‘एमाले र माओवादी ग्लु झैँ टाँसिए, हामीलाई यसरी टाँसिएला जस्तो लागेको थिएन’ : शेखर कोइराला

मोरङमा तपाईं क्षेत्रमा कांग्रेसको राम्रो पकड थियो। तर पनि तपाईं हार्नुभयो। किन हारें जस्तो लाग्छ ?

हो, राम्रो थियो हाम्रो यहाँ। हामी चुनावअघि निकै खटेका पनि थियौं। बर्खामा बाढी आएकाे बेलादेखि नै म त्यहाँ गएर काम गरेको हुँ। खासमा मलाई हारेको जस्तो त लागेकै छैन। म ६ सय ७५ मतले पछि परें। मेरो क्षेत्रका दुवै प्रदेशमा कांग्रेस उम्मेदवारलाई २ हजारभन्दा बढी मतले जिताएँ।

किन हारियो भन्ने त विश्लेषण गरिँदैछ। पार्टीको आन्तरिक द्वन्द्व पनि एउटा कारण हो। प्रदेशको उम्मेदवार दिँदा भएका गल्तीको असर मलाई पनि परेको हो। फोरम लोकतान्त्रिकसँग एकताको औचित्य पनि प्रमाणित गर्न सकेनौँ। विजय गच्छदार (कांग्रेससँग एक भएको लोकतान्त्रिक फोरम अध्यक्ष) ले जे गर्नुपर्थ्यो त्यो गर्न सक्नुभएन।

देशभरि पनि कांग्रेस हार्‍यो। यसलाई कसरी हेर्नु भएको छ ? कांग्रेस किन हार्‍यो?
हो, यो चुनावमा कांग्रेसले हार बेहोर्नुपर्‍यो। उम्मेदवार छान्ने संसदीय समितिको म सदस्य हो। त्यसैले कांग्रेस हारको जिम्मेवारी म पनि लिन्छु।

कांग्रेस हार्नुका चार कारण छन् जस्तो मलाई लाग्छ।

पहिलो, वाम गठबन्धन नै हो। एमाले र माओवादी ग्लु झैँ टाँसिए। हामीलाई यसरी टाँसिएला जस्तो लागेको थिएन। उनीहरूको आन्तरिक लडाइँ हुन्छ र त्यसको फाइदा कांग्रेसलाई हुन्छ भन्ने नै हामीले सोच्यौँ। त्यस्तो आँकलन गर्नु हाम्रो गल्ती थियो।

दोस्रो, हामीले गरेको गठबन्धन हो। लोकतान्त्रिक गठबन्धन त गर्‍यौँ। तर ‘लुज’ गठबन्धन भयो। हामीले गठबन्धन गर्‍यौँ कि गरेनौँ भन्ने हामी आफैंलाई आभास भएन किनभने देशभरि हामीले सिट त छोड्यौँ। महन्थ ठाकुर, उपेन्द्र यादव, दीपक बोहोराजस्ता नेतालाई हामीले सिट छोड्यौँ। तर हाम्रो लागि कसैले छोडेन। उहाँहरूलाई जिताउन हामीले छोड्या हो। यसलाई म ‘लुज’ गठबन्धन भन्छु।

तेस्रो, हामी सरकारमा हुँदा गरेको ‘परफर्मेन्स’ नै हो। हामीले माओवादीसँगको सत्तासाझेदारी गर्दा होस या आफैंले नेतृत्व गर्दाको सरकार हुँदा कांग्रेसका क्रियाकलाप राम्रा भएनन्। प्रधानन्यायाधीशमाथ महाअभियोग प्रकरण भन्नुस्, आइजीपी नियुक्ति प्रकरण, स्थानीय निकायको चुनावमा प्रचण्डजीकी छोरीलाई गरेको सहयोग जस्ता कुराले असर गरेको हो। देशैभरि त म भन्दिन तर काठमाडौँ, विराटनगर, पोखराजस्ता जहाँ सचेत नागरिक बस्छन् उनीहरुले कांग्रेसका ती क्रियाकलाप रुचाएनन्। त्यस्तो देखिएन।

चौथो, हामी एग्रेसिभ भएर जनतामा जान सकेनौँ। हामीले सरकारमा गएर गरेका राम्रा-राम्रा काम बारे भन्न सकेनौँ। अघिपछि र चुनावका बेला पनि ती कामको मार्केटिङ गर्न सकेनौँ। हामी खासमा रियाक्सनमा गयौँ क्या। ओली र प्रचण्डले जे भन्छन त्यसको रियाक्सन दिने काममात्र भयो।

कांग्रेसको दुर्भाग्य भनेकै हामीले क्रियाशील सदस्यलाई मनाउनै बढी समय खर्च गर्‍यौँ। क्रियाशील सदस्य नै क्षेत्रीय अध्यक्ष, जिल्ला अध्यक्ष छन् महाधिवेशन समिति सदस्य छन्। उनीहरुलाई नै खुसी पार्न उम्मेदवारको धेरै समय खर्च भयो । जबकी आमजनतालाई अझै धेरै समय दिनुपर्थ्यो।

हाम्रोमा क्रियाशील १ जनाले १० जना सदस्य बनाउनुपर्छ भन्ने छ। हामीसँग ७ लाख क्रियाशील सदस्य छन्। त्यसको १० गुना कति हुन्छ? ७० लाख। अहिलेको चुनावमा समानुपातिकमा हाम्रो भोट कति पायौँ? करिब साढे ३१ लाख पायौँ! प्रत्यक्षमा अलिकति वेसी हो। हाम्रा भोटर नै क्रियाशील सदस्य रहेछन्। भोटर्सलाई क्रियाशील बनाउँदा यस्तो समस्या आउने रहेछ।

अहिले कांग्रेसमा पुनर्संरचनाको कुरा उठिरहेको छ। के अब ७ दशक पुरानो पार्टी पुनर्गठनको बेला आएको हो?

