‘घर सम्पति बेचेर भए पनि गरिबलाई दिएको बचन खेर फल्दिन’ : धुर्मुस – भिडियो सहित

अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, धुर्मुसले । तैपनि उनलाई चैन छैन । चैन यसकारण छैन, उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्, त्यस अनुरुप पुग्दो पैसा उठेको छैन । धुर्मुस-सुन्तली फाउन्डेसनको थैलो जतिजति रित्तिँदैछ, उत्ति नै धुर्मुसको चिन्ताको ग्राफ बढिरहेको छ । निन्द्रा बिथोलिएको छ ।

‘अहिलेको स्थिति हेर्दा पैसा एकदमै अपुग छ’ धुर्मुसले सुनाए, ‘त्यसो भन्दैमा म आफूले दिएको बचन हार्ने छैन । किनभने उहाँहरुले मप्रति जुन आशा र भरोसा राख्नुभएको छ, त्यसलाई म मर्न दिनेछैन ।’ उनि भन्छन् अहिले सम्पुण पैसा सकीएको छ म मेरो सबै सम्पति बेच्न तयार छु तर गरिबलाई दिएको बोली खेरा जान दिने छैन.यसरी संकटमा परेका छन् धुर्मुस ।

अरुको दुःखको सारथी बन्दा आँफै डुब्ने डर, कति ऋणमा डुब्नेछन् धुर्मुस ?
केही समयअघि सुन्तली अर्थात कुञ्जना घिमिरेले कुरै कुरामा भनेकी थिइन्, ‘खै किन हो, आजभोलि उहाँ (धुर्मुस) अलि र्झकन थाल्नुभएको छ, पहिले यस्तो हुनुहुन्थेन ।’

सुन्तलीसँग यस्तो वार्तालाप गरिरहँदा धुर्मुस रौतहटको चन्द्रहनिगाहपुरस्थित सन्तपुरमा पसिना चुहाउँदै थिए । कथित दलित परिवार, जसले साउने बाढीबाट घरबार गुमाए, उनीहरुलाई सग्लो घर दिने बचन दिँदै धुर्मुस बस्ती निर्माणमा खटिएका रहेछन् ।

तर, उनको कदम लर्खराएको छैन । धुर्मुस यसरी अघि बढिरहेका छन्, जो जस्तोसुकै संकट झेल्न तयार छन् ।

‘अहिलेको स्थिति हेर्दा पैसा एकदमै अपुग छ’ धुर्मुसले सुनाए, ‘त्यसो भन्दैमा म आफूले दिएको बचन हार्ने छैन । किनभने उहाँहरुले मप्रति जुन आशा र भरोसा राख्नुभएको छ, त्यसलाई म मर्न दिनेछैन ।’

खोला किनारामा त्रिपालमुनि पीडित परिवारको बास छ । उनीहरुलाई त्रिपालमै छाडेर समस्याबाट भाग्न सक्दैनन् धुर्मुस । उनीमाथि ठूलो नैतिक दबाव छ ।

कति ऋणमा डुब्नेछन् धुर्मुस ?
धुर्मुससँग बस्ती निर्माणका लागि पर्याप्त पैसा छैन । नियमित आम्दानीको स्रोत पनि छैन । सरकारको भरथेक छँदैछैन ।

बाढीपीडितको उद्धारका क्रममा धुर्मुस-सुन्तली फाउन्डेसनमा एक करोड ५५ लाख रुपैयाँ जम्मा भएको थियो । त्यसमध्ये एक करोड तीन लाख राहत वितरणमा सकियो ।

बाँकी रहेको पैसाले उनीहरु बस्ती निर्माणमा जुटे । यसअघिका बस्ती निर्माणमा पनि उनले यसरी नै हिम्मत जुटाएका थिए । पैसा पछि जुट्यो । बस्ती बन्यो ।

विगतकै अनुभवले यसपालि उनले कम्मर कसे । सुरुमा ४५ वटा घर बनाउने पक्कापकी भयो । पछि तीनवटा घर थपिए । त्यसमा सामुदायिक भवन, भ्यु टावर लगायतका संरचना निर्माण हुने भए । १२ कठ्ठा जग्गामा २४ इन्च चौडा र ९ फिट अग्लो पर्खाल बनाइयो । सम्भावित डुबानबाट बचाउने हेतुले घरको जग बलियो बनाइयो । माघ २४ गतेअघि अर्थात घर हस्तान्तर हुने बेलासम्म ६ करोड रुपैयाँ लाग्ने अनुमानित बजेट तय भयो ।

