सुन्दै अचम्म लाग्ने : अमेरिका बसेर जाजरकोटको जागिर !

जाजरकोट । सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक वर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर पकाइरहेको पाइएको छ। स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला पारेको हो।

उनी गतवर्ष अमेरिका गएका थिए। २०७३ सालको अन्त्यसम्म उनको साढे १९ दिन संचित बिरामी बिदा थियो। २०७४ बैशाखदेखि यता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका थिए। यस वर्ष बैशाख २५ देखि जेठ चार गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए। पुनः कार्तिक ६ गतेदेखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ।

जिल्ला अस्पतालमा कार्यरत डा. निशराज बस्नेतको यस वर्षको हाजिरी विवरण। तस्बिर : राजेन्द्र कार्की

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन्। घर बिदा लिइसकेर फेरि हाजिर भएपछि मात्र अर्को घरबिदाको बाटो म्याद लिन पाइन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवालसँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए।

साढे आठ महिना बितिसक्दासम्म जम्मा २७ दिन हाजिरी छ तर सट्टा बिदा ( थप काम गरेको ) मात्र दुई महिनाभन्दा बढी लिएको देखिन्छ, सहायक प्रजिअ शर्माले भने, ‘हामीले हाजिरी रजिष्टर झिकाएर अनुसन्धान गरिरहेका छौं।’

निजामति सेवा ऐन र नियमावली अनुसार हाजिरी रेकर्ड नभएको पाइए विभागीय कारवाहीको लागि सिफारिस गर्छौं उनले भने ‘प्रारम्भिक अध्ययनबाट डा. बस्नेतले जागिर जोगाउनकै लागि सबै हर्कत गरेको देखिन्छ।’ अघिल्लो बर्षको संचित बिदा साढे १९ दिन र यस वर्षको प्रतिमहिना साढे दुई दिनका दरले पाकेको साढे २२ दिन घर विदाले कति धान्छ।’ अस्पतालको दरबन्दी होल्ड गरेर अमेरिका बस्दा सेवा प्रवाहमा समस्या देखिन्छ। काम नगर्ने भए राजिनामा दिएर जान सहायक प्रजिअ शर्माको सुझाव छ। अस्पतालका निमित्त प्रमुख डा. कृष्ण शाहले स्थानीय प्रशासनले डा. बस्नेतका विषयमा सोधपुछ गरिरहेको र आवश्यक विवरण उपलब्ध गराइएको बताए।

यसैबीच, जिल्ला अस्पताल प्रमुख डा. चाँदनी जैसवालले काम नगरेको अवधीको पनि भत्ता लिइरहेको खुलासा भएको छ। उनी दन्तरोग सर्जन हुन्। दन्तरोगका बिरामी इमरजेन्सीमा भर्ना हुन नआउने भएपनि अन्य चिकित्सकसरह इमरजेन्सीमा रात्री सेवा गरेको भन्दै दुई वर्र्षदेखि थप भत्ता लिइरहेको एक चिकित्सकले बताए। राजेन्द्र कार्की / अन्नपूर्ण पोष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।