लालबाबु पण्डितले भने,- शेखर काेइरालालाई साढे ४ हजार मतले हराउँछु

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उम्मेदवारी दिएपछि विराटनगरको राजनीति तरंगित बनेको छ।

पण्डितले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दैछन्। मोरङको यो निर्वाचन क्षेत्रमा दुई ‘हेभिवेट’ नेताहरुको भिडन्त निकै रोचक मानिएको छ।

लालबाबु तिनै मन्त्री हुन्, जसले नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको नेतृत्वमा तीन वर्षअघि गठन भएको मन्त्रिमण्डलमा सामान्य प्रशासन मन्त्रालय सम्हाल्दा निकै चर्चा बटुलेका थिए।

उनी त्यति बेला विदेशी ‘पिआर’ लिएर नेपालमा सरकारी जागिर खाइरहेका कर्मचारी विरुद्ध अभियानमा होमिएका थिए। इमान्दार र सरल जीवनशैलीका लालबाबु सरकारी कार्यालयमा ढिलो पुग्ने र सेवा उपलब्ध नगराउने कर्मचारी विरुद्ध पनि ‘एक्सन’मा उत्रिएका थिए।

काठमाडौंजस्तो व्यस्त सडकमा साइकलमा हुँइकिने लालबाबुको अहिलेको चुनावी अभियान पनि त्यति तडकभडक छैन। यही ‘क्लिन–इमेज’ बोकेर उनी नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि मोरङमा ‘कोइरालाहरू’ को साख जोगाउन लागिपरेका शेखरसँग राजनीतिक प्रतिस्पर्धामा उत्रिएका छन्। तर, क्षेत्र नम्बर-६ का जनताले उनलाई पत्याउँछन् कि पत्याउँदैनन्, त्यो हेर्न बाँकी छ।

लालबाबु ‘वाम राजनीति’ को पुरानो र माझिएका खेलाडी हुन्। उनी २०४६ सालदेखि नै संसदीय राजनीतिमा सक्रिय छन्। मोरङमा नेकपा एमालेले उठाएको नेताहरुमध्ये उनी सबैभन्दा प्रभावशाली मानिन्छन्। मोरङ क्षेत्र नम्बर-३ बाट एमालेका अर्का पोलिटब्युरो सदस्य भानुभक्त ढकाल पनि उठेका छन्।

तर, ‘पब्लिक इमेज’ को हिसाबले लालबाबुको कद ठूलो मानिन्छ। लालबाबुले २०४६ यता मोरङ क्षेत्र नम्बर–३ बाट तीन पटक संसदीय निर्वाचन लडेका थिए। उनी २०४८ र २०५६ मा विजयी भए भने २०५१ मा पराजित थिए।

निर्वाचन क्षेत्रको नयाँ सीमा निर्धारण भएपछि उनी आफ्नो पुरानो संसदीय निर्वाचन क्षेत्र त्यागेर ६ नम्बर क्षेत्रमा पुगेका हुन्। सुन्दर हरैचानगरपालिका, बुढीगंगा गाउँपालिका, विराटनगर महानगरपालिकाका वडाहरु ४, ५, ६, ७, ९, ११ र १२ जोडिएर बनेको यो क्षेत्र पहिले विजय गच्छदारको पकेट क्षेत्र मानिन्थ्यो।

अहिले गच्छदार नेपाल लोकतान्त्रिक फोरम छोडेर कांग्रेसमै प्रवेश गरिसकेका छन्। त्यसैले यस क्षेत्रमा शेखर कोइरालाको पकड मजबुत भएको मात्र होइन, जित सुनिश्चित भएको मान्नेहरुको पनि कमि छैन।

यसै सन्दर्भमा नेपाल लाइभका लागि नवीन अर्यालले लालबाबुसँग गरेको अन्तर्वार्ताको सारसंक्षेपः

पुरानो ठाउँ छोडेर क्षेत्र नम्बर-६ मा निर्वाचन लड्न आउनु भयो, कस्तो नतिजाको अपेक्षा गर्नु भएको छ?

प्रतिस्पर्धा राम्रै होला जस्तो लागेको छ। मेरो प्रतिस्पर्धा शेखर कोइरालासँगै हुन्छ। त्यसमा दुईमत छैन। अहिलेको निर्वाचन क्षेत्र आधा गाउँ र आधा महानगरपालिका मिसिएर बनेको छ। पछिल्लो समय मेरो पक्षमा माहोल बन्दै गइरहेको छ। फेरि मैले सबैलाई परिचय दिँदै हिड्नुपर्ने अवस्था छैन।

यहाँका जनताले तपाईको ‘इमेज’लाई भोट हाल्छन् भन्ने लागेको हो?

स्वभाविक हो। जनताले मूल्यांकन गरिरहेका छन्। मैले पनि मिहिनेत गरिरहेको छु। २०५६ सालमा हरेन्द्रबहादुर थापासँग निर्वाचन लड्दा उनले २ करोड रुपैयाँ खर्च गरे भन्ने हल्ला थियो। मेरो निर्वाचनको पूरा खर्च ३ लाख २५ हजार थियो। म साइकलमा गाउँगाउँ डुल्थें। अहिले कार्यकर्ताको सहयोगले मोटरसाइकलमा अभियान थालेको छु।

भनेपछि, तपाईं यो निर्वाचनमा पनि कुनै तडकभडक गर्ने पक्षमा हुनुहुन्न?

जोसँग पैसा छ, त्यसले खर्च गर्छन्। मसँग के छ र? राम्रो विद्यार्थी परीक्षा आउँदा अत्तालिँदैन। परीक्षासँग डराउने त कमजोर विद्यार्थी मात्र न हो। उसलाई टेन्सन हुन्छ। मलाई कुनै टेन्सन छैन।

जित्छु भन्ने विश्वास छ?

पूर्णरुपमा म विश्वस्त छु। साढे ४ हजार मतले जित्छु भन्ने लागेको छ। शेखर कोइराला यसअघि पनि यहाँबाट जितेर जानु भयो। खोई त यहाँको विकास? मानिसहरु विस्तारै मसँग जोडिँदै गइरहेका छन्। कति खुलेर आइसके। कति खुल्न बाँकी छ। निर्वाचनसम्म अर्के माहोल बनेर जानेछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।