उनको योजना छ, मध्य माघमा सन्तुपरमा नयाँ घरहरु ठडिनेछन् । दुई तले घर, बाल उद्यान, भ्युटावर, सामुदायिक भवन, प्राथमिक शिक्षासहितको सुन्दर बस्ती तयार हुनेछन् । र, पालमुनि बसेर कठ्यागि्रँदो रात गुजारिरहेकाहरु न्यानो आश्रयमा स्थानान्तरण हुनेछन् ।

जसै धुर्मुस बस्ती निर्माणको काममा लागे, राष्ट्रिय राजनीतिमा आएका केही घटनाक्रमले सबैको ध्यान अन्तै मोडिदियो । धुर्मुसको बस्ती निर्माण अभियान छाँयामा पर्‍यो । अरुको सामुन्ने हात फिँजाएर बस्ती निर्माण गरिरहेका धुर्मुस संकटमा परे ।

‘खर्च दिनदिनै बढ्दैछ’ धुर्मुसले सुनाए, ‘तर, पैसा त्यसअनुरुप जम्मा भएको छैन ।’ अब यही क्रम रहिरह्यो भने ? वा निर्धारित बजेट अनुरुप पैसा जुटेन भने ?

हाम्रो प्रश्नमा उनी गम्भीर भए । तर, जवाफ ढुक्कले दिए, ‘करोडौं घाटा खेपेर पनि बस्ती निर्माण गरेरै छाड्नेछु । यो मेरो नैतिक वाध्यता हो ।’ काभ्रेपलाञ्चोकको बस्ती निर्माणमा पनि यसैगरी खर्च अभाव हुँदा उनी आफ्नै घर बेच्ने मनस्थितिमा पुगेका थिए ।

नमूना नेपाल बनाउने योजना बोकेर कुदिरहेका बेला अचानक बाढी आयो । तराईका लाखौं घर डुबे । धुर्मुस रातारात तराई पुगे, चाउचाउ, चिउरा, औषधी बोकेर । भोकालाई खानेकुरा दिए, बाढीको दलदलमा फसेकालाई आफ्नै ढाँडमा बोकेर बाहिर ल्याए । बाढी सुक्यो । तर, धुर्मुस राजधानी फर्किएनन् ।

छानो र मानो गुमाएका पीडितको अनुनयले उनको बाटो रोक्यो । बर्खामा बाढी, गर्मीमा लू र जाडोमा शीतलहर झेलिरहेका उनीहरुले कामना गरे, ‘धुर्मुस-सुन्तलीले हामीलाई पनि घर बनाइदिए हुन्थ्यो ।’

खुला आकासमुनि लालावाला च्यापेर बसिरहेका पीडितलाई कसैगरी निराश तुल्याउन सकेनन् धुर्मुसले । आखिरमा उनी बस्ती निर्माण गर्न तम्सिए । तर, पैसा ?

‘हामीले बस्ती निर्माणमा लगाउने पैसा भनेको मनकारी स्वदेशी विदेशी नेपालीहरुबाट जुट्ने रकम नै हो’ धुर्मुसले भने, ‘त्यसबाहेक हामीसँग कुनै आम्दानीको स्रोत छैन ।’

बस्ती निर्माण गरेर हस्तान्तरण गर्ने अवधि अझै केही महिना बाँकी छ । यस अवधिमा रकम जुट्छ भन्नेमा धुर्मुस आशावादी छन् । हुन त बस्ती निर्माण यता थप ६० लाख जुटिसकेको छ । त्यस्तै दैनिक मनकारीहरुले दश, बीस हजार सहयोग दिइरहेका छन् । यद्यपि त्यस अनुपातमा कुल खर्चको खाका बढी छ ।

यदि विगतमाझैं सहयोगी मनहरु जुटेमा, सबैले हातेमालो गरेमा धुर्मुस फेरि कहिल्यै नउठ्ने गरी ऋणमा डुब्ने छैनन् । सबैको स-सानो सहयोगले धुर्मुस सुन्तली फाउन्डेसनको रक्तसञ्चार गराउनेछ । त्यो भनेको, समाजिक सेवाको भावना थप प्रवल बन्ने बाटो खुला हुनु हो ।

‘सबैप्रति म आभारी र आशावादी छु’ धुर्मुसले बिट मारे, ‘हुन त मैले धेरै पटक नाङ्गो हात फैलाइसकें, मसँग अरु विकल्प पनि त छैन । यसपालि पनि उहाँहरुप्रति म धेरै आशावादी छु ।’

https://youtu.be/l91KPXR1zPg

नेपाली अावाज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।