देउवाले भने,- अन्तर्घात गर्नेलाई ठेगान नलगाएकै कारण निर्वाचनमा लज्जास्पद हार भयो

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई ठेगान नलगाएकै कारण संसदीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देउवाले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही नभएकै कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अन्तर्घात झन् बढेको बताएका हुन् । देउवाले, ‘आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले कसरी मुलुकमा राष्ट्रिय मेलमिलाप गर्न सक्छ’ –भने ।

निर्वाचनमा प्रत्यक्षतर्फ पार्टी हार्नुका कारण पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ समिति बनाउने सुनाउदै उनले अगाडि थपे, ‘अब निष्पक्ष छानविन हुन्छ, अन्तर्घात गर्नेलाई कडा कारबाही गरिन्छ ।’

प्रधानमन्त्री देउवाले समानुपातिकतर्फको मतपरिणाम हेर्दा काँग्रेस नहारेको बताए । उनले दुई कम्युनिष्ट पार्टी एक भएर लडेको प्रतिकूल अवस्थामा पनि काँग्रेस दोस्रो शक्ति भएको धारणा राखे ।

२००७ देखि मुलुकका हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्वमै सफल भएको बताउँदै प्रधानमन्त्री देउवाले अहिले पनि काँग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयनमा गएको छ, भने ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थायित्वका लागि युवा विद्यार्थीको सक्रियताको खाँचो रहेको औँल्याउँदै ‘निर्वाचनमा पार्टीले हार व्यहोरे पनि काँग्रेसको सिद्धान्त कहिल्यै हारेको छैन’– भने ।

उनले पार्टीमा अनुशासनहीनता बढेको र निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको पनि बताए ।
पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रियताका सवालमा महामानव विपी कोइरालाले कहिल्यै कसैसँग सम्झौता नगरेको स्मरण गर्दै राष्ट्रियता बलियो भयो भने मात्र नागरिकका हक–अधिकार संरक्षण हुने बताए ।

नेता बालकृष्ण खाँणले नेविसंघ बलियो भए मात्र काँग्रेस बलियो हुने र काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्रको सुदृढीकरण हुने धारणा राखे ।

पूर्वमन्त्री एवं काँग्रेस नेता प्रकाशशरण महतले पार्टी भित्रका आलोचना, समालोचना पार्टी भित्रका मञ्चहरुमा मात्र गर्न आग्रह गर्दै आगामी दिनमा पार्टीको जनमत बढाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले काँग्रेस आगामी दिनमा शुद्धीकरण गरी सुदृढीकरणमा लाग्नुपर्ने सुझाव दिए ।

नेविसंघका अध्यक्ष नैनसिंह महर, पूर्वअध्यक्षहरु विपिन अधिकारी, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतले पार्टीको भावी रणनीतिका बारेमा बृहत् समीक्षा गरी पार्टी सुदृढीकरणको आवश्यकतामा जोड दिए ।

काँग्रेस संस्थापक नेता विपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश फर्केको दिनको अवसर पारेर काँग्रेसले मुलुकभर विभिन्न कार्यक्रम गरी आइतबार मेलमिलाप दिवस मनायो । – हाम्रोकुराबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।