रानीपोखरी विवादमा मेयर शाक्यले सोधे, – जनता भनेको को ?

काठमाडौं । २०७४ भदौ २२ मा काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा राखेको ‘जनप्रतिनिधिका १ सय दिन’ कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी एउटै मञ्चमा उपस्थित भए ।

काठमाडौं महानगरपालिकाको यो मात्र एउटा यस्तो दुर्लभ कार्यक्रम थियो जहाँ मेयर र उपमेयर एउटै मञ्चमा उपस्थित थिए ।

त्यस मञ्चमा शाक्यले मिडियामाथि नै प्रश्न उठाउँदै भने, “मिडियाहरु काठमाडौंका मेयर र उपमेयरबीच खटपट छ भनी लेखिरहेका छन्, तर यी सबै हल्ला मात्र हुन् । खटपट भए हामी यसरी सँगै हुन्थ्यौं ?” यो सुनेर उपमेयर खड्गी मुसुक्क हासिन् मात्र, कुनै प्रतिक्रिया जनाइनन् ।

मेयर र उपमेयरबीचमा विवाद सुरु भएपछि काठमाडौं महानगरमा कामले गति लिन नसकेको भन्दै आइरहेका समाचारको खण्डन गर्दै उनले यस्तो भनेका थिए ।
निर्वाचित भएदेखि नै उनीहरुबीच एउटै स्वर आजसम्म हुन नसकेको महानगरका कर्मचारी बताउँछन् । महानगरले गर्ने कुनै पनि निर्णयमा उपमेयरलाई बेवास्ता गरिएका कारण समस्या देखिएको महानगरकै कर्मचारी बताउँछन् ।

किन भइरहन्छ त खटपट ?

मेयर शाक्य र उपमेयर खड्गीबीच बारम्बार भइरहने खटपटको चुरो शाक्यको ‘एकलकाँटे’ स्वभाव नै रहेको कर्मचारीको दाबी छ । महानगरका एक कर्मचारी भन्छन्, “स्पेनको मड्रिड सहरकी मेयर मानुएला कारमेनासँग भेट गरी भगिनी सम्बन्ध गाँस्न होस्, चाहे बागदरबार र काष्ठमण्डप पुनर्निर्माणका विषयमा होस् । शाक्यले यस्तै स्वभाव प्रदर्शन गर्ने गरेका छन् । उनले एकलौटी गर्न खोजेका कारण नै पटक पटक समस्या उत्पन्न भइरहेको छ ।”

रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग गरिएको भन्ने बाहिरबाट सुनेपछि आइतबार बिहानै उपमेयर खड्गीले मेयर शाक्यलाई टेलिफोन गरी बुझ्ने प्रयास गरिन् ।
पुनर्निर्माणमा सिमेन्ट प्रयोग गरी ढलान उठाएकोप्रति पुरातत्वविद र स्थानीयबाट असन्तुष्टि आइरहेकाले यसबारे छलफल गर्नुपर्ने धारणा खड्गीको थियो ।

उनले छलफलका लागि समय मिलाउन पनि मेयरसँग आग्रह गरेको बाह्रखरीसँगको कुराकानीमा पनि बताइन् । मेयर शाक्यले आइतबार साँझ रानीपोखरी पुनर्निर्माणबारे छलफल त गरे तर उपमेयरलाई कुनै जानकारी नै दिएनन् ।

सपछि उपमेयर खड्गीले रानीपोखरी पुनर्निर्माणका पछाडि ‘केही छ’ भन्दै यसको पुनर्निर्माण तत्काल रोक्ने बताइन् । “रानीपोखरी र काष्टमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले कति बजेट छुट्याएको छ भन्नेसम्म मेयरले मलाई जानकारी गराउनुभएको छैन,” उपमेयर खड्कीले भनिन् ।

मंगलबार बिहानै उपमेयर खड्गी स्थानीयसँग रानीपोखरी पुनर्निर्माण अनुगमनका लागि पुगिन् । त्यसपछि उनीसँगै गएका स्थानीयले कंक्रिट प्रयोग रोकेर चुना, सुर्की लगायतको प्रयोग गरेर परम्परागत शैलीमा निर्माण गर्नुपर्ने माग गर्दै गेटमा ताला लगाइदिए ।

मेयर शाक्यले भने उपमेयरकै नेतृत्वमा पुगेर ताला लगाइएको भन्दै केहीबेरपछि गएर ताला फोडेर काम सुचारु गर्न निर्देशन दिए । त्यसपछि विवादको रुप झनै छताछुल्ल भयो । उपमेयर खड्गीले भने आफूले ताला नलगाएको तर आफूसँगै गएका स्थानीयले लगाएको बताएकी छन् ।

