डुबायो अलैचीको बिरुवाले !, नर्सरीमा नै हुर्किए लाखौ बिरुवा !

धनकुटा खबर । दुई बर्ष अघि धनकुटामा एउटा कुराको खैलाबैला मच्चियो–‘भीरगाउँका चन्द्रलाल तामाङ्गले ६१ लाखको अलैचीको बिरुवा बेचे ।’

कृषि क्षेत्रमा राष्टपति पुरस्कार बिजेता ४८ बर्षिया तामाङले उक्त बर्ष चिया,दुध,अलैची,सब्जी,किवी र अमिस्रोबाट गरेको १ करोड ४ लाख आम्दानी मध्ये अलैचीको बिरुवा बेचेर मात्र ५२ लाख खुद नाफा कमाएका थिए ।

प्रतिगोटा रु ५ देखि ८ रुपैयाका दरले ८ लाख ७५ हजार बोट अलैची बेचेर तामाङ्गले मच्चाएको उक्त खैलाबैला धनकुटामा मात्र सिमित नरहेर पूर्वी पहाडका सबैजसो जिल्लामा यसको होहल्ला भयो ।

कारण अलैचीमा लाग्ने छिर्के र डढुवा रोगका कारण चौतर्फी रुपमा बगान नष्ट भएसंगै नयां बगानका लागि लाखौ बिरुवाका आवश्यकता ।

उक्त समय सम्म अन्यत्र अलैचीको बिरुवा नभएकोले तामाङ्गले पहिलो पटक लगाएको लाखौ बिरुवाले माग धान्न मुस्किल भएको थियो ।

जिल्ला कृषि बिकास कार्यालय धनकुटाबाट अनुदानमा ३३ हजारको ३ के.जी.रामसाई अलैचीको दाना किनेर तामाङ्गले ५ लाख ५० हजारको लागतमा १० रोपनी जमिनमा नर्सरी राखेर बिरुवा उत्पादन गरेका थिए ।

२०४७ सालबाट कृषि पेशामा लागेर १० रोपनीबाट कृषिबाटै २ सय ५० रोपनी जमिन जोड्न भ्याएर निकै अनुभव बटुलेका तामाङ्गले रोगले बगैचा नष्ट भएसंगै बिरुवा माग हुने देखेर नर्सरी राखेका थिए ।

नभन्दै २ बर्ष लगाएर उत्पादन गरेको बिरुवाले तामाङ्गको त्यो सपना पुरा भयो ।

उनले कृषि बिकास कार्यलय धनकुटालाई २ लाख,संखुवासभा कृषि कार्यालयलाई १ लाख ७५ हजार,भोजपुर कृषि कार्यालयलाई १ लाख ६० हजार,ईलामको एक संस्थालाई १ लाख ७५ हजार र मकवनपुर कृषि कार्यालयलाई ६० हजार बिरुवा बेचेका थिए ।

जसको कारण अलैचीको बिरुवाको ब्यपार प्रति चौचर्फी हंगामा नै मच्चिएको थियो । यसरी अलैची बिरुवाको चौतर्फी माग देखेपछि धनकुटामा लाखौ बिरवाहरुको नर्सरी राखिए ।

तर यो बर्ष सबैको सपना चन्द्रलालको जस्तो सुखद बनेन । यो बर्ष फेरी अर्को खैलाबैला त च्चियो तर फरी कसैले लाखौको बिरुवा हैन ‘बिरुवा नबिकेर लाखौ अलैचीको बिरुवा नर्सरीमा नै हुर्किए’ भनेर ।

यो चर्चा २ बर्ष अघि अध्याधिक मूल्यका साथ र २ बर्ष पछि अत्याधिक मूल्य गिरावट र नकिक्ने कारणले गर्दा अहिले धनकुटामा अलैची बिरुवाका चुनावी माहोल जतिकै चर्चा छ ।

, बिरुवा नबिकेको कारण अरुको जस्तै यो बर्ष चन्द्रलालको पनि २ लाख बिरुवा मध्ये ५० हजार मात्र बिक्री भए ।

प्रति गोटा ४ रुपैंयाको दरले बेचेर २ लाख रुपैंयाको कारोबारबाट ६० हजार नाफामा चित्त बुझाएका तामाङ्गले बाँकी १ लाख ५० हजार बिरुवा नबिकेर गाउँलेलाई बाँडिदिएको बताए ।

