पार्टी अध्यक्षसँग झगडा गर्दा मन्त्री पद चट !, बर्खास्तीमा परेका मन्त्री गिरी भन्छन्,- कमल थापा निरंकुश भए

काठमाडौं । सहरी विकासमन्त्री दिलनाथ गिरीले पार्टी अध्यक्ष कमल थापाको निरंकुश सोचका कारण आफू बर्खास्तीमा परेको बताएका छन्। बिहीबारको मन्त्रीपरिषद् बैठकमा जुहारी चलेको २४ घन्टा बित्न नपाउँदै बर्खास्त भएका गिरीले भने, ‘बर्खास्त गरेको कुरा मिडियाबाट थाहा पाएको छु, मलाई पार्टीले आधिकारीक जानकारी गराएको छैन। यो सब पार्टी अध्यक्ष कमल थापाको निरंकुशता र सामन्त सोचको उपज हो।’

पार्टीगत निर्णय नगरी अध्यक्ष थापाले आफूलाई बर्खास्त गरेको आरोप गिरीको छ। ‘प्रजातन्त्रमा सबैले आआफ्नो विचार र गुनासा राख्न पाउने अधिकार छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा चरम निरंकुश बनिसक्नु भएको छ। यो सब त्यसकै परिणाम हो।’

बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव पेश गरेपछि उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले आपत्ति जनाएका थिए। थापाले पार्टी निर्णय विपरित मन्त्री गिरीले सचिव परिवर्तनको प्रस्ताव राखेको भन्दै तत्काल मन्त्रिपरिषद् बैठकमै राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री गिरीले राजीनामा दिन आफूलाई आपत्ति नभएको तर, राजीनामा प्रधानमन्त्रीलाई दिने जवाफ फर्काएका थिए।

मन्त्री गिरीले आफ्नो प्रस्तावप्रति आपत्ति जनाएपछि पार्टी अध्यक्ष कमल थापालाई झोक्किएर भनेका थिए, ‘मलाई राजीनामा दिन आपत्ति छैन। तर, राजीनामा तपाईंलाई होइन प्रधानमन्त्रीलाई बुझाउने हो। के तपाईंलाई चाहिँ मन्त्री बनिराख्नका निम्ति चुनावमा जनताले जनादेश दिएका छन् ?’

यही विवादमा रुष्ट बनेका थापाले मन्त्री गिरीलाई शुक्रबार नै बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका हुन्। देउवा मन्त्रिपरिषद्मा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा छन्।

पार्टी अध्यक्षले बर्खास्त गर्न पत्र पठाएको खबर मिडियाबाट थाहा पाएका गिरी शुक्रबार मन्त्रालय नगई घरमै बसेका छन्। आज कता हुनुहुन्छ भन्ने अन्नपूर्णको जिज्ञासामा बर्खास्तीमा परेका मन्त्री गिरीले भने, ‘घरमै बसेको छु।’ आज मन्त्रालय जानु भएन ? ‘म गइनँ’, गिरीले छोटो जवाफ दिए।

गिरीले पार्टीको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै नाम प्रजातान्त्रिक भएपनि पार्टीभित्र प्रजातन्त्रको अभ्यास हुन नसकेको आरोप लगाए। ‘पार्टीभित्र कुनै आधिकारीक निर्णय हुँदै हुँदैन। प्रजातान्त्रिक पार्टीमा बहस हुन्छ। तर, राप्रपामा छलफल पनि हुँदैन’, गिरीले भने, ‘राप्रपा भनेको कमल थापाको निरंकुशताको पराकाष्ट हो।’ – अन्नपूर्ण अनलाइनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।