आफूलाई फसाउने प्रयास गरेको आरोप लगाऊँदै नवराज सिलवालले भने,- प्रकाश अर्यालले ममाथि छानबिन गर्न पाउँदैनन्
काठमाडौं । नेकपा(एमाले)का सांसद तथा पूर्वडिआईजी नवराज सिलवालले आफुमाथि राजनीतिक प्रतिशोधस्वरुप छानबिन गर्न खोजिएको आरोप लगाएका छन्। प्रधानमन्त्री शेर बहादुर देउवा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधस्वरुप आफुलाई फसाउने प्रयास गरिरहेको उनको आरोप छ ।
हिमालयन टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनले आईजिपीले आफुमाथि छानबिन गर्न नपाउने बताए । ‘ममाथि प्राकृतिक न्यायको सिद्धान्तविपरीत छानबिनको प्रयास भइरहेको छ,’ उनले भने,‘उनी मेरो विपक्षी भएकाले छानबिन गर्न पाउदैनन् ।’छुट्टै निकायबाट यसको स्वतन्त्र अनुसन्धान गराउन उनले माग गरेका छन्।
सिलवालले पेश गरेको कार्यसम्पादन मूल्याङकनको फाइल कीर्ते भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ । सिलवालले अन्र्तवार्तामा अनलाइनहरुमा आएका डकुमेन्ट रिफरेन्स डकुमेन्टका रुपमा अदालतमा पेश गरेको बताए । आईजिपी नियुक्तिसम्बन्धि मुद्दामा पेश भएको एकथरी डकुमेन्ट नक्कली भएको भन्दै सर्वाेच्चले छानबिनको आदेश दिइसकेको छ।
‘गृहमन्त्री बन्न अयोग्य छैन’
सिलवालले गृहमन्त्री बन्नेबारे पार्टीले निर्णय गर्ने बताए । ‘गृहमन्त्री बन्न म अयोग्य छैन,’ उनले भने,‘पार्टी अध्यक्षज्यूले भाषणमा भन्नुभएको रहेछ, पार्टीले जिम्मेवारी दियो भने सम्हाल्न सक्षम छु ।’
अन्र्तवार्तामा उनले आफुलाई आईजिपी बन्न नदिएकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई धन्यवाद दिए । देउवाकै कारण आफु सांसद भएको भन्दै उनले धन्यवाद दिएका हुन् । – दृष्टी न्यूजबाट


