उम्मेदवार छनोट गर्दा पक्षपात भएकाले कांग्रेसले राम्रो परिणाम ल्याउन सकेन : सुजता
विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीय चुनावमा उम्मेदवार छनोट गर्दा पक्षपात भएकाले कांग्रेसले राम्रो परिणाम ल्याउन नसकेको बताएकी छन् । उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने पक्षपात नगरी योग्य उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिइन् ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब हुने निर्वाचनमा गुटबाट माथि उठेर कार्यकर्ताको माझबाट छनोट भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताइन् ।
पार्टीभित्रको विवादलाई पनि छिटो मिलाउनुपर्ने धारणा उनले राखिन् । ‘पार्टीभित्रको विवादलाई गिरिजाबाबुले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘कतिपय जिल्लामा विवाद देखिएकाले पार्टी सभापतिले कार्यकर्ताको माझमा पुगेर समाधान गर्नु नै उचित देखिन्छ ।’
स्थानीय तह निर्वाचनमा कतिपय ठाउँमा मतदाता र उम्मेदवारलाई समेत पैसा वितरण गरिएको भन्दै उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुनु सरकारको ठूलो उपलब्धि भएको भन्दै उनले आगामी निर्वाचन पनि निष्पक्ष हुनुपर्ने बताइन् ।


