२ नं. प्रदेशमा मतदान सम्पन्न, कस्तो रह्यो मधेशमा असोज २ ?

काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

वीरगञ्ज लगायतका स्थानमा भने अझै मतदान जारी छ । मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई मतदान गर्न दिइने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

प्रदेश २ मधेस आन्दोलनको उद्गम स्थल नै हो । साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेको थियो । तर, स्थानीयले उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन् । आयोगका अनुसार झण्डै ७३ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई-तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । कतिपय मतदान केन्द्रमा पुरुषको तुलनामा महिलाहरुको संख्या उल्लेख्य देखिन्थ्यो ।

प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १ सय ३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

केही स्थानमा भने फर्जी मतदाता भेटिएका छन् । महोत्तरीमा बिभिन्न मतदान केन्द्रबाट ११ फर्जी मतदाता पक्राउ परेका प्रहरीले जनाएको छ । सप्तरीमा अर्काको नाममा मतदान गर्न खोज्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश २ मा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा लगायतले पनि मतदान गरेका छन् ।

सप्तरीमा नक्कली मतदाता पक्राउ

प्रदेश नं‌. २ अन्तर्गत आज भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए
। सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।

मतदान गरेर घर फर्किंदै गर्दा मृत्यु

प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको विच बाटोमै मृत्यु भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ ।

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए।

दुई किरिया पुत्रीले गरे मतदान

बारा जिल्लाको एक मतदान स्थलबाट २ किरिया पुत्रीले मतदानमा सहभागी भएका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका-१ को स्वास्थ्य चौकीको मतदान केन्द्र ‘ख’ बाट उनीहरुले मतदान गरेका हुन् ।

रौतहटमा माओवादी र फोरमबीच झडप, प्रहरीद्वारा हवाई फायर

रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको छ ।

प्रावि गम्हरिया पतौरा मतदान केन्ऽमा माओवादीले गैर मतदानतनलाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

झडपका कारण झण्डै एक घन्टम मतदान अवरुद्ध भएको थियो । तर, अहिले मतदान सुरू भएको प्रहरीले जनाएको छ ।

महन्थ ठाकुरको स्वास्थ्यमा समस्या, मतदान नगरी काठमाडौं फर्किए

प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने सहभागी भएनन् ।

स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् ।
वयोवृद्ध नेता ठाकुर चुनावको प्रचार प्रसारमा पनि खासै सहभागी भएका थिएनन् ।

गृहजिल्ला सर्लाही भएका राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव लगायतले भने मतदानमा भाग लिएका छन् ।

यस्तै पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदानमा भाग लिएनन् । उनी धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका मतदाता हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।