कांग्रेसका पुरुष भाग्यमानी, एमाले – माओवादीमा महिलालाई प्राथमिकता : यस्तो छ समानुपातिक सांसद् छनोट

काठमाडौँ । दुई ठूला दलमध्ये नेकपा एमाले र माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका पुरुष उम्मेदवारको प्रतिनिधित्व योपटक निकै कममात्र हुने भएको छ। प्रत्यक्षबाट अधिकांश क्षेत्रमा पुरुष विजयी भएपछि समानुपातिकबाट महिला प्रतिनिधित्व अनिवार्य भएको छ। आफ्नो समूहमा पहिलो नम्बरमा रहेका पुरुष समेत कतिपय अवस्थामा समानुपातिकबाट सांसद् छनोटमा नपर्ने देखिएको छ।

सवैभन्दा ठूलो दल एमालेले समानुपातिकबाट बढीमा तीन पुरुष सांसद् लैजान सक्ने अवस्था देखिएको छ। बन्दसूचीमा समावेश अधिकांश महिलाको प्रतिनिधित्व करिव निश्चित देखिएको छ।

माओवादीबाट २ र कांग्रेसबाट भने १९ पुरुषको समानुपातिकबाट प्रतिनिधित्व हुनेछ।

एमालेले प्रत्यक्षमा ८० सिट जितेको छ। जसमा झापा २ बाट पवित्रा निरौला खरेल र स्याजा २ बाट पद्माकुमारी अर्यालबाहेक अरु महिलाले जित्न सकेका छैनन्। समानुपातिकमा एमालेले ४१ सिट पाउने देखिएको छ।

कूल एमालेमा सांसद् संख्या १२१ हुनेछ। संवैधानिक व्यवस्था अनुसार एक तिहाई महिला अनिवार्य रुपमा पु¥याउन ४० महिला हुनुपर्नेछ। दुई महिलाको प्रतिनिधित्व प्रत्यक्षमा भएकाले यो संख्या ३८ मा सीमित हुनसक्छ। समानुपातिकतर्फको ४१ सिटमध्ये ३८ मा महिला पठाउँदा ३ जनामात्र पुरुष सिफारिस हुन सक्ने अवस्था छ।

को को छन् अगाडि
एमालेको जनजाति कोटाबाट पहिलो नम्बरमा विजय सुब्बाको नाम छ। खगेन्द्र राई, केशवलाल श्रेष्ठ लगायतको नाम क्रमश छ।
खस आर्य कोटामा मुकुन्द न्यौपाने पहिलो नम्बरमा छन्। सोमना प्यासी, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा लगायतको नाम बन्दसूचीमा क्रमश छ।

मधेशी कोटाको पहिलो नम्बरमा मोती दुगडको नाम छ। पूर्व उपसभामुख गंगा यादव दोस्रो नम्बरमा छन्।

दलित कोटामा पहिलो नम्बरमा रामप्रित पासवानको नाम छ। मुस्लिम पुरुषबाट सलिममियाँ अन्सारीको नाम पहिलो नम्बरमा छ। मुस्लिम महिलबाट कालिला खानको नाम छ।

महिला कोटामा खसआर्यमा १५, जनजातिबाट ८, मधेशीबाट ९, थारुबाट ४, दलितबाट ५, मुस्लिमबाट ३ जनाको नाम बन्दसूचीमा छ।
आ–आफ्नो समूहबाट उनीहरु समावेशी कोटा अनुसार निर्वाचित हुनेछन्।

माओवादीमा पनि थोरै
एमालेमा मात्र हैन माओवादी केन्द्रमा पनि समानुपातिकबाट जाने पुरुषको संख्या निकै कम छ। माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ। समानुपातिकमा उसले १७ सिट पाउने देखिन्छ।

कूल सांसद् ५३ हुँदा १८ जना महिलाको प्रतिनिधित्व अनिवार्य रहन्छ। प्रत्यक्षमा माओवादीबाट ३ महिला निर्वाचित भएका छन्। थप १५ जना महिला समानुपातिकबाटै लैजानु पर्नेछ। समानुपातिकको १७ सिटमध्ये बाँकी २ कोटामा मात्र पुरुषको प्रतिनिधित्व हुनेछ।

माओवादीको बन्दसूचीको खसआर्यबाट हितराज पाण्डे, मणि थापा, लोकमणि ढकाल लगायतको नाम छ।

यस्तै, यस्तै जनजातिबाट सुरेश आलेमगर, सुनील मानन्धर, परशुराम तामाङ, पासाङ शेर्पा, नवीन रोका लगायतका नामावली क्रमश छ।
पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह पहिलो नम्बरमा छन्। मधेशीबाट जोगकुमार यादव, गोपाल ठाकुर, बलराम महतो लगायतको नाम क्रमश छ।

पुरुष प्रतिनिधित्वमा आफ्नो समूहमा अघि भएका दुई उम्मेदवारले मौका पाउनेछन्। जनसंख्याको आधारमा क्लष्टर रोजाइमा पर्नेछ।

कांग्रेसमा १९ पुरुष
तीन दलमध्ये समानुपातिकमा सवैभन्दा बढी पुरुष सांसद् कांग्रेसले छनोट गर्न पाउने भएको छ। कांग्रेसले १९ पुरुष समानुपातिकबाट प्रतिनिधित्व गराउनेछ।

कांग्रेसले प्रत्यक्षमा २३ सिट जितेको छ। समानुपातिकमा कांग्रेसले ४० सिट पाउने देखिन्छ। दुबैतर्फ गरी कांग्रेसमा ६३ सांसद् हुनेछन्। एक तिहाइ महिलाको संख्या पु¥याउन २१ जना समानुपातिकबाटै सिफारिस गर्नु पर्नेछ। प्रत्यक्षमा कांग्रेसबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्।

४० सिट समानुपातिकमध्ये २१ महिला सिफारिस गरेर बाँकी रहेको १९ जनामा कांग्रेसले पुरुष उम्मेदवार छनोट गर्न सक्नेछ।

कांग्रेसमा खसआर्य पुरुषबाट बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्य केसी लगायतको नाम क्रमश छ।
यस्तै, जनजातिबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी लगायतको नाम क्रमश छ।
मीन विश्वकर्मा, प्रकाश रसाइली, नरभान कामी लगायतको नाम दलित समूहबाट क्रमश छ।

बिनोद चौधरी, अनिल रुगटा, रामचन्द्र तिवारी, लक्ष्मण राय लगायतको नाम मधेशी कोटाबाट क्रमश सूचीमा छ। मुस्लिमबाट अतहर कमाल मुसलमानको नाम पहिलो नम्बरमा छ। सबै समूहबाट प्राथमिकताका आधारमा नाम छनोट हुनेछ। पहिलो पोष्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।