थापा भन्छन,- छिन्ताङमा मारिएकालाई सहिद घोषणा गराएरै छाड्छु

धनकुटा । २९ कात्तिकमा नेकपा एमालेले छिन्ताङमा सहिद दिवस मनायो । सहिद दिवस मनाउँदा अधिकांस बक्ताहरुले छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सरकारले सहिद घोषणा गर्न नसकेकोमा आक्रोस पनि पोखेको पाइयो ।

तर, दुर्भाग्य, बहुदलीय व्यवस्था आएपछि ४ पटक सरकारको नेतृत्व गर्दा पनि एमालेको आँखाले छिन्ताङका सहिद देखेन । उनीहरुलाई कहिले पनि सहिद घोषणा गर्न सकेन । तर, सधैं निर्वाचन आउन साथ एमालेले तिनै सहिदको खेती गर्ने गरेको छ ।

आखिर बारम्बार किन गर्न सहिदको खेती ? स्थानीय जनताले प्रश्न गरिरहेका छन् । वर्षाैदेखि सहिदका नाममा कुर्लिरहँदा जनता आजित भइसकेका छन् । तर, आजित हुँदा पनि विकल्प नहुँदा एमालेको दादागिरी सहन बाध्य छन् ।

२०३६ सालमा भएको छिन्ताङ हत्या काण्डपछि नेकपा एमाले ११ पटक सरकारमा सामेल भएको छ । त्यति मात्र होइन, ४ पटक त सरकारको नेतृत्व नै गरिसकेको छ । बहुदलीय व्यवस्था आएपछि मनमोहन अघिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारी प्रधानमन्त्री बन्दासमेत छिन्ताङका सहिद परिवारले केही पाएनन् । तिनै प्रधानमन्त्रीले आफ्नो कार्यकालमा ल्याएको वृद्ध भत्ताको व्याजले अहिलेसम्म आफ्नो राजनीतिलाई बचाउन सफल भएको छ ।

सहिदको स्मृतिमा छिन्ताङमा सहिद पार्क निर्माण गरिएको छ । यो पार्क निर्माण गर्न सरकारकै पैसा खर्च गरिएको छ । यहाँ सहिदका अर्धकदका सालिक राखिएका छन् । यही शालिकका प्रत्येक वर्ष माल्यार्पण गरिन्छ । प्रत्येक निर्वाचनमा यसलाई राजनीतिक नारा बनाइन्छ ।

त्यसरी नै धनकुटाको सवालमा छिन्ताङ हत्या काण्डका सहिदलाई सहिद घोषणा नगरेर तिनै सहिदका नाममा राजनीति गरिरहेको छ । प्रत्येक वर्ष सहिदको नाममा अर्धकदमा माल्यार्पण गर्ने र सहिद परिवारलाई एक थान दोसल्ला ओढाएर उनीहरुको जीवनमाथि खेलबाढ गरिरहेको छ ।

तत्कालीन समयमा राजनीतिको खोल ओढेर स्थानीय जनताको घरमा पस्ने, अन्न लुट्ने र हिंसा मच्चाएपछि प्रशासनले कारवाही गरेको थियो । त्यसबेला गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलुङ, श्रीमाया राई, झगेन्द्र राई र रामकुमारी राई मारिएका थिए ।

आज तिनैका नाममा एमालेले सहिदको खेती गरिरहेको छ । तर, उस्तै छ सहिद परिवारको अवस्था । उस्तै छ उनीहरुको दैनिकी । फेरियो राजनीतिक व्यवस्था । तर फेरिएन उनीहरुको जीवन शैली ।

पछिल्ला समयमा स्व. सूर्यबहादुर थापाले छिन्ताङ हत्या काण्ड गराएकाले प्रवेश निशेषको हल्ला गर्ने गरेका छन् । तर छिन्ताङबाट भक्त वोलना राई, गणेश नायका लगायतले २०३८ सालमा सूर्यबहादुर थापालाई सहयोग गर्दा ८० प्रतिशत मत छिन्ताङबाटै आएको थियो । भक्तबहादुर बोलना राई, वाम गठबन्धनबाट धनकुटा प्रदेश नं. २ बाट उम्मेदवार बनेका निरन राईका बुवा हुन् ।

कसले के गरे ?

छिन्ताङ हत्या काण्डपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला सहिद परिवारलाई पहिलो पटक आर्थिक सहयोग गरेका थिए ।

सो घटनामा अहिलेका एमालेहरुले तत्कालीन प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापालाई दोश लगाउँदै आएका छन् । तर तिनै थापाले छिन्ताङमा पहिलोपटक पञ्चकृष्ण मावि र आदर्श माविको स्थापना गरिदिएका थिए । त्यति मात्रै होइन, सूर्यबहादुर थापाले नै छिन्ताङका अधिकांस विद्यालयमा रहेका खरका छाना हटाएर टिनका छाना लगाईदिएका थिए ।

त्यति मात्रै होइन, २०३६ मा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला एसियाली विकास बैंकमार्फत हिले–छिन्ताङ सडक खन्न सुरुवात गरेका थिए भने नेपाल जापान सरकारको ५० औं कुटनीतिक सम्बन्धको नेपाल गठ वर्षमा आखिसल्ला, खोकु, छिन्ताङ, महाभारत र आहालेमा विजुली ल्याएका थिए ।

यस्तो छ थापा पुत्रको योजना

छिन्ताङ हत्या काण्डमा सूर्यबहादुर थापाको हात नरहेको पुष्टि भइसक्दा पनि सीमित नेताहरुले आफ्नो राजनीतिलाई बचाउन सहिद परिवारको नाम जपिरहेका छन् । उनीहरुलाई के थाहा छ भने सहिद घोषणा गरेपछि आफ्नो राजनीति नै समाप्त हुन्छ ।

त्यही भएर पनि आफ्नो पार्टी सरकारमा गएका बेला सहिदको ‘स’ पनि उचाहरण गर्दैनन् । अहिले सरकारमा छन् तिनै सूर्यबहादुर थापाका छोरा सुनील थापा जो उद्योग मन्त्री छन्, उनले आफु सरकारमा रहेका बेला नै छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने प्रयास गरिरहेका छन् ।

‘जुनबेला जसरी मारिएका भए पनि उहाँहरुको देश परिवर्तनमा योगदान छ’ थापाले भने, ‘म अहिले सरकारमा भएका बेला छिन्तामा मारिएकालाई जसरी पनि सहिद घोषण हुनुपर्छ भनेर लागिपरेको छु ।’

त्यति मात्रै होइन, आफ्ना स्व. वुवा सूर्यबहादुर थापाको नाममा खोलिएको स्व. सूर्यबहादुर थापा प्रतिष्ठानमार्फत हरेक परिवारका एक व्यक्तिलाई अनिवार्य रोजगारी दिने योजना बनाएका छन् ।

लामो समयदेखि छिन्ताङ सहिदका नाम लिँदै कुर्लिए पनि सहिद परिवारमा कुनै परिवर्तन नआएपछि उनीहरुको आर्थिक अवस्था सुधार गर्न सहिद परिवारका रोजगारी दिने र अन्य सहयोगसमेत उपलब्ध गराउने आफ्नो योजना रहेको थापा बताउँछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।