प्रभावशाली व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गर्ने क्रम जारी, निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्की एमालेमा प्रवेश गर्दै !
विभिन्न हिसावले समाजमा प्रभावशाली व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गर्ने क्रम जारी छ । नवराज सिलवाल, कोमल वलीलगायतको प्रवेशले एमालेलाई झन शक्तिशाली देखाएको छ ।
पछिल्लो साता मात्रै हजार भन्दा बढी मानिस एमालेमा प्रवेश गरेको एमालेका नेताहरु बताउँछन् । यो सृंखलाले नेकपा एमालेका नेता तथा कार्यकर्ता पनि उत्साही छन् । यस्तैमा एमालेप्रति सहानुभुति राख्नेहरुलाई एमालेका जिम्मेवार नेताहरुले योजना नै बनाएर प्रवेश गर्न आग्रह गर्दैआएका छन् ।
कतिपयको सन्दर्भमा त एमाले अध्यक्ष केपी ओली स्वयं केही प्रभावशाली व्यक्तिहरुलाई एमाले प्रवेश गर्न आग्रह गरेका छन् । यही विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग समेत छलफल भएको बुझिएको छ ।
कार्की एमालेमा प्रवेश गर्ने विषयलाई लिएर अध्यक्ष केपी ओली र उनको केही चरणमा छलफल चलेको एमालेका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार कार्की चुनावअघि नै एमाले प्रवेश गर्नसक्ने सम्भावना छ ।
केपी ओलीको प्रस्तावलाई कार्कीले सकारात्मक रुपमा लिएको पनि बताइएको छ । उनले प्रत्यक्ष रुपमा एमालेमा आउने बचन नदिए पनि चुनावसम्म आउनसक्ने संकेत देखाएको ती नेताले बताएका छन् ।
राष्ट्रिय चासोसँग जोडिएका पछिल्ला केही महत्वपूर्ण घटनामा कार्कीको नाम पनि जोडिएको थियो । ती घटनामा कार्कीलाई एमालेले साथ पनि दिएको थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले भने महाअभियोग घटनामा एमालेले साथ दिएकोमा आभारी रहेको भन्दै एमालेसँग सकारात्मक भएको एमाले नेताहरुसँग बताएकी थिइन् ।
सुशीला कार्की नेपाली कांग्रेस निकट भनेर चिनिए पनि पछिल्लो समय एमालेका नेताले उठाएका मुद्दासँग उनी सहमत भएको बुझिएको छ । एमालेका ती नेताले दिएको जानकारीअनुसार कार्की छिट्टै एमालेमा प्रवेश गर्नेछिन् ।
– नेपालीपत्रडटकमबाट


