भूमिगत अवस्थामा रहदै चुनाव जितेर पनि लुक्न बाध्य रेशमलाल चौधरीको वास्तविकता !

नेपाली सञ्चार माध्यममा अहिले कलाकार रेशमलाल चौधरी अत्याधिक चर्चामा छन् । भूमिगत अवस्थामा रहदै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव अत्याधिक मतले जितेकाले उनको चर्चा चुलिएको छ ।२०७२ साल भदौ ७ गते एक नाबालक र वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जनाको हत्याको मुख्य नेतृत्वकर्ताको आरोप लागेका रेशमलालले चुनाव त जिते तर निर्वाचन आयोगले जितको प्रमाणपत्र भने रेशमलाललाई दिएको छैन ।

जितको प्रमाणपत्र नदिँदा सञ्चारमाध्यमहरुमा निर्वाचन आयोगको आलोचना भइरहेको छ । वरिष्ठ पत्रकार किशोर नेपालदेखि लेखक खगेन्द्र संग्रौलासम्मले सामाजिक सञ्जालमा अयोगको अलोचना गरेका छन् । प्रमाणपत्रकालागि सर्वोच्च अदालतमा दर्ता गर्न खोजिएको रिट अस्वीकृत भएको छ ।टीकापुर हत्याकाण्ड लगत्तै फरार रहेका रेशमले भूमिगत अवस्थामै चुनाव त जिते तर जितलाई कानूनी मान्यता दिलाउन सकिरहेका छैनन् ।

अत्याधिक मतले विजयी भएपछि रेशमप्रति सहानुभूति पनि बढेको छ । रेशमको पृष्ठभूमि के हो भन्ने विषयमा चासो पनि बढेको छ । सरकारले रेशमलाई टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा फरार सूचीमा राखेको छ भने रेशम स्वयंले आफुलाई निर्दोष बताईरहेका छन् । दोषी र निर्दोषको बहसका बीच वास्तविकताको चर्चा गर्न जरुरी हुन्छ ।विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय नहुनु अघि उनले स्वतन्त्ररुपमा चुनाव लडने चाहना राखेका थिए ।

स्वतन्त्र रुपमा चुनाव लडने र फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरी र जनकराज चौधरीको भण्डाफोर गर्दै जित हासिल गर्ने योजना बुनेका थिए रेशमले । तर, फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भैसकेपछि उनी राजपातिर ढल्के र छाता चिन्हमा चुनाव लडे ।प्रहरी प्रशासनले रेशमलाललाई टीकापुर घटनाका मुख्य योजनाकारको सूचीमा राखेपनि रेशम भने टीकापुर घटनाको मुख्य योजनाकार आफू नभई कोही अरु नै भएको र त्यो को – को हो ? छानविन हुनुपर्ने बताउदै आएका छन् ।

उनले टेलिभिजन अन्तरवार्ताहरुमा रामजनम र जनकराजको नाम नलिइकन टीकापुर घटना उनीहरुकै डिजाइनमा भएको संकेत गरेका छन् ।अखण्ड पक्षधर पहाडिया समुदाय र थरुहट पक्षधर थारु समुदायबीचको असमझदारीको परिणाम थियो टीकापुर घटना । संविधान जारी हुने दिन जति नजिकिदै थियो प्रदेशको संरचनाका विषयमा तराई मधेसमा असुन्तुष्टि व्यक्त हुदै थिए । त्यही असन्तुष्टिरुपी आगोमा केही तत्वहरु ध्यू थप्ने योजना बुन्दै थिए ।’

नेपालको संविधान २०७२’ जारी हुनपूर्व एक महिनाअघि भएको टीकापुर घटनाका उद्देश्य के के थिए ? भन्ने विषयमा गहन अध्ययन अनुसन्धान हुन सकेको छैन । रेशमले बेलाबेलामा टेलिभिजन अन्तरवार्ताहरुमा छानविनको माग गरिरहेका छन् । उनले भन्न खोजेको छानविन के हो त ? यस विषयमा ध्यान जान जरुरी छ ।यहाँ भन्न खोजिएको कुरा रेशम निर्दोष हुन् भन्ने होइन । तर, सञ्चार माध्यममा भनिए जस्तो उनी मुख्य योजनकाकार पनि होइनन् । टीकापुरका सन्दर्भमा उनको छवी पहाडिया र थारु समुदायकाबीच स्वच्छ भने छैन । उनी अवसरपरस्त र भडकाउ अभिव्यक्ति व्यक्तिका रुपमा परिचित छन् ।

