कांग्रेस नेता प्रकाशमान सिंहले भने,- भर्खर जन्मिएका पार्टीहरु भोट कटुबामात्र हुन (भिडियो सहित)

म दुई दुई पटक जितेको उम्मेदवार, अरुसँग मेरो तुलना हुन्छ र ?

काठमाडौं । प्रकाशमान सिंह अर्थात् नेपाली कांग्रेसका नेता । पूर्वनिर्वाचित कांग्रेस महामन्त्री सिंह विगतमा झैं यो पटक पनि काठमाडौं–१ बाट संसद सदस्यमा उठेका छन् । संविधानसभा सदस्यमा काठमाडौं–१ बाट दुई दुई पटक निर्वाचित सिंह यो पटक पनि आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको दाबी गर्छन् । उनको जिकिर छ, ‘मेरो दाँजोमा कोही पनि आउन सक्दैन । मेरो प्रतिस्पर्धी कोही पनि छैन ।’

कांग्रेस नेता सिंहले सहजै यस्तो दाबी गरेपनि माहोल उनले भने जस्तो देखिँदैन । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । मिश्रका लागि यो चुनाव पहिलो अनुभव हो । तर, उनको व्यक्तित्व, देशलाई केही गरौं भन्ने दृढ विश्वास, बढ्दो युवा जनलहरका कारण अहिले मिश्रको पक्षमा चुनावी माहोल बन्दै गएको छ । चुनावी माहोलका कारण मिश्र पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

तर कांग्रेस उम्मेदवार सिंह भने विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रका पक्षमा जनमत नरहेको, सामाजिक सञ्जाल र मिडियाले मात्रै उनलाई उचालेको जिकिर गर्छन् । उनी भन्छन्, ‘काठमाडौं–१ मा दुई दुई पटक जितेको उम्मेदवार हुँ म । काठमाडौंका जनतामा मनमा बसेको मान्छे हुँ, पहिला पनि मलाई मिडियाले साथ नदिएकै हो, तर पनि मैले जितेँ, यो पटक पनि म जित्दै छु, यसमा कुनै शंका छैन, मिडिया क्याम्पेनिङ गर्दैमा जितिन्छ र ?, फेसबुकमा लेखेर र लेखाएर जितिने हो र ?’

पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका सिंहले विवेकशील साझा पार्टीलाई भोट कटुवाको संज्ञा दिए । ‘विवेकशील साझामा कहीँ पनि जित्ने हैसियत छैन, तर यसले भोट भने काट्छ, यो भोट कटुवा पार्टी हो,’ सिंहको भनाइ थियो ।उनले विवेकशील साझा पार्टीले भोट काटेकै कारण काठमाडौं महानगरपालिकामा कांग्रेस हारेको पनि टिप्पणी गरे । उनले आक्रोश पोख्दै भने, ‘विवेकशील साझाकै कारण काठमाडौं महानगरपालिकाले असक्षम प्रमुख पाएको हो, काठमाडौं महानगरले अहिले कस्तो प्रमुख पायो, यो सबैले अनुभव गरेकै कुरा हो ।’

काठमाडौं–१ का कांग्रेस उम्मेदवार सिंहले पहिलो संविधानसभा निर्वाचनमा ६ सिट जितेकोमा दोस्रोमा आठ सिट जितेको र अहिले अझै बढी जित्ने जिकिर पनि गरे । काठमाडौंमा १० ओटा निर्वाचन क्षेत्र रहेको छ ।‘काठमाडौं कांग्रेसको किल्ला हो, दोस्रो संविधानसभामा १० मा आठ सिट जितेको थियो, अहिले कति बढाउँछ हेर्दै जानु होला ।’ उनले संविधान जारी गर्न पनि नेपाली कांग्रेसकै प्रधानमन्त्री आवश्यक भएको र नेपाली कांग्रेस बोलेको देखाउने पार्टी भएको भन्दै कांगेससँग अन्य पार्टीको तुलनै हुन नसक्ने बताए ।

– सौजन्य नेपाल आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।