गोपाल पराजुलीले भने,- तपाईँ बढ्ता हुनुभयो भने मार्दिन्छु
प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले काठमाण्डु जिल्ला अदालतमा ज्यानको सुरक्षा माग गर्दै मुद्दा दायर गरेका छन् । बुधबार बिहानै अदालत हातामा देखा परेका भण्डारीले घटनाबारेमा हामीले प्रधानन्यायाधीश जस्तो व्यक्तिबाटै तपाईलाई ज्यान मार्ने धम्की ? कि तपाईले उहाँलाई फसाउन खोज्नु भएको त होइन ? भनेर विवादित प्रश्न तर्सायौं । उनले आफू झुटको पछाडि नदौडने भन्दै घटनाका बारेमा बेलिबिस्तार लगाए:

डा. गोविन्द केसीको मुद्दामा बहस गरेकै दिन बेलुका साँढे ५ बजेतिर उहाँले मलाई फोन गर्नुभयो । त्यसबेला उहाँ एकदमै सन्किएर तपाईँ बढ्ता हुनुभयो भने मार्दिन्छु भनेर भन्नुभयो । मैले यस्तो कुरा नगरौं केही छ भने दाजुभाइ बसेर कुरा गर्न सकिन्छ गरौं भनेर भनेँ । मैले मजाक नगरौं, बसेर कुरा गरौं भनेपछि उहाँले रिसाएर फोन राखिदिनुभयो । त्यसपछि कुरा भएको थिएन ।
बिहीबार नागरिक दैनिकमा मेरो एउटा आर्टिकल आएको थियो । प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने विषयमा थियो । त्यो पढिसकेपछि करिब साढे ९ बजेतिर उहाँले फोन गर्नुभयो । मेरा साथीहरु पनि मसँगै त्यहाँ हुनुहुन्थ्यो । हामी ४, ५ जना बसेर कुरा गरेका थियौं । त्यसबेला ज्यान मार्छु भनेर त भन्नुभएन तर धम्कीको भाषा प्रयोग गर्नुभयो । उहाँले मलाई ‘देखाइदिन्छु, चिनेको छु, जानेको छु’ जस्ता शब्द प्रयोग गरेर धम्की दिनुभयो ।
त्यहाँ पनि मैले केही भनिनँ । साथीहरुले के भयो भन्दा पनि मैले केही होइन भनेर भनेर बसेँ । मैले यसलाई किन इस्यु बनाउने भनेर सामान्य पार्न चाहन्थें । तर हिजो मेरो अफिसमा २, ४ जना मान्छे पठाउनुभएछ । उहाँले नै पठाउनुभएको हो भन्नेमा म ढुक्क छु । मलाई अन्य कसैले केही भनेको छैन । उहाँले नै ज्यान मार्ने धम्की दिनुभएको छ ।
मेरो घरमा केही मान्छेहरु आएर ‘खोई सुरेन्द्र भण्डारी ?’ भनेर थ्रेट गरेछन् । हामीले देखाइदिन्छौं भनेर पनि धम्की दिइएछन् । परिवारका सदस्यले ‘तपाईँहरु को हो ?’ भनेर सोध्दाखेरि अहिले तपाईँलाई भन्नुपर्ने कारण छैन । सुरेन्द्र भण्डारीलाई भेटेपछि हामी को हो भन्ने चिनाइदिन्छौं’ भनेर हिँडेछन् ।
उहाँले यस्ता घटनाहरु निरन्तर दोहोर्याउनुभयो । प्रधानन्यायाधीशजस्तो मान्छेले त्यस्तो गर्नु शोभनीय होइन ।
यो अवस्थालाई मैले वास्तवमा अघि नल्याउँ भनेको थिएँ । नल्याउँदा केही भइहाल्ने पो हो कि भन्ने लाग्यो । कम्तिमा पनि जनताको जानकारीमा आओस् भनेर मैले ल्याएको हुँ । मैले यहाँ सीडीओलाई भनेको छु । उहाँ (प्रधानन्यायाधीश) र मेरो बीचमा भएको कुराकानी सुन्नुपर्यो । मुलुकले यो कुरा सुन्न पाउनुपर्छ । मैले उहाँले ज्यान मार्ने धम्की दिनुभएको छ भनेको छु त्यसको पनि पुष्टि त अब हुनैपर्छ ।
त्यो भेरिफाई भएपछि कुरा उठ्ला । कल डिटेल लिएर प्रत्येक नागरिकले त्यो कुरा सुन्न पाउनुपर्यो । उहाँले जुन किसिमको काम गर्नुभएको छ त्यो शोभनीय काम होइन ।
डा. गोविन्द केसीको मुद्दामा हामीले जसरी डिफेन्स गर्यौं । कारण त्यति मात्रै हो । उहाँको अफिसमा मसँग दुई पटक कुराकानी भएको हो । डा. गोविन्द केसीसँग हुँदा पनि बोलाउनुभयो । म गएँ यो कुरा भनेको पनि थिइनँ । तर त्यहीदिन बेलुका उहाँले फोन गरेर मार्दिन्छु भन्नुभयो । अब नागरिकताको सवालमा उहाँ दोषी देखिनुभयो भने उनीमाथि सरकारवादी फौजदारी जस्तो संगीन आरोप लागी कारबाही हुन सक्छ । यस्तो अवस्थामा उनी आफ्नो पदमा बसिरहँदा न्याय नै प्रभाव पार्न खोजेको कुरा स्वतः अनुभूत हुन्छ ।

– काठमाण्डूटुडेबाट ।


