युवा नेता गगन थापा प्रदेश ३ को कांग्रेस मुख्यमन्त्रीको उम्मेदवार ! अरु प्रदेशमा को-को ?

नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

प्रमुख विपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।

यससँगै कांग्रेसमा पनि मुख्यमन्त्रीको उम्मेदवारका नाममा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि औपचारिक रुपमा भने कसैले पनि मुख खोलेका छैनन् ।

स्रोतका अनुसार युवा नेता गगन थापाले प्रदेश ३ को मुख्यमन्त्रीको उम्मेदवार दाबी गरेका छन् ।पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् । तर, मुख्यमन्त्रीको उम्मेदवार हुने शर्तमा उनी प्रदेशसभामा जान तयार भएका छन् ।

स्रोतका अनुसार उनले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव जानुपर्ने र आफू ३ नम्बर प्रदेशको दाबेदार भएको सन्देश पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याएका छन् ।

स्थानीय चुनावको मतलाई हेर्दा प्रदेश ३ मा कांग्रेसले एमालेले भन्दा एक लाख कम भोट पाएको छ । तर, संविधानसभामा कांग्रेस नै पहिलो पार्टी रहेको र मेहनत गर्ने हो भने प्रदेश ३ मा फेरि पहिलो पार्टी हुनसक्ने गगनको विश्लेषण छ ।

प्रदेश १ मा विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । अघिल्लो संविधानसभामा उनी पराजित भएका थिए । तर, १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका उनी प्रदेश १ का चर्चित युवा अनुहार हुन् ।

प्रदेश २ मा स्थानीय तहको चुनाव भइरहेकाले मुख्यमन्त्रीको दाबेदारबारे खासै छलफल भएको छैन । तर, केन्द्रीय सदस्य आनन्द ढुंगाना, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव लगायतका नेताहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

प्रदेश ४ मा धनराज गुरुङ, शंकर भण्डारी, ध्रुव वाग्ले लगायतको युवा नेताहरुको नाम चर्चामा छ । स्थानीय तहको मत परिणामलाई हेर्दा प्रदेश ४ कांग्रेसका लागि अनुकुल प्रदेश हो ।

प्रदेश ५ का लागि कांग्रेसमा मुख्यमन्त्रीको उम्मेदवारका मुख्य दावेदार बालकृष्ण खाँड हुन् । यहाँ पनि प्रदेश २ मा जस्तै त्रिशंकुस प्रदेश सभा बन्ने सम्भावना बढी देखिन्छ । रुपन्देही ३ बाट प्रत्यक्ष निर्वाचित सांसद खाँड मुख्यमन्त्रीको उम्मेदवार हुने गरी प्रदेशमा जान तयार देखिएका छन् । स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेका खाँडले अनौपचारिक छलफल समेत थालेका छन् ।

प्रदेश ६ मा जीवनबहादुर शाही मुख्यमन्त्रीका दाबेदार हुन् । तर, सुर्खेतका हृदयराम थानीलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । स्थानीय तहको चुनावमा यो प्रदेशमा कांग्रेस, एमाले र माओवादीले झण्डै बराबर स्थानीय तह जितेका छन् ।

प्रदेश ७ मा रमेश लेखक सम्भावित उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार हुँदा पार्टीभित्र सर्वसम्मत हुनेछन् । तर, केन्द्रीय राजनीतिमा स्थापित भइसकेका उनी प्रदेशमा जाने नजाने निश्चित छैन ।

उनको विकल्प रुपमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर हुन सक्ने कांग्रेसका एक नेताले बताए ।यो प्रदेश कांग्रेस बलियो भएको प्रदेश मानिन्छ । तर, स्थानीय तहको चुनावमा एमालेले भने केही धेरै मात्र मात्र पाएको छ । – अनलाइन खबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।