एमालेले यसरी धोका दिन्छ भन्ने सोचेकै थिइनँ : कोमल वली

काठमाडौँ । राजावादीहरूको पार्टी छाडेर चर्चित गायिका कोमल वली एक महिनाअघि मात्रै एमालेमा प्रवेश गरिन् । दाङकी स्थायी बासिन्दा वलीले एमालेबाट टिकट पाउने आशमा पूर्वपञ्चहरूको पार्टी राप्रपा छाडेर एमालेमा प्रवेश गर्नेवित्तिकै प्रतिनिधिसभाको टिकटका लागि दौडधुपमा लागिन् ।

एमालेको मुख्यालय धुम्बाराही र ठुला नेताहरूको घरदैलो चहारिरहने केही नेताहरूले वली जत्तिको ‘प्रोफाइल’ भएको व्यक्तिलाई टिकट दिन कन्जुस्याइँ नगरिने भन्दै हौस्याए । त्यसपछि प्रत्यक्षको टिकट पाउने आशमा उनले एमालेका दोस्रो तहका नेताको घर दैलोसम्म पुग्न भ्याइन् ।

तर, माओवादीसँग गठबन्धन गरेको एमालेले पूर्वपञ्चहरूको पार्टीबाट आएकी वलीलार्इ महिना दिनमै टिकट दिने छाँट देखाएन । कोमलले प्रत्यक्षमा टिकट पाउने सम्भावना सकिएपछि एमालेकै केही नेताले उनलार्इ समानुपातिकको ‘ललिपप’ खुवाउन भ्याए । समानुपातिकको बन्दसूचीमा पर्ने आश गरेकी कोमल त्यहाँबाट पनि पाखा लागिन् ।

त्यसपछि उनको जोड प्रत्यक्षमै थियो । त्यसैका लागि उनी अन्तिम समयसम्म दाङ घर भएका एमाले नेता शंकर पोख्रेलसहितका नेताहरूकहाँ लविङमा लागिरहिन् । तर, नेता पोखरेलले यो पटक टिकट दिन नसकिएको भन्दै बुधबार राति फोन गरेपछि कोमलको चुनाव लड्ने सपना सकियो ।

‘हिजो साँझ मात्रै शंकर दाइले टिकट दिलाउन सकिएन भन्नुहुँदा, म अचम्मित भएँ’, कोमलले जनता समाचारसँग भनिन्, ‘अस्तिसम्म भनेको भए पनि अरू विकल्प खोज्थेँ । एमालेले धोका दिएपछि स्वतन्त्रबाट चुनाव लड्नुबाहेक मसँग अरू विकल्प रहेन । म जन्मेको ठाउँबाट उम्मेदवार भएको छु, सबैले साथ दिन्छ्न् ।’

एमालेले नपत्याएपछि कोमलले प्रतिनिधिसभाका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराइन् । ‘एमालेले धोका दियो । स्वतन्त्रबाट उम्मेदवारी दिएकी छु । पक्कै चुनाव जित्छु’, कोमलले भनिन्, ‘निर्वाचन अधिकृतको कार्यालयमा मेरो उम्मेदवारी ७ नम्बरमा दर्ता भएको छ । ७ मेरो लक्की नम्बर पनि हो, जित्ने कुरामा ढुक्क छु ।’

एमालेले धोका दिएको भन्दै निराश देखिएकी कोमलले बेइमान होला भन्ने नसोचेको बताइन् । अब एमालेमै बस्ने नबस्ने कुरा आफूमा भन्दा पनि धेरै पार्टीमा नै भर पर्ने उनको तर्क थियो – जनता समाचारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।