बागलुङमा कुटिए देवेन्द्र पौडेल र संसद घर्ति !, देबेन्द्र पौडेलले खाए गलामा २ झापड, घर्तीले मुक्का भेटे
बागलुङ । बागलुङ जिल्ला क्षेत्र नम्बर २ का दुई सांसदमाथि हातपात भएको छ । जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगरमाथि आफ्नै नेताबाट हातपात भएको हो ।

कुटाई खाने सांसद देवेन्द्र पौडेल (दायाँ), कुटपिट गर्ने नेता अर्याल (बीचमा) र कुटाई खाने अर्का सांसद घर्ती (बायाँ)
बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई सांसदसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।
माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका घर्ति संयुक्त वाम गठवन्धनका तर्फबाट हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनीहरु दुवैलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए ।
बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आफुलाई कुनै खबर समेत नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेका थिए ।
त्यसलगत्तै धारामा मुख धुन गएका प्रदेश सांसद घर्तीलाई पनि उनले एक मुक्का प्रहार गरे । हातपात गर्ने क्रममा होटलको केही शिशा पनि फुटेको छ । तर दुवै सासंद संयमित भएकाले थप अप्रिय घटना केही हुन पाएन ।
सांसदमाथिको हातपात तथा दुव्र्यवहारबारे प्रश्न गर्दा माओवादी नेता अर्यालले घटना स्वीकार गरे । ‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो’, माननीयद्वयलाई कुट्नुको कारण स्वीकार्दै अर्यालले भने, ‘हामी यिनीहरुलाई जिताउन चाहिने, दिलोज्यान दिएर हिड्नुपर्ने, अहिले चुनाव जितेपछि कार्यक्रममा जाँदा समेत वास्ता नगर्ने ?
यस क्षेत्रमा प्रभावशाली राजनीतिक छवि भएका अर्याललाई पार्टीले पटक–पटक झुटा आश्वासन दिँदै आएको छ । २०७० मा माओवादीका तर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए । तर चुनावको केही महिना अघि नयाँ शक्तिमा लागेर पार्टीमा फर्किएका पौडेलले टिकट पाएपछि उनी असन्तुष्ट बनेका थिए ।
‘होटलमा बसिरहेका बेला तुल्सीजीले मदिरा लगाउनु भएको थियो’, आफूमाथि हातपात भएको मौन स्वीकृतिमा पौडेलले भने, ‘म अहिले सदरमुकाम फर्किएको छु, त्यस्तो ठुलो विषय होइन ।’ रातिको घटनापछि अर्याललाई भेट्न सांसद पौडेल र घर्ती बिहानै बुर्तिबाङ बजारस्थित उनको निवास पुगेका थिए । तर, अर्याल बिहानै उनकै बालुवाखानी पाखुट्टे पुगिसकेकाले भेट हुन हुन सकेन । अन्नपूर्ण पोस्ट


