नेपालमा ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको संकेत
काठमाडौं, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गर्ने भएसँगै भारतीय संचारमाध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारतसम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ ।

नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने सो अखबारले उल्लेख गरेको छ । नवभारत टाइम्सको समाचारमा भनिएको छ, ‘ओली खुलेरै चीनप्रति आफ्नो झुकाव प्रकट गर्दछन् ।’
भारतका विदेश मामला जानकार ब्रह्म चेलानीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एक साथ उभिएका छन्, नेपालको कम्युनिस्ट सरकारको झुकाव निसन्देह चीनतर्फ नै हुनेछ ।’