कांग्रेसलाई रिफर्म आज होइन पहिलै गर्नुपर्ने थियो।

नयाँ संविधान अनुसारको कांग्रेस नै छैन। संविधान आएकै २ वर्ष बित्यो हामीले प्रदेश संरचना बनाउन सकेको छैनौँ। विभाग बन्न सकेको छैन।

केन्द्रीय समिति र कार्यसम्पादन समितिबाहेक केही छैन। हामीले पहिले गरिहाल्नु पर्ने काम केन्द्रीय समिति बैठक बोलाउनु हो। त्यसले चुनावमा कहाँ चुक्यौँ भनेर समीक्षा गर्छ। उम्मेदवारी दिँदा पनि धेरै ठाउँमा चुक्यौँ। पैसासैसा बढी भएकोलाई धेरै ठाउँमा टिकट दियौँ।

उनीहरुको समग्र लगानी कांग्रेसमा कति छ भन्नेचाँहि हिसाब गरेनौं। यो कुराहरुलाई हामीले गम्भीर भएर छलफल गर्नुपर्‍यो। निराकरण गर्न सकिने कुरामा गरिहाल्नु पनि पर्‍यो।

त्यस्तै अर्को कुरा महासमिति बैठक गर्न हामीले बाँकी नै छ। त्यो बोलाउनु पर्‍यो।

हामीलाई देशभरिबाट कार्यकर्ताको फोन आएको छ। उनीहरू निरास भइसकेका छन्। हामीले महासमिति बोलाएर छलफल गरेर निचोडमा पुगेर उनीहरूलाई उत्तर दिनुपर्छ। अर्ली (विशेष) महाधिवेशनतिर जान सकिन्छ भने त्यतै जाअौं। दुई वर्षपछि त महाधिवेशन गर्नै छ। त्यो भन्दा पहिलै पनि गरे भैहाल्यो। किनभने प्रदेशिक संरचना पनि बनाउनै छ। धेरै काम महाधिवेशनले नै गर्छ।

नेतृत्व परिवर्तनको पनि कुरा छ, त्यो अहिले जरुरी छ कि छैन?

नेतृत्व परिवर्तन त महाधिवेशन महासमितिजस्ता बैठकले गर्ने हो। उहाँ (शेरबहादुर देउवा) सभापतिको हैसियतले कतिको नैतिक जिम्मेवारी लिनुहुन्छ मैले भन्ने कुरा भएन। तर जिम्मेवार व्यक्तिहरु सबैले पार्टीलाई यो ठाउँमा पुर्‍याएकोमा जिम्मेवारी लिनुपर्छ। मैले पनि लिन्छु। प्रत्येक व्यक्तिले नै यसैगरी जिम्मेवारी लियौँ र आफ्ना काम कारवाही सुधार्नतिर लाग्यौँ भने अनि रिफर्म पनि सुरु हुने हो नि। व्यक्तिव्यक्ति मिलेरै पार्टी बन्ने हो।

कतिपयले त कांग्रेको नेतृत्व परिवर्तननै गर्न जरुरी भैसक्यो भन्छन् ?

हामी पहिले पिपुलमा पुग्नुपर्‍यो। यसरी रिफर्म गर्छु भनेर आफ्ना कुरा राख्नुपर्‍यो।

र जुन साथिहरुले बद्मासी गरेका छन् ती साथीहरुलाई पोलिटीकल्ली बाइकट गर्नुपर्यो। नेपाली कांग्रेसमा अनुशासन प्रकृयाबाट बाइकट गर्ने धेरै लामो प्रकृया छ। त्योभन्दा पनि राजनीतिक बहिस्कार मात्र गर्ने हो भने पनि मान्छेले बुझिहाल्छन् नि, लौ पार्टी सुध्रिन खोज्यो है भनेर।

पहिले कार्यकर्तामा पुग्नुपर्‍यो। उनीहरुले बुझ्नुपर्‍यो हामीले बुझाउनु पर्‍यो। नेता आफैंले नि कसरी रिफर्म गर्ने भनेर बुझ्नुपर्‍यो। नेतृत्व परिवर्तनको कुरा पनि तलबाटै आउनुपर्‍यो।

अहिलेको मत नै जनताबाट आएको सन्देश हैन र?

अहिले पार्टीलाई त जनताले भोट दिएका छन्। हाम्रा उम्मेदवारलाई दिएनन्। किन नेतालाई भोट दिएनन्? यो विषयमा त पर्याप्त छलफल गर्नु पर्‍यो नि। त्यसरी भएको छलफलबाट कांग्रेसमा नेतृत्व परिवर्तन हो कि पार्टीकै रिफर्म गर्ने हो, त्यसको निर्क्यौल हुन्छ।

तपाईंले व्यक्तिगत रूपमा पार्टी ‘रिफर्म’ का लागि के गर्नु हुन्छ? कस्ता विषय उठाउनुहुन्छ ?

हामी जिम्मेवार हुनुपर्छ अनि पार्टीका संरचनालाई पनि तन्दुरुस्त बनाउनु पर्छ भन्ने कुरा मैले सिरियसली उठाइराखेकैछु। यसलाई केन्द्रीय समिति र महाधिवेशन समितिमा पनि उठाउँछु। त्यो बीचमा जुन समय हुन्छम त आफैं जिल्ला-जिल्ला गएर कार्यकर्ताको माझमा राख्छु, एकदमै सिरियसली।-सेतोपाटिबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।