माओवादी निकट पत्रिकाले लेख्यो,- सिलवाललाई राजीनामा दिन लगाएर बामदेवलाई उम्मेदवार बनाउन लागियो

काठमाण्डौ । कुनैबेला नवराज सिलवाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सबैभन्दा प्रिय प्रहरी अधिकारी थिए । लाजिम्पाटमा पुगेर सुरक्षाको अवस्थाबारे मात्र होइन मुलुकमा भइरहेका ताजा राजनीतिक घटनाक्रमको समेत उनले प्रचण्डलाई ब्रिफिङ गर्ने हैसियत राख्थे ।

प्रचण्ड–सिलवाल सम्बन्ध सुमधुर रहेको विषय प्रचण्डको निजी सचिवालयदेखि माओवादी केन्द्रका उच्च तहका नेतासमेत जानकार थिए । प्रचण्ड र तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग न्यानो सम्बन्ध भएकै कारण सिलवालले प्रहरीभित्रको चुनौतीपूर्ण र आकर्षक मानिने केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुख बन्ने अवसर पाए । जबकी सिलवाललाई तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल कुनै पनि हालतमा सिआईबी पठाउन चाहन्नथे ।

सीआईबीमा रहेर सिलवालले आफूलाई अब्बल अधिकृतका रुपमा चिनाए । राजनीतिका ‘बिग बोस’ हरुको सेटिङमा भित्रिएको अवैध सुन पक्रनेदेखि दर्जनौं लोकप्रिय काम गरेर सबैको मन जिते । त्यतिमात्र होइन रातो पासपोर्ट प्रकरणमा उनले प्रचण्डले भनेअनुसार काम गरे । तर, उनै प्रचण्ड प्रधानमन्त्री हुँदा भने प्रहरी महानिरीक्षकको नियुक्तिमा प्रमुख सत्तासाझदेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डमाथि हाकी भए । सिलवाललाई प्रहरी महानिरीक्षक बनाउने भित्री चाहनाबका बाबजुद देउवाले सरकार ढाल्नेसम्मको धम्की दिएपछि प्रचण्डले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरे । सिलवाल प्रचण्ड नेतृत्वको सरकारले गरेको निर्णयविरुद्ध अदालत गए ।

त्यही अदालतले चन्दको नियुक्त खारेज गर्यो । सिलवालकै कारण प्रकाश अर्यालको भाग्य चम्यिो र उनी महानिरीक्षक बन्न सफल भए ।
अदालतको आदेशपछि पनि सिलवाललाई आईजिपी बनाउने ठाउँ थियो । तर, प्रचण्डले पुनः देउवाकै दबाबमा प्रकाश अर्याल रोजे । अदालतको निर्णपछि आफ्ना निकट विश्वासपात्र माओवादीका प्रभावशाली नेता वर्षमान पुनले सिलवाललाई आईजिपी बनाउन प्रस्ताव गर्दा प्रचण्डले अस्वीकार गरेका थिए । प्रकाश अर्याल आईजिपी भएपछि सिलवालमाथि छानबिन सुरु गरे । छानबिन समिति नै गठन गरे र कार्यसम्पादन मूल्याङ्कन किर्ते प्रकरणमा दोषी भएको भन्दै उनलाई पक्राउ गरेर थुनामा राख्न समेत निर्देशन दिइयो । अदालतले सिलवाललाई थुन्न नपाइने आदेश दियो ।

महानिरीक्षक बन्ने अवसरबाट बञ्चित भएपछि सिलवालले प्रहरीको अतिरिक्त महानिरीक्षक बन्ने चाहना राखेनन् बरु प्रहरी सेवाबाट राजीनामा दिए । प्रहरी छाडेपछि सिलवाल एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरे । एमालेसँगको उनको साइनो धेरै पुरानो र घनिष्ठ थिएन र तर,एमाले अध्यक्ष ओलीले सिलवालमाथि अन्याय भएको भन्दै सरकारको चर्को आलोचना गरेपछि उनी ओलीसँग नतमस्तक भए । ओलीले व्यवस्थापिका–संसदलको बैठकमा विशेष समय लिएरै सिलवाल प्रकरणको विरोध गरेका थिए ।

रोचक त केछ भने एमाले– माओवादी केन्द्र संयुक्त सरकारका प्रधानमन्त्री थिए ओली । तीनै ओलीलाई प्रहरीमा नेतृत्वको लफडा हुन सक्ने सम्भावित खेललाई मध्यनजर गरेर सिलवाललाई वरियताका आधारमा एआईजी पदको सिर्जना गरेर बढुवा गरौ भन्दा ओलीले तत्कालिन अवस्थामा आलटाल गरेका थिए । आज तिनै वली सिलवालमाथि अन्याय भएको भन्दै चर्को भाषण गरिरहेका छन् ।

अर्को सत्य के हो भने सिलवालले ओलीकै बलमा ललितपुर–१ बाट बाट टिकट प्रतिनिसभा सदस्य जितेका हुन । बहालवाला अर्थराज्यमन्त्री काँग्रेसका उदयशमशेर राणालाई हराएर सांसद बनेका सिलवालमाथि अहिले पनि प्रहरीले दुःख दिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा,आईजीपी प्रकाश अर्यालदेखी मुख्यसचिव लोकदर्शन रेग्मीले समेत उनलाई किर्ते प्रकरणमा दोषि पुष्टि गराउने प्रयास जारी राखेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता एंवम् प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल प्रमुख रहेको समयबद्ध साप्ताहिक पत्रिकाले त सिलवाललाई राजीनामा गर्न लगाएर उनको ठाउँमा बर्दिया–१ बाट काँग्रेसका सञ्जय गौतमसँग चुनाव हारेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई चुनाव उठाउनुपर्ने समाचार प्रकाशित गरेको छ ।

सिलवाल प्रकरण प्रहरीको मनोबल बढाउने सर्वोच्चको आदेश शिर्षकमा उक्त पत्रिकाले लेखेको छ –सिलवाल कुनै पनि बहानामा प्रहरीको मनोबल घटाउने योजनामा छन् । यत्रो वर्ष काम गरेको संस्थाप्रति उनको कहीं कतै सम्मान देखिंदैन । त्यही भएर उनलाई कारबाही हुनुपर्ने र त्यसो भएमा सिलवाल कारबाहीबाट बच्न नसक्ने बताउछन् ।

उक्त पत्रिकाले अगाडि लेखेको छ, ‘त्यस अवस्थामा सिलवालको सांसद पद धरापमा पर्छ । किनकी उनीमाथि किर्ते फौजदारी प्रकरणमा कारबाही भयो भने उनी सांसद बन्न पाउने छैनन् । तर, यस प्रकरणमा ठूलाठूला खेलहरु भइरहेको उक्त पत्रिकाको दाबी छ ।

पत्रिकाले एमालेभित्रै सिलवाललाई कारबाही भएमा सो स्थानमा एमाले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठ्न थालेपछि सिलवालको चाहना र योजना विवादमा परेको दाबी गरिएको छ ।

यता, कानुनविदहरु भने सिलवाललाई उक्त प्रकरणमा कुनै कारबाही हुन नसक्ने बताउँदै आएका छन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पूर्वाग्रही तरिकाले प्रहरीले सिलवामाथि अनुसन्धान गरिरहेको र त्यो नियमसंगत नभएको दाबी गरे । – काठमाण्डूटुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