विमानस्थलमा ओली र सिटौलाबीच बोलचाल भएन, यस्तो छ कारण…
काठमाण्डौं । दिउँसो साढे ११ बजे ओलीको जहाज चन्द्रगढी विमानस्थलमा ‘ल्याण्ड’ हुनै लाग्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि विमानस्थलमै भेटिए । तर, सिटौलाको मुहार सधैँको जस्तो उज्यालो पटक्कै थिएन । झापा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धन समर्थित उम्मेदवार राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग भारी मतान्तरले पराजित भएपछि राजधानी फर्किन सिटौला विमानस्थल पुगेका थिए । संयोगले एमाले अध्यक्ष ओली आउने समय पनि त्यही प¥यो ।
विमानस्थलको भीआइपी कक्षमा जहाज पर्खेर बसेका सिटौलालाई पत्रकारले पराजयबारे प्रश्न गर्न खोजे । तर, सिटौलाले ठाडै अस्वीकार गरे । ‘फाउमा जहाँ पायो त्यहीँ नबोल्ने’ उनले प्रतिक्रिया दिए । ओलीको जहाज ल्याण्ड हुनै लागेकाले ओली–सिटौला भेट हुने धेरैको अनुमान थियो । तर, सिटौलाले त्यसो हुन दिएनन् ।
ओलीको जहाज ल्याण्ड भयो । यद्यपि, उनी ओर्लिसकेका थिएनन् । सिटौला कतिबेला सुटुक्क गएर काठमाडौँ जाने जहाजमा चढे, कसैले पत्तै पाएनन् । आजको नयाँ पत्रिकामा खबर छ । ओलीलाई स्वागत गर्न बसेका नेता तथा कार्यकर्ताले जे अपेक्षा गरेका थिए, त्यो भएन । केहीबेर अघिसम्म सिटौला विमानस्थलमै रहेको कुरा ओलीले पनि पत्तो पाएनन् ।
विमानस्थलबाट एमाले अध्यक्ष ओली सिधै जिल्ला हुलाक कार्यालय पुगे । जहाँ उनलाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको थियो ।निर्वाचन अधिकृत सकुन्तला कार्कीको हातबाट प्रमाणपत्र लिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण ढंगले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै निर्वाचन अधिकृत, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिए ।
निर्वाचनअघि उम्मेदवार दर्ता गराउन सोही कार्यालयमा पुग्दा निर्वाचन अधिकृत कार्कीलाई ओलीले भनेका थिए, ‘अब म एकैपटक प्रमाणपत्र लिन मात्रै आउँछु नि !’ भयो पनि त्यस्तै ।मुलुकमै सर्वाधिक मतसहित विजयी बनाइदिएको भन्दै ओलीले झापा क्षेत्र नम्बर–५ का मतदातालाई धन्यवाद दिए ।
छेउमा बसेका ओलीका बुवा भने हर्षले गहभरी आँशु पार्दै थिए । प्रमाणपत्र लिएपछि ओली मेची रंगशालामा आयोजित सभालाई सम्बोधन गर्न पुगे ।जहाँ राप्रपा महामन्त्री लिङ्देन, क्षेत्र नम्बर १ बाट निर्वाचित माओवादी केन्द्रका सुरेन्द्र कार्की र एमाले अध्इक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । रंगशालामा ओली ढिला पुगेकाले लिङ्देन र कार्कीले भने सम्बोधन गरिसकेका थिए ।
जब ओलीले आफ्नै आवाज सुनेनन्
रंगशाला पुगेको केही बेरमै ओलीले सम्बोधन गर्न सुरु गरे । रंगशालाको मैदानमा बसेका सर्वसाधारणले त उनको आवाज प्रस्ट सुनिरहेकै थिए ।तर, ओली आफैँले आफ्नो आवाज सुनेनन् । कारण– माइक निकै टाढा राखिएको थियो, त्यो पनि सर्वसाधारणतिर फर्काएर ।आफैँले आवाज नसुनेपछि ओली एकछिन रोकिए । र, छेउछाउका कार्यकर्तालाई सोधे, ‘के भएको माइक ? पटक्कै आवाज छैन त !’ सर्वसाधारणतिर फर्किएर उनले भने, ‘चुनाव सिद्धिएर हो कि क्या हो, माइक पनि सिद्धिएछ !’ सबै हाँसे ।
गरिबी समाप्त पार्ने दाबी
सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले मुलुकले नयाँ इतिहास रचना गरेको बताए । उनले अब मुलुकको शासन सञ्चालनमा जनताको सहभागिता रहने दाबी गरे । ‘जन्मिँदै शासक हुने, कानुभन्दा माथि रहने राजतन्त्र हामीले उखालेर फ्याँकिसक्यौँ,’ उनले भने, ‘अब जनताबाट निर्वाचित प्रतिनिधिले शासन चलाउँछन्, नीति, नियम र कानुन बनाउँछन् ।’
ओलीले केही वर्षभित्रै नेपालबाट गरिबी समाप्त पार्ने दाबी गरे । जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने ओलीको भनाइ थियो । निर्वाचनमा पराजित उम्मेदवार तथा पार्टीलाई ओलीले पिर नगर्न आग्रह गरे । कुनै भेदभाव नगरी सबैलाई समेटेर लैजाने ओलीले बताए ।
‘म आफ्ना लागि होइन, देशका लागि लड्दैछु,’ उनले भने, ‘अब कोही पनि नेपालीले मेनपावरमा गएर आफ्ना छोराछोरीको नाम लेखाउनु पर्दैन, यहीँ रोजगारी सिर्जना गरिन्छ, केही वर्षभित्रै मेनपावर कार्यालयहरु ग्राहक नआएको पसलजस्तै हुनेछन् ।’
ओलीले आफ्नो ध्यान मुलुकलाई सम्बृद्ध बनाउनेतर्फ हुने बताए । झापाबाट विजयी कोही पनि उम्मेदवारले भ्रष्टाचार नगर्ने उनले बताए । ओलीले भने, ‘म जमानी बसेको छु, उहाँहरुले गलत काम गर्नुहुने छैन ।’


