देउवा पत्नी ‘आरजुको संस्था’ भन्दै आन्दोलनकारीले रुडुक कार्यालयमा आगो लगाए
डोटी, माघ ४ । प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाको इसारामा ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिएको भन्दै आन्दोलनकारीले रुडुक नेपालको कार्यालयमा आगजनी गरेका छन् ।

आन्दोलनकारीले बिहीबार डोटीको सदरमुकाम सिलगढीमा रहेको ग्रामीण विकास तथा महिला एकता केन्द्र (रुडुक)मा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।
आरजु राणा उक्त संस्थाको केन्द्रीय अध्यक्ष रहेको भन्दै उग्र बनेका आन्दोलनकारीले आगजनी गरेका हुन् ।
आन्दोलनकारीले रूडुकको शाखा कार्यालयमा रहेका सामान तथा कागजातहरु जलाइदिएका छन् ।
बिहीबार बेलुका करिब साढे ५ बजेतिर रुडुक कार्यालय तोडफोड गरी उनीहरुले आगजनी गरेका थिए ।
आन्दोलनकारीले बिहीबारै डोटीमा रहेका विभिन्न सरकारी कार्यालयका तीनओटा गाडी, एउटा मोटरसाइकल, क्षेत्रीय प्रशासन कार्यालयलगायतका क्षेत्रीय कार्यालयहरु र प्रहरी बिटमासमेत तोडफोड गरेका छन् ।
आन्दोलनकाक्रममा भएको झडपमा परी ९ जना सुरक्षाकर्मी र चारजना आन्दोलनकारी घाइते भएका छन् । – केशवचन्द्र महरा / इमेज