‘मलाई पहिलाको जस्तो बिक्दैन भन्ने लागेर थोरै लगाएको थिए,त्यो पनि बिकेन’ उनले ठट्टा र आफ्नै लवजमा भने,‘आ सार ! केहि छैन जनतालाई सहयोग गर्न पाईयो ।’

गत बर्ष सम्म अलैचीको बिरुवाको माग धान्न नसकेको धनकुटामा अहिले चन्द्रलाल जस्ता अगुवा कृषकलाई त खासै समस्या नपर्ला तर बिरुवा नबिकेर नर्सरीमा नै हुकिएपछि अन्य किसान,ब्यसायी फर्म तथा बिरुवा उत्पादन गर्ने संस्थाहरु भने निकै समस्मा परेका छन् ।

यसरी बिरुवा नबिक्नुमा किसान,ब्यसायी,सम्बन्धित संस्था र कार्यालयका प्रतिनीधिहरुले मुख्यतया ५ कारणहरु देखाएका छन् ।

पहिलो कारण अलैचीको मूल्य प्रति १ मन ४० केजीको १ लाख १० हजार भएपछि रोगका कारण सखाप भएको अलैचीको बगान पुनःस्थापना र नयां बगैचा बिस्तारको उत्साह थपिए संगै अत्याधिक बिरुवाको मागका कारण चौचर्फ बिरुवा उत्पादन हुनु ।

जसले अन्य जिल्लामा पनि बिरुवा उत्पादन भएकाले धनकुटामा उत्पादन भएको बिरुवा बाहिर जिल्ला जान नसक्नु ।

दोस्रो कारण बिरुवा उत्पादनको समय संगै बेच्ने समय सम्म आईपुग्दा अलैचीको मूल्य लगतार खस्किएर ८० प्रतिशतमा झरेर प्रति मन २७ हजार सम्म झर्नु । जसका कारण किसानहरुमा निरासा छाएर खलैची खेती प्रभावित भएर थप बिरुवा नबिक्नु ।

तेस्रो कारण स्थानिय तहको निर्वाचनको कारण बिरुवा बेच्नको लागि प्रचार–प्रसार,बजार र समयको अभाव । चौथो कारण बिरुवाको बजारीकरण र यसको सम्भावित जोखिमको अध्ययन नहुनु । र पाँचौं कारण पुरानो सरकारी नीति तथा कार्यक्रम भन्दा फरक तरिकाले स्थानिय तहबाट कार्यक्रमहरु सन्चालन हुनु ।

अर्थात् जिल्ला कृषि बिकास कार्यालय हुंदै आएको अलैची नर्सरी उत्पादन,खरिद अनुदान र बजारीकरणको आउने रकम स्थानिय निकाय मार्फत् निरन्तर कार्यानवयन नहुनु ।

यी बिभिन्न कारणले गर्दा लाखौ खर्चेर ब्यबसायीक रुपमा नसरीमा उत्पादन गरेको अलैचीको बिरुवा नबिकेपछि धनकुटाका किसान तथा ब्यसायीक नर्सरी सन्चालकहरु तनावमा परेको देखिएका छन् ।

यतिबेला सबैभन्दा बढी तनाव धनकुटाको छथरजोरपाटी गाउँपालिका सिँधुवा स्थित सिंहदेवी कृषि फार्मका सन्चालक दिलबहादुर थापालाई भएको छ ।

४० महिना लगाएर १४ लाख खर्च गरेर आफूले उत्पादन गरेको ७ लाख ५० हजार अलैचीको विरुवा मध्ये एकतिहाई मात्र बिक्री भएर घाटा भएपछि उनी समस्यामा परेका हुन् ।

५ जनालाई रोजगार दिएर १८ रोपनी क्षेत्रफलमा नर्सरी गरेका थापाको फार्ममा रहेका ५ लाख बिरुवा विक्री नभएपछि उनको लागत खर्च समेत उठेको छैन ।

‘बिरुवा नबिकेर बर्वाद भयो’, थापाले भने–‘मजदुरलाई दिएको ज्याला पनि उठेन ।’

करिव ७ लाखको मात्र बिरुवा बेचेका थापाले यो बर्ष बेच्ने कोशिस गर्ने र नबिकेको बिरुवा फ्याँकिदिने थापाले बताए ।