अहिले उनले कैलाली क्षेत्र नम्बर १ मा प्राप्त गरेको अत्याधिक मत एक संयोग मात्रै हो । २०७० सालको संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको कुनै संगठन थिएन । जनकराज चौधरी एउटा स्कूलमा अध्यापन गराउँथे । बर्षौदेखि गाँउ गाँउसम्म संगठन भएका मुख्य दलका उम्मेद्वारहरुलाई उछिन्दै फोरमका जनकराज विजयी भए ।

उनी विजय हुनुको मुख्य कारण थारु समुदायको एकलौटी भोट थियो । फोरमका रामजनम र जनक कांग्रेसी नेता बनेपछी अहिले कैलाली क्षेत्र नम्बर १ का थारु मतदाताले रेशमलाई चुने । २०७० यता थारु समुदायको मत ठूला दलका विरुद्द प्रकट भएको यो दोश्रो पटक हो ।जातीय नाराले थारुहरुलाई एकिकृत गराएको छ । थरुहट अन्दोलनले थारु समुदायलाई पहाडी विरोधी बनाई दिएको पृष्ठभूमिमा टीकापुर घटना घटेको कुरा नकार्न सकिदैन ।

२०७२ भदौ ७ गते टीकापुर नगरपालिकाको भवनमा थरुहट प्रदेश लेख्ने कार्यक्रम थियो भनेर प्रचार गरिएपनि आन्दोलनको त्यो भीडमा विभिन्न उद्देश्य बोकेका मानिसहरु थिए । पुरा टीकापुरलाई कब्जा गर्ने र ठूलो रक्तपात मच्चाउने तयारी रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।टीकापुरलाई चारै तिरबाट घेरा हाल्ने, बजार भित्र पस्ने र बैक, पसल र घरहरुमा व्यापक लुटपाट मच्चाएर धन संकलन गर्ने मुख्य उद्देश्यका साथ एउटा ठूलो गिरोह तयारी अवस्थामा थियो ।किनभने भदौ ७ अघिका घटनाक्रमले ठूलो लुटपाट र रक्तपातको घटनाको सम्भावनालाई बल पुर्याइरहेको थियो । फिल्डमा नेपाल प्रहरी एक्लै खटेको थियो ।

आन्दोलनकारी भित्रको त्यो हिंसक गिरोहले सशस्त्र प्रहरीका सुदुरपश्चिम प्रमुख डिआइजी षडानन्द चौधरी लगायतलाई प्रभावमा लिएको घटना छानविन संसदिय उपसिमितको प्रतिवेदन मै उल्लेख छ । सशस्त्र प्रहरीको असहयोगका बावजुद पनि वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको टिमले आफ्नो जीवन समाप्त गरेर पनि टीकापुर र त्यहाँका नागरिकको जीवनको रक्षा गरे ।प्रशंग फेरि रेशमलालकै, कस्ता हुन रेशम !२०५२ साल तिर रेशमको परिचय एक कलाकारको थियो । उनी राजधानीको रत्नराज्य क्याम्पसमा एमाले निकट अखिलबाट स्ववियू सदस्य थिए । पश्चिम नेपालका गाँउहरुबाट रत्नराज्य क्याम्पसमा पढन आउने विध्यार्थीको चाप अत्याधिक हुदा भर्ना पाउन कठिन हुन्थ्यो ।

बर्दिया कैलालीका थारु विध्यार्थीले भर्नाका लागि रेशमको सहयोग लिन खोज्दा उनीहरुले सहयोग पाउँदैन थिए । रेशम थारु विद्यार्थीहरुलाई ‘रेस्पोन्स’ गर्दैन थिए । उनमा एक प्रकारको अहं र घमण्ड थियो । रत्नराज्य क्याम्पसमा पढ्दासम्म रेशम पहाडप्याहरुकै वरिपरी घुमिरहे ।माओवादी सशस्त्र विद्रोहका बेला उनको तत्कालीन शाही नेपाली सेनासँंग नजिकको सम्बन्ध थियो ।

