नेपाली भूमीमा भारतीय पक्षले हस्तक्षेप गरेपछि बेलौरीमा फेरी बल्झियो सीमा विवाद

कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा फेरी सीमा विवाद बल्झिएको छ । भारतीय सीमासंग जोडिएको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली भूमीमै बाटो फराकिलो बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि विवाद बल्झिएको हो ।

बेलौरी नगरपालिकाबाट विनियोजित बजेटले भारतीय सीमा क्षेत्रसम्म जोड्ने गरी सडक निर्माणका क्रममा नेपाली नागरीकले खेतिबाली लगाउँदै आएको दर्ता जमिनमा बाटो फराकिलो बनाउन खोजेको स्थानीय विवेक लम्सालले बताउनु भयो । वषौँ देखि प्रयोग गर्दै आएको नेपाली भूमिलाई आफुहरुले जस्तोसुकै प्रयोजनका लागि प्रयोग गरेपनि भारतीय पक्षले चाँसो देखाउनु भारतको नांगो हस्तक्षेप भएको लम्सालको भनाइ छ ।

आफुहरुको प्रयोगमा रहेको दर्ता जमिनमा फराकिलो बाटो बनाउँदा भारतीय पक्षले अवरोध पुर्याउनु र नेपाली प्रशासन मुखदर्शक बनेको भन्दै स्थानीयले सरकारको समेत चर्को विरोध गरेका छन् । आफुहरुसंग उक्त जमिनको लालपुर्जा भएको उल्लेख गर्दै लालपुर्जा दिने निकायलाई लालपुर्जा गलत हो भनि प्रमाणित गर्न पनि स्थानीयले चुनौति दिएका छन् । आफ्नो भूमी रक्षाका लागि ज्यान दिन समेत तत्पर रहेको घटनास्थलमा उपस्थित स्थानीय नेपाली नागरीकको भनाइ छ । भारतीय पक्षले आफुहरुलाई सधैँ यसरी नै हेपाहा प्रवृति देखाउने गरेको प्रति स्थानीयले आक्रोश पोखेका छन् ।

यसैबीच भारतीय सुरक्षा निकाय एसएसबीका प्रहरी निरीक्षक एस के सिंह, सशस्त्र प्रहरी बल बेलौरीका प्रहरी निरीक्षक भिम सिंह थापा, भुडा प्रहरी चौकीका इन्चार्ज हरि प्रसाद भट्ट, पत्रकारहरु सहित केही स्थानीय नागरीकहरुबीच उक्त विषयलाई लिएर अहिले ठूलो विवाद निम्तिन नदिने पक्षमा छलफल भएको छ । भारतीय सुरक्षा एसएसबीले दशगजा क्षेत्र भित्रको जमिनलाई एकतर्फी प्रयोग गरी नयाँ संरचना वा बाटो फराकिलो बनाउन नदिने अडान राखेपछि नेपाली पक्ष पनि आक्रोशित भएको थियो ।

भारतीय पक्षले सीमा स्तम्भ नम्बर ३२ र ३३ मा सीमा स्तम्भ नाघेर नेपाली पक्षले खेती लगाएको आरोप लगाएको छ भने अहिले विवादित सीमा स्तम्भ नं. ३४ नजिक भारतीय पक्षले नेपाली भूमि मिचेको आरोप लगाएका छन् । सीमा सर्भे टोलीले केही महिनामै उक्त क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेला सम्म विवाद बढाउन नदिने विषयमा दुई देशका अधिकारीहरुबीच मौखिक समझदारी भएको छ ।

विगत केही साता यता कैलाली र कञ्चनपुर लगायत पश्चिममा भारत संग जोडिएका सीमा सर्भे गरिरहेको नेपाल र भारतको सर्भे टोली अहिले कञ्चनपुरको आनन्दबजार–बसही सीमा नाकामा काम गरिरहेको छ । सीमा सर्भे टोलीमा नेपालका तर्फबाट खटिएका सीमाविद् पूर्ण बहादुर खड्काले केही समयमै विवादित क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाउने र त्यतिबेला सम्म विवाद नबढाउन दुबै पक्षलाई आग्रह गरेको छ ।

तर स्थानीयबासी भने जुनसुकै हालतमा पनि आफ्नो भूमिको सडक फराकिलो बनाउने काम गर्न दिनुपर्ने अडानमा छन् । यसरी समयसमयमा सीमाकै विषयमा नेपाल र भारतका नागरीकहरु बीच कटुता पैदा भइरहेको छ । यस्तै विवादले गत फाल्गुन २६ गते कञ्चनपुर कै पुनर्वासमा स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । नागरिक नागरिकबीच आपसमा विवाद गर्नुभन्दा दुबै देशले उच्चस्तरीय पहलबाट समाधान गर्न जरुरी छ । – रेडियो बेलौरी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।