वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि गठबन्धन संकटमा

गाईघाट, उदयपुर । आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरु मनोनयन दर्ता गर्ने क्रममा बिहीबार जिल्ला निर्वाचन कार्यालय उदयपुरमा वाम गठबन्धनका उम्मेदवारहरु विरुद्ध गठबन्धनकै नेताहरुले बागी हालेपछि उदयपुरको वाम गठबन्धन संकटमा परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुरका अनुसार वाम गठबन्धनविरुद्ध गठबन्धनकै सातजनाभन्दा बढी नेताहरुले बागी उम्मेदवारी हालेका छन् । उदयपुरको प्रतिनिधि सभाका लागि क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट गठबन्धनबाट आधिकारिक टिकट पाएका प्रतिनिधि सभाका उम्मेदवार सुरेश किराँती विरुद्ध एमालेका वैकल्पिक केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र माओवादी केन्द्र, उदयपुरका अध्यक्ष विनोद कटुवालले समेत बागी उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, क्षेत्र नं २ को ताप्ली सुनकोशी उदयपुरगढी प्रदेश क्षेत्रका लागि वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार टिकट पाएका भेषकुमारी राउतविरुद्ध माओवादी केन्द्रकै जिल्ला नेता नारायण बुर्जा र एमालेका होमप्रसाद दाहालले बागी उम्मेदवारी हालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यता प्रदेशका लागि त्रियुगा नगर क्षेत्रबाट वाम गठबन्धनबाट आधिकारिक टिकट पाएका उम्मेदवार रामबहादुर थापाविरुद्ध माओवादी केन्द्रका जिल्ला नेता मीनबहादुर ठकुरी र जीवन कार्की समेत बागी उम्मेदवार बनेको वाम गठबन्धनका प्रवक्ता ईश्वरमणि राउतले बताउनुभयो ।

जिल्लाको बेलका चौदण्डी क्षेत्रमा वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार बनेका एमाले जिल्ला नेता बिमल कार्कीविरुद्ध एमालेकै जिल्ला नेता कुशलबाबु बस्नेतले बागी उम्मेदवारी हालेका छन् ।

नेपाली काँग्रेसमा भने बेलका चौदण्डी क्षेत्रको प्रदेशसभाको सदस्यका आधिकारिक उम्मेदवार बनेका पार्टी जिल्ला सभापति बिदुर बस्नेतविरुद्ध अर्का जिल्ला नेता प्रशान्त राईले बागी उम्मेदवार हालेको नेपाली काँग्रेस, उदयपुरले बताएको छ ।

उदयपुरमा वाम गठबन्धनको तालमेल भएअनुसार जिल्लामा प्रदेशको चार र केन्द्रको दुई सिटमा आधा–आधा बराबरी भाग लगाएर उम्मेदवार निर्धारण गरेको भए तापनि एकले अर्काविरुद्ध बागी हालेपछि वाम गठबन्धन संकटमा आएको स्वयं एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत र माओवादी केन्द्रका जिल्ला नेता राजन किराँतीले बताउनुभएको छ ।

बागी उम्मेदवारले आफुहरुले पार्टीबाट जस्तोसुकै सजाय भोग्न परेपनि नाम मनोनयन दर्ता फिर्ता नगर्ने धारणा एक बागी नेता जीवन कार्कीले बताउनुभयो । बिहीबारको दिनभरिमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नगरे उदयपुरमा गठबन्धनको औचित्य समाप्त हुने र गठबन्धनका आधिकारिक उम्मेदवारहरु पराजय हुने समेत जिल्लाका पुराना वाम नेता ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

उदयपुरमा बिहीबार बेलुकी सम्ममा प्रतिनिधि सभाका लागि २५ जनाको उम्मेदवार दर्ता भएको छ भने प्रदेश सभाका लागि ३९ जनाले नाम दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश र केन्द्र गरेर ६४ जना उम्मेदवारको नाम दर्ता भएको छ भने १६ राजनीतिक दलले सहभागिता जनाएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