माओवादी विद्रोहमा पश्चिम नेपालका थारु समुदायको उल्लेख्य सहभागिता रह्यो ।२०५८ सालपछिको संकटकालका बेला शाही सेनाले रेशमलाई थारु माओवादी नेता तथा कार्यकर्ताको सूचना प्राप्त गर्ने काममा परिचालन गरेको माओवादी नेताहरुको आरोप छ । थारु युवाहरुलाई माओवादीको आरोपमा प्रक्राउ गराउने र फेरि आफै रिहा गराउन सहयोग गर्ने यस्तो दोहोरो चरित्र रेशममा देखिएको कैलालीका माओवादी थारु अगुवाहरु बताउँछन् ।

काठमाडौं छाडेर उनले टीकापुरलाई कर्मथलो बनाए । फूलवारी एफएम सञ्चालन गरे । एफएमको लागि भनेर उनले टीकापुर विकास समितिबाट निशुल्क पाँच कठ्ठा जग्गा हत्याए । जसको मूल्य अहिले २ करोड रुपैयाँ छ । उनी प्रत्येक विहान एफएममा एक घण्टा लगातार राजनीतिक प्रवचन दिन्थे । उनको प्रवचनमा पहाडीया समुदायप्रति विरोध मात्र हुन्थ्यो । थारु समुदायको विकास र समृद्धिको मुख्य वाधकका रुपमा पहाडी समुदायलाई प्रस्तुत गर्थे उनी ।

उनले आफू भन्दा बढी जान्ने मानिस थारु समुदायमा कोही पनि नभएको एफएमबाट प्रचार गर्थे । यूरोप अमेरिकालगायत संसारका अधिकांश देश घुमेको, एक दर्जन बढी विदेशी भाषा जानेको, शाही सेनाका जर्नेल , प्रहरीका आइजिपी, मन्त्री, प्रधानमन्त्रीदेखि राजासम्म उठबस रहेको कुरा एफएममार्फत प्रशारण गर्थे रेशमले ।शाहीकालमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि कथित विज्ञापन प्रकाशन गर्दा रेशम पनि एक उम्मेद्वार थिए ।

उनी अहिले सञ्चारमाध्यममा अन्तरवार्ता दिदा आफूलाई पत्रकार भएको बताउने गर्छन् । उनी खेलाडी, पत्रकार होइनन् । रेडियो सञ्चालन गरेका छन् सञ्चार व्यवसायी हुन् र विगतमा कलाकार थिए ।उनले विगतमा तत्कालीन प्रधानसेनापती प्रज्वलशमशेर जबराकी पत्नी सिन्धु राणाको एल्बममा संगीतको काम गरेका थिए । त्यसपछि उनी राणा परिवारसंँग नजिकिए । दरबारसंँग पनि रेशमले सम्बन्ध बनाएका थिए ।पहाडेहरुप्रति थारुमा घृणा पैदा गर्न सके मात्र आफू नेता बन्न सकिन्छ भन्ने कुरा रेशमले बुझेका थिए ।

त्यसकालागि उनको फूलबारी एफएम राम्रो माध्यम बन्यो । टीकापुरमा उद्योग वाणिज्य संघले प्रत्येक बर्ष व्यापार तथा पर्यटन मेला सञ्चालन गर्दा रेशमले त्यसको विरुद्दमा वाणिज्य संघको मेला भन्दा अघि नै फूलवारी व्यापार मेला लगाउँथे ।उनी थारु समुदायका हुँदाहँुदै पनि अरु थारुहरु आफू बराबर ठान्दैन थिए । थारु समुदायमा उनको पहिचान साथीको नभएर शोषक, सामन्त थारुको जस्तो तडकभडक थियो । उनी जवरजस्त ढंगले थारुहरुमध्ये आफू उत्कृष्ट थारु भएको बेला बेलामा प्रमाणीत गर्न खोज्थे ।

