यिनै हुन ती डीएसपी जसका कारण बिर्तामोड बन्यो रणभुमी ( भिडियो सहित)
काठमाडौं । नेपाल प्रहरीका एक डीएसपीको लापरबाहीका कारण शुक्रबार झापाको विर्तामोड एकाएक रणभूमिमा परिवर्तन भयो । बालक हत्याको घटनासम्बन्धमा प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन अनुरोध गर्न पुगेका स्थानीयसँग त्यस क्षेत्रका तत्कालीन डीएसपी राजकुमार सिलवालले गलत बोली र व्यवहार प्रदर्शन गरिदिँदा अनपेक्षित परिणाम सृजना भयो । एक जनाको मृत्यु भएको छ भने आधा दर्जन व्यक्ति घाइते भएका छन् । हेर्नुस् भिडियो ।
घटना हो, झापाको अर्जुनधारा–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्या या मृत्यु सम्बन्धमा । उक्त घटना असोज १४ गते भएको थियो । पीडित परिवारले बालकको हत्या भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिए पनि प्रहरीले भने लिन मानेन । तर, पीडित परिवार र आफन्तले जुलुस प्रदर्शन गरेपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्दै ३ जनालाई पक्राउसमेत गरेको थियो । उक्त घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै मृतकका आफन्तहरुले पटकपटक जुलुस प्रदर्शन गर्दै आएका थिए । शुक्रबार पनि मृतकका आफन्तले प्रहरीलाई प्रभावकारी अनुसन्धानका लागि आग्रह गर्दा डीएसपी सिलवालले मानिसहरुको भीडमा आफू झापालीहरुलाई तह लगाउन आएको धम्की दिएको स्रोतको भनाइ छ ।
डीएसपी सिलवालले त्यसो भनेपछि भीड भड्किएको थियो भने उनले भीडमाथि चरम दमन गर्दा प्रदर्शनकारी र केही प्रहरी पनि घाइते हुन पुगेका छन् । सो क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले शुक्रबार साढे १ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाएको छ । साथै, विवादास्पद डीएसपी सिलवाललाई जिल्ला तानिएको छ भने उनको स्थानमा अर्का डीएसपी जितेन्द्र बस्नेतलाई खटाइएको छ ।
यस्ता छन् डीएसपी सिलवालको विगतका कर्तुत !
नेपाल प्रहरीका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालका विश्वासपात्र मानिने विवादास्पद डीएसपी राजकुमार सिलवाल करिब दुई वर्षअगाडि काठमाडौंको एक डिस्कोमा बाउन्सरबाट कुटिएका थिए । २०७२ साल मंसिर १५ गते मंगलबार मध्यरातमा काठमाडौँको कमलादीस्थित टाइम्स क्लबमा रक्सीले मातिएर पदीय धम्की दिँदै रेस्टुरेन्टका कर्मचारीमाथि गिलास प्रहार गरेपछि बाउन्सरबाट कुटिएका थिए । त्यसबेला उनलाई प्रहरी मुख्यालयले निलम्बनसमेत गरेको थियो । टाइम्स क्लब माथिको राजघराना गजल रेस्टुरेन्टमा मदिरा सेवन गरेर अर्धचेत अवस्थामा पाँच जनाको दलबलसहित बिहान पौने एक बजे टाइम क्लबमा प्रवेश गरेका उनले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए । बिहान साढे १ बजे बिल भुक्तानी नगरी हिँड्नखोजेपछि उक्त क्लबका कर्मचारीले बिल तिर्न आग्रह गर्दा सिलवालले बार टेन्डरलाई गिलास प्रहार गर्दै पेस्तोल देखाएर तर्साउन खोजेपछि रेस्टुरेन्टका बाउन्सरहरुले कुटेर कमलपोखरी प्रहरी वृत्तको जिम्मा लगाएका थिए ।