मेयर र उपमेयर फरक राजनीतिक पार्टीबाट निर्वाचित भएका कारण पनि लगातार विवाद देखिएको महानगरका कर्मचारी बताउँछन् । मेयर शाक्य एमालेबाट निर्वाचित हुन् भने खड्गी नेपाली कांग्रेसबाट उमेदवार थिइन् ।

“उनीहरु पार्टीगत रुपमा अलग रहेकाले वैचारिक धार फरक पर्नु अस्वभाविक होइन,” एक कर्मचारी भन्छन्, “तर, पदीय जिम्मेवारी र हैसियतका आधारमा शाक्यले एकलौटी निर्णय गर्नु र उपमेयरलाई वास्ता नगर्नुले शाक्यको एकलकाँटे स्वभाव उजागर गरेको छ ।”

तर मेयर शाक्यले रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले यसबारेमा आफूले उपमेयरमा पनि सँगै बसेर छलफल गरौं भनेर पटक पटक आग्रह गरेको बताए । “तर उहाँ आइदिनुभएन,” उनले भने, “व्यक्तिले के भन्छन् ठुलो कुरा भएन । तर सबैसँग समन्वय गरेर महानगरपालिकाले काम गर्छ । रानीपोखरी पुनर्निर्माणमा यसको साइज घट्छ भनेर हल्ला गरिएको छ । त्यो साचो होइन । एक इन्च पनि घट्दैन ।”

उपमेयरको आक्रोश

मंगलबार नेपाल रेडक्रस सोसाइटीले क्षेत्रपाटीमा आयोजना गरेको एक कार्यक्रममा मेयर शाक्यले उपमेयर खड्गीलाई प्रश्न गरे, “हरेक कार्यक्रममा मैले तपाईंलाई लिएर हिँड्ने ?”

खड्गीले मेयरको प्रश्न र शैलीका बारेमा बाह्रखरीसँग कुरा गर्दै भनिन् “मैले उहाँलाई हरेक कार्यक्रममा सँगै लिएर हिँड्नुस् भनेकी छैन । महानगरका ठूला निर्णयहरुबारे मैले पनि थाहा पाउनुपर्छ । हरेक निर्णय जनताले थाहा पाउनुपर्छ मात्र भनेकी हुँ । हरेक गतिविधिको जनताले थाहा पाउनु जनताको अधिकार पनि हो ।”

उपमेयर खड्गीले रानीपोखरी मात्र होइन काष्ठमण्डप पुनर्निर्माणबारे पनि मेयर शाक्यले आफूसँग कुनै कुरै नगरेको बताइन्, “रानीपोखरी र काष्टमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले कति बजेट छुट्याएको छ मेयरले मलाई जानकारीसम्म गराउनुभएको छैन ।”

मेयर वा उपमेयरमध्ये एक महिला हुनैपर्ने संवैधानिक व्यवस्था रहेको भए पनि मेयरको यस्तो घमण्डी स्वभावले आफूलाई महिला भएकै कारण वास्ता नगरेको महसुस भएको उनले बताइन् ।

“महानगरका निर्णयबारे मसँग कुनै कुरै हुँदैन । म महिला भएकै कारण उहाँले यो व्यवहार देखाउनुभएको हो कि भन्ने मलाई महसुस भएको छ । उहाँले यस्तै घमन्डी स्वभाव देखाउँदै जानुभयो भने उहाँको स्वभावले उहाँलाई नै पछि पार्नेछ,” खड्गीले भनिन् ।

अहिलेसम्मको उपलब्धी शुन्य !

स्थानीय निर्वाचनअघि काठमाडौंको विकासका लागि विभिन्न आश्वासन बाँडिए । त्यहीअनुसार घोषणापत्र पनि तयार भयो । स्मार्ट सिटी, साइकल सिटी, ग्रिन सिटी, मोनेरेल, घरघरमा करेसाबारी, धुवाँधुलोमुक्त नगर, ट्राफिक जाममुक्त सहरलगायतका सयौं आश्वासन दिइयो ।

तर अहिलेसम्म न त सडकका खाल्डा पुरिएका छन् न त पोलबाट लत्रिएका बिजुलीका तार मिलाइएको छ । निर्वाचित भएको ८ महिना बितिसक्दा पनि कुनै काम हुन नसकेको भन्दै मेयर शाक्यको आलोचना भइरहेको छ ।

रानीपोखरीमा लगाइएको ताला तोडेर भित्र पस्ने क्रममा स्थानीयहरु र मेयर शाक्यबीच केहीबेर विवाद भयो,एक युवाले रानीपोखरी भित्र छिर्न पाइदैन र जनताले ताल्चा लगाएका छन् भनेपछि मेयर शाक्यले सोधे -‘जनता भनेको को ?’ –बाह्रखरीबाट

हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।