टीकापुरमा अछामबाट बसाई सरेका पहाडे समुदायको बर्चश्व छ । टीकापुर आवास क्षेत्रको विकासमा पतञ्चायतकालीन मन्त्री खड्गबहादुर सिंहको योगदानलाई मान्ने र नमान्ने दुई थरी पहाडेहरु टीकापुरमा छन् । बर्षौदेखि सिंहको योगदानको बहस चलिरहेका बेला रेशम एक्लैले टीकापुरमा मन्त्री खड्गबहादुर सिंहको शालिक स्थापना गरे र उक्त ठाँउलाई खड्ग चोक भनेर नामाङ्कन गरे । त्यसले एकथरी अछामीहरु रेशमसंग रिसाइरहे ।

रेशमको प्रतिस्पर्धा दुई पक्षसँंग थियो । एक थारु समुदायबाट विभिन्न पार्टीमा रहेका नेताहरु अर्को टीकापुरका पहाडे त्यो पनि अछामी नेताहरु । टीकापुरको परिवेशमा थारु र पहाडेहरु बर्षौदेखि सौहाद्रपूर्ण तरिकाले एकआपसमा मिलेर बसेका समुदाय हुन् ।माओवादी सशस्त्र विद्रोहले दुई समुदायबीच केही दूरी बढाएको देखिन्छ भने बाँंकी रेशम र उनको एफएम रेडियोले । पहाडे समुदायलाई चिढाउन उनी हेल्मेट नलगाई मोटरसाइकलको ‘लेगगार्ड’मा पेस्तोल झुण्ड्याएर टीकापुर बजारमा घुम्थे ।

२०७२ साउनको अन्तिम साता रेशमले टीकापुरमा आयोजना गरेको आमसभामा उपेन्द्र यादव, राजेन्द्र महतो, अमरेसकुमार सिंह र देव गुरुङले सम्बोधन गरे । थारु समुदायका हजारौ मानिसहरुलाई ती नेताहरुले टीकापुरबाट पहाडेहरुलाई लखेटनु पर्ने भड्काउ भाषण गरे । उक्त आमसभाको अध्यक्षता रेशमले नै गरेका थिए । तर अहिले रेशम नेताहरुले बोलेको कुराको जिम्मेवारी लिन तयार हुदैनन् ।प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणपछि सत्ताबाट बाहिरिएको माओवादीले सुरु गरेको नागरिक सर्वोच्चताको आन्दोलनकाक्रममा रेशमले भारतीय राजदूत राकेश सुदलाई टीकापुर निम्ता गरे ।

माओवादी कैलालीले सुदलाई टीकापुर नल्याउ गरेको आग्रहपनि उनले सुनेनन् । टीकापुरमा सुदविरुद्दको प्रदर्शनमा दर्जनौ माओवादी नेता तथा कार्यकर्ताले पुलिसको कुटाई खाए ।विगतका घटनाक्रमले रेशमलाई अहिले टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा न्यायको कठघरामा उभ्याएको छ । उनले विगतमा गरेका उटपट्याङ कार्यलाई टीकापुर घटनासंग जोडेर प्रहार गरिँदै छ ।उनी २०६४ सालको संविधान सभाको निर्वाचनमा कैलाली १ बाट उम्मेद्वार भए र करिब एक हजार भोट पाए त्यसपछि २०७० सालमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीबाट कैलाली १ बाटै उम्मेद्वार भए र २ हजार ७ सय भोट पाए ।

त्यसपछि अहिले प्रतिनिधिसभामा ३४ हजार ३ सय ४१ मत पाएर विजय भएका छन् ।टीकापुर घटना पछि फरार रहेका उनी भारतमा बसिरहेका छन् र सञ्चारमाध्यमहरुमा देशको कानुन तथा प्रशासनयन्त्रलाई चुनौति दिइरहेका छन् । उनी विभिन्न आश्वासन बाँडेर सोझासाझा थारुहरुको भोट पाए विजयी त भए तर वरिष्ठ प्रहरी उपरीक्षक सहित आठजनाको दिन दहाडै भएको हत्याको मुद्दाबाट कसरी विजय हुनेछन् । प्रतीक्षाको विषय बनेको छ । – नेपाल आजमा प्रकासित बसन्त क्षेत्रीको प्रस्तुति ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।