नै खुलाउने र निर्माण तथा मर्मत सम्भारको कामले अब गति लिने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।