पछिल्लो समय अन्य जिल्लाहरुले बिरुवा नलगेको र सथै अलैचीको मूल्यमा ८० प्रतिशत सम्म आएको गिरावटले किसानमा नैशासयता आएपछि अलैचीको विरुवा विक्री नभएको थापाको भनाई छ ।

प्रति गोटा ९ रुपैया सम्ममा बेचेर ६५ लाख भन्दा बढीको कारोबार गर्ने लक्ष भएपनि स्थानिय तहको निर्वाचनका कारण चुनाव प्रचार–प्रसारको असरले बिरुवा बेच्न नपाउको थापाकी पत्नी राधीका थापा बताउँछिन् ।

उनले भनिन्–‘दुखः गरेर लगाईयो बेच्ने बेलामा सबैतिर चुनावको कुराले ब्यपारको कुरै गर्न पाईएन ।’

चुनाव नभएको भए सबै बिरुवा नबिपनि चुनाव नभएको भए आधा भन्दा बढी बिरुवा बिक्ने उनको भनाई छ ।

उता धनकुटा नगरपालिका १ हिलेका बीरबहादुर न्यौपानेले १० रोपनीमा लगाएको १ लाख बिरुवा पनि बिकेको छैन । उनले २ बर्ष लगाएर ४ जना कामदार राखेरे ९० हजार खर्च गरेका थिए ।

पहिला जस्तो किन्ने बिसान नआएको र स्थानिय तहको चुनावले आफूले पनि बिरुवा बेच्न पहल गर्न नसक्दा बिरुवा नबिकेको उनले बताए ।

उनले भने–‘यो बर्ष किन्न कोहि आएन,चुनावले बेच्न पनि पाइएएन ।’

प्रति गोटा ९ रुपैंया सम्म बेचेर ८ लाख भन्दा बढी कमाउने लक्ष राखेका न्यौपनेले उक्त बिरुवाहरु पुनः नर्सरी गरेर २ लाख बिरुवा उत्पादन गर्ने बताए ।

‘अब फेरी ग्राहक आउने पखाईमा बस्नुको बिकल्प छैन’– न्यौपानेले भने ।

हिलेकै गाउँ नगर सहकारी संस्था लिमिटेडले २ बर्ष अघि लगाएको १० लाख बिरुवा मध्ये बाँकी भएको ७ हजार बिरुवा बिकेन ।

गएका बर्षहरुमा पूर्वी पहाड र पश्चिमी जिल्लाहरुबाट माग आएपनि अलैचीको मूल्यमा आएको भारी गिरावट संगै किसानमा आएको निरासाका कारण बिरुवा नबिकेको संस्थाका अध्यक्ष ईन्द्र तितुङ्गको पनि भनाई छ ।

अलैची ब्यबसायी महासंघ जिल्ला शाखा धनकुटाका अध्यक्ष समेत रहेका तितुङ्गका अनुसार २०५३ साल यता आएको अलैचीको मूल्यमा देखिएको उतावचढावका कारण अलैचीको ब्यपार खेती हुंदै बिरुवाको ब्यपार सम्म प्रभावित भएको हो ।

महासंघको तथ्यांक अनुसार २०५३ सालमा प्रतिमन ४० केजीको ६ हजार ५ सय भएको अलैचीको मुल्य २०५५ सालमा ३ हजार ५ सय,२०५८ सालमा ९ हजार,२०६३ सालमा १८ हजार,२०६५ सालमा ४ हजार,२०६७ सालमा २५ हजार,२०७० सालमा ३३ हजार पुगेको थियो ।

त्यसपछि अत्याधिक मूल्य बृद्धि संगै २०७२ सालमा बिक्री दर १ लाख ३१ हजार मूल्य भएको अलैचीको मूल्य अचानक भारी गिरावट भएर आलु आर्थिक बर्ष ०७३÷०७४ मा हाल २४ हजार मूल्य कायम रहेको छ ।

यसरी मूल्य गिरावट संगै कुनै बेला उत्साहमा अलैची खेती बढ्ने र कुनै बेला घट्ने क्रम संगै गत बर्ष देखि भएको मूल्य गिरावट पछि भने किसानहरु अत्याधिक निरास भएको संस्थाका अध्यक्ष तितुङ्गको भनाई छ ।

