‘नेपालको अस्तित्व नै हराउने हो कि भन्ने आशंका छ’ : पूर्व एआईजीपी

यो देशमा नक्कली माओवादीको खोजी किन हुँदैन ?

नेपालमा अनेक थरीका राजनैतिक व्यवस्थाहरुको अभ्यास भएको जग जाहेर छ । हाम्रो देशको राजनैतिक, आर्थिक, सामाजिक सुरक्षा, भेषभुषा, शैक्षिक, सांस्कृतिक, धार्मिक आदि हरेक क्षेत्र र अङ्गहरुमा वैदेशिक हस्तक्षेप अभूतपूर्वरुपमा बढिरहेको र यसको उग्र विस्तारले नेपाल राष्ट्रको अस्तित्व झन झन संकटग्रस्त हुँदै सामाजिक सद्भाव खल्लबलिएको छ । चरम भ्रष्टाचार बढेको, बेथितीको मौलाएको तथा कानूनको शासनको उपहास भएको सन्दर्भमा यसवाट नेपालको अस्तित्व नै हराउने हो कि भन्ने आशंका ब्याप्त छ । देशभित्रका नक्कली माओवादीहरुको खोजी गरौं भन्ने आवाज अनुरोधको संगालो हो– यो, गहिराईमा जाऔ मिलेर ।

धर्मयुद्ध नछेडौं देशमा राष्ट्रियस्तरमा मनमुटाव रहेका विषय वस्तुहरु तथा असन्तुष्ट समूह र विगतका संस्था, व्यक्तित्व एवं परिवारहरु छदैछन । जुन पक्षहरु जनमत संग्रहवाट निर्णय लिनु पर्दछ , केही दलका सीमित नेता गणमात्र बसेर भागबण्डाको नीतिको निरन्तरताका आधार मान्ने छैन भनेर विभिन्न किसिमले आफ्ना मत विचार र असन्तुष्टि व्यापकरुपमा देश–विदेशमा व्यक्त भइहरेको पाइन्छ । देशलाई असफल बनाएर व्यक्ति वा दल सफल बन्नु पनि नाजायज हो देशमा जनअदालत गठन हुने दिन ननिम्त्याऔं मौका छ सुध्रिने ।

माओवादी जनयुद्धको सन्तुलित र व्यवस्थित अवतरण भएको छैन देशमा । अझै राजनैतिक विचलनका संकेत भाषण र गतिविधिमा आइरहनुले देशमा सामाजिक सद्भाव खलबल्याएर वाह्य शक्तिहरुको रणनैतिक योजनालाई सफल पार्ने प्रयत्न भइरहेको आभाष हुन्छ । वाम तालमेल कतै छिट्टै छिन्नभिन्न भो भने शंका गरिरहनु नपर्ला । अर्कोतर्फ प्रजातान्त्रिक नेता हौं भन्नेको व्यक्तिपरक र अयोग्य सोचलाई समानुपातिक मतको अवस्थाले स्पष्ट पारिदिएको छ ।

भ्रष्टाचारमा केही आईजीहरु जेलमा केही विशेष अदालतमा तारिखमा छन् भने जनमतले देशको विभिन्न कालखण्डमा भ्रष्टनीति, निर्णय, व्यापार र साँठगाँठमा लागेका केही उच्च मन्त्री गृहमन्त्रीहरु र धनको बलमा उठेका साथै विदेशका एजेण्ट आरोप लागेका केही महिला–पुरुषलाई पनि मैदानबाट पाखा लगाईदिएको छ । हो, केही कानूनले डामेका व्यक्तित्वहरुले पनि जितेका छन् । समग्रमा निर्वाचने मिश्रित आयमका पाटा उजागार गरेको छ, जसको गहन अध्ययन विश्लेषणले देशको भावी राजनीति र देशको अवस्थालाई बुझ्नमा सहयोग पुग्ने छ । हाललाई आशा गरे पनि राजनीतिक संक्रमणको चरणको अन्त्य भएको छैन ।

विस्तृत खोज खबर होस् नक्कली माओवादीको । आज म रनभूल्लमा छु, हामी कसका लागि युद्ध लड्यौं ? तयार छु साक्षी हुन, सोधखोजको आँट गर युवा नेपाली । सत्य बाहिर ल्याउन आउनुहोस् जुटौं । सक्कली माओवादी हौं भनेर बुलेट टु ब्यालेट हुँदै सदनसम्म पुगेकासंग त सेना, प्रहरी र सशस्त्र प्रहरी बलका धेरै फौज लडेको छ । तर, नक्कली माओवादी को के ? यदि सक्कली र नक्कली समेतको खेल र रजाईको कुरा हो भने अझै भ्रमहरु चिरिनु पर्ने हुन्छ ।

