राजविराज बाहेक १३५ वटै स्थानीय तहको मतगणना जारी : सर्लाहीमा विवादपछि मतगणना रोकियो
काठमाडौँ, ३ असोज । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य शुरु हुनेछ ।
विवादपछि मतगणना रोकियो
मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।
अहिले त्यहाँ प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।


