यस्तो छ गगनसँग राजन हार्नुका कारण : बम काण्ड र अन्तर्घातदेखि विवेकशीलको भोटसम्म…

काठमाडौं । काठमाडौं क्षेत्र न.४ मा एमालेका युवा नेता डा. राजन भट्टराई कांग्रेसका गगन थापासँग पराजित हुनुमा वाम गठवन्धन र साझा विवेकशीलको मत जिम्मेवार रहेको देखिएको छ ।

निर्वाचन आयोगबाट आएका सबै तथ्यांक केलाउँदा क्षेत्र न. ४ मा वाम गठबन्धनको सबै मत राजनलाई नआएको देखिन्छ भने विवेकशील साझाले पनि आफ्ना उम्मेद्वार सुवुना बस्नेतलाई छाडेर गगनलाई मत हालेको देखिन्छ ।

प्रतिनिधिसभामा गगन थापाले २१५५९ मत ल्याएर राजनलाई ३४१७ मतको अन्तरले पराजित गरेका थिए । राजनले १८१४२ मत ल्याएका थिए । काठमाडौं ४ मा बूढानीलकण्ठ नगरपालिकाका वडा न. १, २, ८, ९, १०, ११,१२ र १३ वडा पर्छन्, जहाँबाट प्रतिनिधिसभा सदस्यमा राजनलाई ११०५१ मत आयो भने गगनलाई ११११९ मत आयो । राजनले यहाँबाट करिव २ हजार मतले गगनलाई उछिन्ने आंकलन गरेका थिए । तर उल्टै गगनको भन्दा ६८ मत कम ल्याए ।

जवकि यही क्षेत्रभित्र पर्ने प्रदेश ‘ख’ बाट एमालेका उम्मेद्वार कुसुम कार्कीले भने १२३४७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेद्वारले ९३५४ मत ल्याए । गत स्थानीय निकाय निर्वाचनमा ती सबै वडा एमालेले जितेको थियो । ती वडाबाट राजनलाई गगनको भन्दा ६८ मत कम आयो भने प्रदेशसभाका उम्मेद्वार कुसुमलाई कांग्रेस उम्मेद्वार भन्दा २९९३ मत बढि आयो । राजनलाई उनकै प्रदेशसभा उम्मेद्वार कुसुमको भन्दा १२९६ मत कम आयो । अर्थात एमाले र माओवादीको मत समेत राजनलाई बूढानीलकण्ठबाट आएन ।

उता, महानगरभित्र पर्ने १, ७, ८ र ३० मा भने राजनलाई ७०९१ मत प्राप्त हुँदा गगनलाई १०४४० मत प्राप्त भयो । प्रदेशसभा ‘क’ अन्तर्गत पर्ने यस क्षेत्रमा एमालेका उम्मेद्वार निर्मल कुईंकेल ८२५ मतान्तरमा पराजित भए । एमालेका कुईंकेलले ७८९१ मत ल्याउँदा कांगे्रेस उम्मेद्वारले ८७१६ मत ल्याए । अर्थात राजन र गगनबीच यहाँ ३३१७ मत फरक पर्यो भने निर्मल भने ८२५ मतले मात्र पराजित भए । यो प्रदेशसभा ‘क’ बाट निर्मललाई भन्दा राजनलाई ७२० मत कम आएको देखिन्छ ।

यसरी हेर्दा कुसुम र निर्मलले पाएको मत राजनलाई आएन । त्यसरी नआएको मत जोड्दा २०१६ हुन्छ । प्रत्यक्षतर्फ राजनले अहिले ल्याएको मतमा २०१६ जोडिँदा गगनको यति नै मत घट्न सक्थ्यो । यो सामान्य हिसावमा राजनले निर्वाचन जित्ने देखिन्छ । तर वाम गठबन्धनकै मत नआउँदा हारेको तथ्यांकले देखाउँछन् ।

अव समानुपातिकतर्फको मत हेरौं ।

काठमाडौं ४ मा समानुपातिकतर्फ एमालेलाई १५६२२ मत आएको छ भने कांग्रेसलाई १५२८० मत आएको छ । यहाँ माओवादीलाई २४०६ मत आएको छ भने साझा विवेकशीललाई ६८३० मत गएको छ । यस्तै राप्रपाको गाईलाई १०८६ मत प्राप्त भएको देखिन्छ ।