नक्कली सशस्त्र माओवादीहरुको खोज र भण्डाफोर नभएसम्म आतंकवादको परिभाषा र द्वन्द्व व्यवस्थापन तथा मानवताको आदर्श विन्दु विश्वले पाउने छैन । जुन अध्ययन, विश्लेषण तथा सत्यतथ्यमा आधारित लेख÷रचना र प्रतिवेदले प्रष्ट पार्ने कुरा हुन् ।

यो देशमा नक्कली माओवादीको खोजी किन हुँदैन ? सामान्य टिपटापे वा माओवादीको नाममा ससाना लुटपाट र धम्काएको कुरा गरेको होइन । जनताको करबाट नियुक्त ब्यक्तित्व र तिनले संचालन गरेको सशस्त्र माओवादी जुन देशभित्र कै नेपाली थिए । अर्कोतर्फ सक्कली माओवादीलाई लुकेर रणनैतिक सहयोग गर्ने सरकारका तलव खाएका राष्ट्रघातीहरुलाई हाम्रो समाज र विश्वमा देखाई दिऔं अब बेला आयो भन्ने विचार राखेको हुँ । खोज गरौं सत्यमा आधारित भएर । मसंग पनि सत्यका आधारहरु छन् केही मरे मारिए धेरै बा“चेका छन् ।

समय नै काल हो, परजीवी नबनौ । जन शक्ति, युवा बललाई नलल्लकार धर्मका विवादमा अनावश्यक निहुँ खोजेर नेतागण ! वंशनास नगर र देशको मौलिक पहिचान नमास । विश्व जगतमा ठूलठूला इमारत ढलेका छन् । माखुरीको अवस्थालाई स्मरण गर । यी आवेशको शब्द विचार होइनन् । पूर्व प्र.मं. देशका ठूला नेताहरु, सेना प्रहरीका चीफहरु, कानून मूकदर्शक बनेको घटना हो, स्मरणमा छ होला–फौजको आधारभूत तालिम नलिएका फौजको नेतृत्वका लागि नियुक्त नभएको नितान्त प्राविधिक व्यक्तिलाई सशस्त्र फौजको कमाण्ड सुम्पेको कालो दिन ।

नवराज सिलवालको मुद्दाको कुरो छोडांै अदालतमा छ । सरकारी कागज छाप आदि कीर्ते गरेकोमा अनुसन्धान त होला नै हेर्दै जाऔं । त्योभन्दा विशेष तथा कानून, व्यवसायिकता र फौजको साखलाई निमिटान्न पारिएको घटना छन् जुन सहनशीलता र धैर्यताका बा“धमा रहेकोले ओझलमा छ ।

२००७ साल पछिको सुरक्षा सेवाहरुको ईतिहास मै सुरक्षा फौजको व्यवसायिकता, तालिम, फिल्डको अनुभव र नेतृत्व श्रृंखलालाई लत्याइएको अविवेकी, अत्याचारी र अन्यायपूर्ण निर्णयको पीडित हुँ जुन डा. बाबुराम भट्टराईको नेतृत्व र विजय गच्छदारको प्रत्यक्ष सरोकारमा रहेका सरकारले गरेको थियो ।

जसमा देशका ठूला तस्कर, व्यक्तिगत लोभ लालच, षडयन्त्र, तथा अकुत भ्रष्टाचारका पात्र र प्रवृत्तिले विशेष भूमिका खेलेका थिए इतिहाससाक्षी छ । ईतिहास मै अन्यायपूर्ण गम्भीर अवस्थामा समेत विचलित नभई संगठन कमजोर नहोस्, नेतागण सुध्रिउन, देशमा पीडा नथपिउन, देशका बन्दुकहरु एक आपसमा नलडुन, फौजमा दाग नलागोस, बन्दुकहरू एक आपसमा नजुधुन् भन्ने देहराखी संयमित रहेर ठूलो रक्तपात र कालो इतिहास कोरिनबाट बचाएको एक फौजी हुँ, यो पंक्तिकार ।

