२१ सिटमा एमाले र माओवादी बीच विवाद
काठमाडौं । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन एमाले र माओवादीको बाम गठबन्धन सहमति नजिक पुगेका छन् । शनिबार नै उनीहरुले केन्द्रले मंसिर २१ मा हुने दोस्रो चरणको चुनावका लागि सिट बाँडफाँडमा सहमति गर्दैछन् । दोस्रो चरणको १२८ निर्वाचन क्षेत्रको बाँडफाँडका लागि भैंसेपाटीस्थित एमाले नेता बामदेव गौतको निवासमा बैठक जारी छ ।
दोस्रो चरणमा हुने प्रतिनिधिसभाका १२८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवारहरू लड्ने १०७ क्षेत्रको टुंगो लागिसकेको छ । त्यसमध्ये एमालेलाई ७२ र माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ । ६० र ४० को अनुपातमा दुई पार्टीबीच चुनावी गठबन्धनको सहमति भएको हो । २१ सिटमा दुवै पार्टीका नेताहरुको दाबीका कारण साझा उम्मेदवार तय हुन सकेको छैन ।
एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा दुवै दलका नेता सम्मिलित कार्यदलले दोस्रो चरणको चुनावका लागि उक्त बाँडफाँडसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाइसकेको छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एमाले स्थायी समितिको बैठक शुक्रबार रातिसम्म बसेको थियो । पहिलो चरणको मंसिर १० मा हुने चुनावका लागि प्रतिनिधिसभामा एमालेले २१ र माओवादीले १६ सिटमा सहमति गरेका थिए । सोहीअनुसार उम्मेदवार मनोनयनसमेत भइसकेको छ । दुई ठूला वाम दलबीच ६०र४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने नीतिअनुसार कार्यदलले प्रतिवेदन तयार पारेको हो ।
सिट बाँडफाँड कार्यदलले झापा, मोरङ, सुनसरी, चितवन, कास्की, बारा, उदयपुरलगायत जिल्लाका निर्वाचन क्षेत्र टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई सुम्पेको छ । कार्यदलले सिट बाँडफाँडको मुख्य आधार पछिल्लो स्थानीय तहको चुनावको मतलाई लिएको छ । त्यसबाहेक कतिपय क्षेत्रमा उम्मेदवारको लोकप्रियता र सामाजिक क्षेत्रमा र्पुयाएको योगदानलाई पनि आधार बनाएको छ ।
स्थानीय चुनावमा राम्रो परिणाम ल्याएका धनकुटा, इलाम, तेह्रथुमलगायत जिल्लाबाट प्रतिनिधिसभामा एमालेका मात्र उम्मेदवार हुने भएका छन् । चितवनमा एमाले र माओवादीले १र१ सिटमा टुंगो लगाएका छन् । बाँकी १ सिटमा छलफल जारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवन–३ बाट उठ्ने छन् । काठमाडौंका १० सिटमा एमालेले ७ र माओवादीले ३ सिट लिनेछन् । ललितपुरमा माओवादीले क्षेत्र नं. ३ मा सम्भवतस् प्रवक्ता पम्फा भुसाललाई अघि सार्ने तयारी गरेको छ । भक्तपुरमा प्रतिनिधिसभामा माओवादीको दाबी छैन । भक्तपुरमा क्षेत्र नं. २ मा एमालेका युवानेता महेश बस्नेत उठ्ने टुंगो लागेको छ ।


