प्रभावशाली नेता गोपाल किराँतीले माओवादी केन्द्र छाडे, गरे अलग पार्टीको घोषणा
काठमाडौं, असोज १८ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता गोपाल किराँतीले उक्त पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै पार्टी भेलाको आयोजना समेत गरेका छन् ।

एमालेसँगको एकतालाई चुनौती दिँदै नेता किराँतीले प्रचण्ड समूह एमालेसँग आत्मसपर्पणको आरोप लगाउँदै पार्टी पुनर्गठन गर्ने बताएका छन् । किराँतीले आफ्नो फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै लडाकु दस्ता तयार पारेर पहिचान विरोधीहरुलाई भाटे कारवाही गर्ने धम्की दिएका छन् ।
किराँतीले भनेका छन्, ‘माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पुनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।’
उनले ‘प्रचण्ड समूह’लाई सांकेतिक रुपमा पहिचान विरोधीको आरोप लगाउँदै आगामी निर्वाचनमा त्यस्तो समूहलाई भाटे कारवाही गर्ने चेतावनी दिएका छन् ।
सोमबार भएको माओवादी केन्द्रको सचिवालय बैठमा किराँतीले एमालेसँग पार्टी एकता गर्न नहुने विचार व्यक्त गर्दै बैठक बीचैमा छोडेर निस्किएका थिए । एमालेसँग एकिकरण गर्ने विषयमा पार्टीका कुनै निकायमा छलफल नभएको भन्दै उनले यो काम अवैधानिक भएको दाबी पनि गरेका छन् ।
किराँतीको विज्ञप्ति
माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान
१. माक्र्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।
२. पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
३. सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
४. भेला आयोजक समिति गठन अघि एक पटक श्री प्र्रचण्डसँग वार्ता गरिनेछ ।
५. चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।
गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।