‘पटक–पटकको आशा र निराशाले यो पटक चै किसानहरुमा ज्यादै उदाशिनता ल्याएको छ’ उनले भने,‘अब राज्यले नै केहि नगरे सम्म अलैची खेती गर्ने अबस्था छैन ।’

बिशेष गरेर अन्तराष्ट्रिय बजारमा नेपाली अलैचीको नाम र जान नपाएकाले ब्यपारीक मिश्रण लगाएतका बिभिन्न समस्याले अलैचीको मूल्य प्रभावित हुंदा पनि चौतर्फी प्रभाव भएको तितुङ्गको भनाई छ ।

यसरी मूल्य नपाउने समस्या रहेको बेला अर्कोतर्फ रोगको प्रकोपका कारण किसानहरुले भएको बगैचा पनि त्यसै छाडेको र थप बगैचा बिस्तार नगर्दा बिरुवा पनि नबिकेको उनको बिचार छ ।

उनले भने–‘ब्यपार प्रभावित हुंदा मूल्यका कारण किसान प्रभावित भए । किसान प्रभावित हुंदा बगान बिस्तार हुन सकेन । बगान बिस्तार नहुंदा बिरुवा बिकेन ।’

उता कृषि अनुसन्धान कार्यक्रम पाख्रिबास कृषि केन्द्रमा उत्पादन गरिएको विभिन्न जातका ३५ हजार अलैंचीको विरुवा पनि नर्सरीमा त्यसै हुर्किएका छन् ।

गतबर्षसम्म किसानले माग गरेको ३० प्रतिशत विरुवा पनि दिन नसकेपछि यो बर्ष उत्पादनमा बृद्धि गरेको थियो ।

तर बिरुवाको माग अत्याधिक कम आएकाले ५ हजार मात्र बिरुवा बिकेर बाँकी नर्सरीमानै हुर्कन थालेको नेपाल कृषि अनुसन्धान निमित्त प्रमुख डा.रमेश साहले बताए ।

केन्द्रले साउने, भार्लाङ्गे, रामशाही, गोलशाही लगायत २० भन्दा बढि जातका अलैंची नर्सरी गरेको भएपनि तन्तु प्रशारण विधिबाट उत्पादित विरुवा उत्पादन गरेको छ ।

शाहले भने यो वर्ष विक्री नभएका अलैची विरुवा अर्को वर्ष पनि काम लाग्ने भएकोले चिन्ता नलिन किसानलाई सझाव दिएका छन् । उनले भने ‘अलैची विरुवाको आयू १५ वर्ष हुन्छ,बिक्छ,आत्तिनु पदैन ।’

कार्यालयका अनुसार हाल नेपालको ४० जिल्लामा व्यवसायिक रुपमा अलैचीको खेती हुदै आइरहेको छ ।
पछिल्लो समय किसान आफैले प्रशस्त विरुवा उत्पादन गर्न थालेको र वगान विस्तार हुँदै गरेका पश्चिमी जिल्लाहरुमा रोग फैलिन सक्ने भन्दै वाहिरी जिल्लाबाट विरुवा ल्याउन रोक लगाइएको कारण पनि किसानले उत्पादन गरेका विरुवा थप नबिकेको शाहको भनाई छ ।

मूल्य गिरावट,रोगका साथै किसानहरु संग बिरुवा ब्यपार सम्बन्धि सुस्म अध्ययन नहुंदा पनि बिरुवा नर्सरी सन्चालकहरु समस्यामा परेको उन्नती परियोजना अन्तर्गत सन्चालित पब्लिक प्राईभेट पाटनरसिप(पीपीपी) समिति अध्यक्ष लाखमान घिसिङ्गले बताउनछन् ।

२ बर्ष अघि सम्म २० रुपैंयामा पनि बिरुवा नपाएको देखेर बिना योजना अध्याधिक बिरुवा उत्पादन भएकाले यो बर्ष २ रुपैंयामा पनि नबिकेको घिसिङ्गको भनाई छ ।

उनले भने–‘धनकुटामा मात्र हैन ,बिना योजना पूर्वी पहाडमा लगाएको लाखौं बिरुवा १० प्रतिशत पनि नबिकेको सूचनाहरु आएका छन् ।’

गतबर्ष आफूले २ हेक्टरमा अलैची लगाउँदा ८ रुपैंया गोटाले बिरुवा किनेर लाउनुपरेको र हाल बिरुवा नबिकेको देख्दा अब रहेका बाँकी बिरुवा बिक्न नसक्ने उनको ठम्याई छ ।

