श्रीमान् !, हामीलाई पनि मानहानी मुद्दा लगाइयोस् : गगन थापा (भिडियो सहित)
काठमाडौं । पूर्व स्थास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका नेता गगनकुमार थापाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई लगाइने मानहानीको मुद्धा आफूहरुलाई पनि लगाउन चुनौती दिएका छन् । सर्वोच्च अदालतले मानहानीको अभियोगमा डा केसीलाई पक्राउ गरी सर्वोच्च अदालतमा उपस्थित गराइएपछि थापाले चुनौती दिँदै आफूहरुलाई पनि मानहानीको मुद्धा लगाउन चेतावनी दिएका हुन् ।
केसीलाई अदातलमा लगिएकै बेलामा पक्राउको विरोधमा ऐक्यवद्धता जनाउँदै माइतीघर मण्डलामा नेता थापाले आफूले शाही कालका बेलामा पनि पूर्व राजा ज्ञानेन्द्रको सरकारबाट राजद्रोहको आरोप खेपेको सम्झना गर्दै नीतिभित्र चलेका मानिसलाई जिस्क्याउने काम नगर्नसमेत चेतावनी दिएका छन् ।
उनीसहितका नेताहरुले आफूहरु पनि भ्रष्टाचार र वेथितिविरुद्ध लडिरहने भन्दै अदालतलाई पनि मानमर्यादामा रहन आग्रह गरे ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अपरान्हदेखि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका गोविन्द केसीलाई सर्वोच्चको आदेशमा सोमबार नै पक्राउ गरिएपछि त्यसको विरोधमा स्वतस्फूर्त रुपले ऐक्यवद्धता जनाइएको हो ।
माइतीघर मण्डलामा भएको ऐक्यवद्धतामा थापासंगै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक मण्डलका रविन्द्र मिश्रसहित नागरिक सामाजका अगुवाहरुसमेत उपस्थित भइ ऐक्यवद्ध भएका छन् ।
उनीहरुले भ्रष्टाचार र वेथितिविरुद्ध एक हुन पनि सबैलाई आग्रह गरेका छन् । उनीहरुले डा केसीको दृढ इच्छाशक्तिलाई सलाम भनेका छन् ।