निर्वाचनको सामान्य प्रवृत्ति हेर्दा के देखिन्छ भने समानुपातिकमा भन्दा प्रत्यक्षमा उम्मेद्वारले बढि मत ल्याएका छन् । काठमाडौंमा मात्र पनि एमालेबाट बिजयी भएका उम्मेद्वारलाई हेर्दा पार्टीलाई भन्दा औसतमा ५ हजार मत उम्मेद्वारलाई बढि आएको देखिन्छ । तर राजनको हकमा यो लागू भएन ।
अर्को, काठमाडौं ४ मा समानुपातिकतर्फ एमालेले कांग्रेसको भन्दा ३४२ मत बढी ल्याएको छ । यसमा माओवादीको २४०६ मत छ । समानुपातिकतर्फ एमाले एक्लैले ल्याएको ३४२ बढि मत र माओवादीले पाएको २४०६ मत जोड्दा २७४८ मत बढि हुन्छ । यसरी वामपन्थीको यो २७४८ बढि मत रहेको ठाउँमा राजन ३४१७ मत अन्तरले पराजित भएको देखिन्छ ।

समानुपातिकमा प्रदेशसभातर्फ हेर्दा एमालेलाई १४९०९ मत आएकोमा कांग्रेसलाई १४१३६ मत आएको छ । त्यस्तै, यहाँ साझा विवेशशीललाई ७५५२ मत आएको छ भने माओवादीलाई २४९३ मत आएको छ । प्रदेशसभातर्फ दुबै प्रदेशमा आएको एमाले र माओवादीको समानुपातिक मत जोड्दा १७४०२ छ जो कांग्रेसको भन्दा ३२६९ मत बढि हो । यहि मत राजनलाई आएको अवस्थामा निर्वाचनमा उनलाई सहज जित हुने देखिन्छ ।
यसरी हेर्दा राजनलाई वाम गठबन्धनबाटै मत नआएको देखिन्छ ।

अर्को, साझा बिबेकशीलले पनि आफ्नो उम्मेद्वारलाई मत नहाली गगनलाई नै हालेको प्रमाणित हुन्छ । प्रत्यक्षतर्फ विवेशशील साझाकी सुबुना बस्नेतले ३०४० मत ल्याउँदा समानुपातिकतर्फ पार्टीले ६८३० मत ल्याएको छ । उता दुबै प्रदेशमा साझा विवेकशीलले ल्याएको मत जोड्दा ७५५२ मत हुन्छ, जुन सुवुनाले पाएको मतभन्दा ३५ सयले बढि हो ।

काठमाडौं ४ का एमाले र साझा विवेकशीलका निर्वाचनमा नजिकबाट खट्ने केही कार्यकर्ताले दुवै पार्टीभित्र गगनलाई जिताउने अस्वस्थ्य आन्तरिक खेल भएको बताएका छन् । एक एमाले कार्यकर्ताको भनाईमा, प्रदेश ‘ख’ बाट जितेका कुसुम कार्की र गगनबीच निर्वाचन प्रचार अन्तिमतिर पुग्दा केही गोप्य भेटघाट भएका थिए । त्यस्तै, स्थानीय निकायको निर्वाचनमा पैसाको चलखेलमा मत बिगारेका माओवादीले पनि यसपटक त्यही चलखेलमा गगनलाई मत हालेका छन् । ‘यसका केही प्रमाणहरु आएका छन् । हामी तिनमा छानवीन गर्दैछौं’ एमाले स्रोतले भन्यो ।

साझा विवेकशीलले काठमाडौं क्षेत्र न. १ मा आफूलाई बढी केन्द्रित गरी यता गगन जिताउने र उता रवीन्द्र मिश्रलाई जिताउने परोक्ष अभियानसमेत चलाएको थियो । मिश्रले कडा प्रतिस्पर्धाका बीच निर्वाचन हारे भने त्यही अघोषित गठवन्धनका कारण ४ बाट सुवुनाले पार्टीले पाएको भन्दा आधा मत पनि ल्याउन सकिनन् । त्यसबाहेक शंकाको घेरामा रहेको वम काण्ड, सुकुम्बासी बस्तीमा बाँडिएको पैसा लगायत थुप्रै चलखेलले गगनले जितेको स्थानीय बताउँछन् ।

राजनीतिमा तुलनात्मक सहानुभूति बटुलेको विवेकशील साझाले गोबिन्द केसीको अनसनलाई गरेको समर्थनबाट पनि हो । तर तिनै गोबिन्द केसीले अन्तिम समयमा आएर गगनलाई समर्थन गर्र्दैै निर्वाचनमा मत दिन समेत सार्वजनिक अपिल नै गरे । त्यसबेला विवेकशीलले मौनता साँध्यो, जसले पनि गगनलाई जिताउन दुबैको गठवन्धन रहेको देखिन्छ ।

एमालेले काठमाडौंमा पार्टीका तर्फबाट उठाएका प्रतिनिधिसभाका सबै उम्मेद्वारले जित्दा पनि राजनले हारेपछि त्यसका बारेमा गम्भीर समीक्षा शुरु भएको हो । पार्टीले आफ्ना उम्मेद्वारलाई घात गरेर विपक्षीलाई जिताउनेमाथि कारवाही थालिने समेत जनाएको छ । – चक्रपथबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।