अझै युद्धमा नेपाल र नेपालीलाई होम्ने सोच छ भने कृपया सोच परिवर्तन गर्नुहोस् बंश र संस्कृतिको नास नगरौ । मानव सभ्यता भष्म गर्न मलजल गर्न छोड्नुहोस् । पुत्र शोकमा पनि राजा दशरथले राज्यमा न्याय मासेनन् । कुनै पनि धर्मका मूल्य मान्यताले कुकर्मलाई स्थान दिएको छैन । जन्मपछि मृत्यु सत्य छ, सत्यमा नै विश्वास अडेको हुन्छ र विश्वास नै ईश्वर हो र धर्म हो जुनसुकै नाममा पुकारिए पनि ।

आसन्न निर्वाचनहरुले दिएको जनसमर्थन र विश्वासको अवस्थालाई मध्य नजर राख्दा बाम गठवन्धनको सरकारको जिम्मामा देशको बागडोर आइरहेको छ । जुन ईतिहासमै एक वृहत् अवसर र चुनौतीको रुपमा रहेको छ । हाम्रा छिमेकी राष्ट्रहरु र विश्व समुदायलाई नेपालको घटना परिघटना तथा परिस्थितिहरुलाई विभिन्न दृष्टिकोणवाट आआफ्नै तवरतरिकाले अवलोक गरिहेकैछन ।

२१ औं शताब्दीको आजको खुल्ला डिजिटल अन्तर्राष्ट्रिय बजार, विश्व परिवेश र विविध आयामहरुबाट नेपाल अछुतो रहन सक्तैन । देशका आइरहेको स्थिरतालाई नभाँडौ । दिगो विकास, शान्ति तथा माटो सुहाउँदो प्रजातन्त्रको र माटोको संस्कृतिको रक्षा जगेर्नामा जुटौं । अझै मौका छ देशको असल नेता बन्न र समृद्ध नेपाल बनाउन । धर्मयुद्ध नेपालको माग र आवश्यकता होइन । संविधानको प्रस्तावनामा भएका समाजवादको गलत व्याख्या र व्यक्तिगत लाभमा प्रयोग नहोस् । समाजिक सद्भाव नबिथलौं धर्मयुद्ध नछेडौ नक्कली माओवादीको पर्दाफासमा जुटौं ।

‘गाइ मारेर, गधा नपोस्’ भन्ने पुरानो उखानको महत्व घटेको छैन । स्मरण गरेर अघि बढ्नु सबैको परम कर्तव्य हुन् । विश्व अध्ययन गरौं, तर स्थानीयस्तरवाट नै कामकाज गरौं जन्मभूमिको अस्मिता, अखण्डता, संस्कार, संस्कृति, साधन स्रोतको सम्भावनाहरूको प्रचुर उत्पादन, उपयोग र उपभोग तथा आइपर्ने समस्या बाधाको उपचारमा जुट्नुको विकल्प छैन । स्वदेशी जनबल र राष्ट्रियताको मजबुत जगको आडमा रहने कुनै पनि वाद सफल हुन्छ । अब सत्ताका दावेदारहरु पात्र, प्रवृत्ति र प्रकरण पुरानै शैलीका हुने, राष्ट्र, राज्यको मर्म र जन अवस्था नबुझ्ने हो भने विनाशको बाटोले समाज, देश, क्षेत्र, अन्तर्राष्ट्रिय तथा सिंगो विश्वमा कुप्रभाव पार्नेछ ।

विश्व जगतमै पुरानो संस्कृति र सम्पदाको धनी ऐतिहासिक भूमिमा रहेको नेपालको गौरवी परिचय, पहिचानलाई अबको तेस्रो युद्धको मूल कारकतत्व धर्म तथा पानीको विवादको भाषमा नहोमौं, वंशनास, मानव अस्तित्वको विनासमा कसैको कुचालको गोटी नबनौं । याद रहोस् आफ्नै सन्तति, कुसंस्कार र कमजोर मानसिकताले माखुरीको मृत्यू रीतिको पुनरावृत्ति पनि नियति हुने नै छ । जन्मभूमिमा हतारमा भुसको आगो सल्काएर, फुर्सदमा गोहीको आँसु चुहाउनुको अर्थ रहने छैन । सबैको परीक्षण र परीक्षाका घडी पाला साइत आइरहेको छ । परजीबी नबनौं, मानव चेतना भया ! साँघुन्युजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।