त्यसका साथै सितै वा अनुदानमा पाए मात्र बिरुवा लाने बानी भएकाले पनि थप बिरुवा नबिकेको घिसिङ्गको भनाई छ ।
२ सय भन्दा बढी किसानहरु अलैची खेतीमा आवद्ध रहेको धनकुटामा यस आर्थिक बर्ष ०७३÷०७४ मा २ सय ४५ हेक्टरमा अलैची खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

गत बर्ष १ सय ४५ मेट्रिक टनबाट २६ करोड १० लाखको अलैचीको ब्यापार भएको थियो । तर यो बर्ष रोगले बगैचा नष्ट हुनुका साथै मूल्यमा आएको भारी गिरावटका कारण ९७ दशमलव ३५ मेट्रिक टन उत्पादनबाट केवल ७ करोड ३० लाख बराबरकोमात्र ब्यपार भएको छ ।

यसरी रोग र मूल्य गिरावटले अलैची खेतीमा आएको समस्यालाई समधान गर्न प्रोत्साहन दिन राज्यले थप निरन्तरता नदिंदा अलैची खेती र नर्सरी उत्पादक किसानहरु थप प्रभावित भएको कार्यालयका प्रमुख भरत प्रसाद बिडारीको भनाई छ ।

‘सबै बजेट र योजना स्थानिय निकायहरुले बिनियोजन गरेपछि हाम्रो काम केहि भएन’–उनले भने ।

अहिले पनि अलैचीको बिरुवा माग्न किसानहरु पहिला जति नै आउने भएकोले अलैची बिरुवा उत्पादन र खरिदमा दिदै आएको सुबिधा स्थानिय निकायहरुले नदिंदा बिरुवा नबिकेको बिडारीको भनाई छ ।

‘अनुदानमा बिरुवा नपाएपछि किसानहरुले बिरुवा पनि किन्न सक्ने अबस्था भएन’ उनले भने ‘त्यस पछि त कृषकहरुले उत्पादन गरेका बिरुवाको बजार खोज्ने काम पनि हाम्रो परेन ।’

कृषि कार्यालयले दिंदै आएको सेवासुबिधा दिए जिल्लामा रहेको ५ लाख भन्दा बढी बिरुवा अझैं बिक्ने बिडारीको भनाई छ ।

अहिले कृषि क्षेत्रको ३ बिषयमा आसन्न स्थानिय तहको चुनाव र नेपाली राजनीतिमा भएको बाम गठबन्धन चर्चा भन्दा बढी देखिएको छ ।

कामदार अभाव, हरियो चियापत्ति चियाको मूल्यमा कमीका कारण चिया खेती जंलमा परिणत हुंदै गएको चर्चा कायम नै छ ।

उता भारतीय ब्यपारीहरुले अदुवाको मूल्य लगाउन नमान्दा अदुवा कृषकहरु निरास र अन्यौल कायम छ । यी दुईको चर्चा कायम रहेको बेला मूल्य गिरावट,रोगले बगैचा नष्ट भए संगै नर्सरीको अलैची बिरुवा सित्तैमा दिंनुपर्ने अबस्था आएपछि यसको चर्चा सिमा सबैभन्दा माथि छ ।

कारण अलैची खेती,ब्यपार र बिरुवाको कारोबारले किसानहरु करोडपति भएर अलैचीको ब्यपारीक केन्द्र झापा जिल्लाका बिभिन्न शहरहरुमा उनीहरुले करोडौंका घर–घडेरी जोडेका छन् ।

तर पछिल्लो समयमा अलैचीको क्षेत्रमा अचानक भएको बिभिन्न दर्घटनाका कारण अलैची खेती गरेर मजदुर पाल्न पनि नपुग्ने अबस्था आएपछि यसको चर्चा अरु बाली भन्दा बढी भएको देखिएको हो ।

तस्वीर : आफ्नो नबिकेको लाखौ बिरुवा देखाउँदै धनकुटाको छथर जोरपाटी गाउँपालिका स्थित दिलबहादुर थापा, थापा परिवारले लगाएको नर्सरीका बिरुवा र कृषि अनुसन्धान केन्द्र पाख्रिबासले लगाएको नबिकेको बिरुवा देखाउादै एक कर्मचारी । र बिभिन्न सरोकारवालाहरुको भनाई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।