देउवा सरकारले छपकैयाको नेपाली भूमी भारतलाई सुम्पिएको ठहर

वीरगन्ज । वीरगन्जको छपकैयास्थित दशगजा क्षेत्रमा नयाँ पिलर गाड्ने क्रममा सरकारले नै नेपाली भूमी भारतलाई सुम्पिएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका विद्यार्थी र युवा संगठनले ठहर गरेका छन्। काठमाडौंबाट बुधबार वीरगन्ज आइपुगेको अखिल क्रान्तिकारी र क्रन्तिकारी युवा लिगको केन्द्रिय पदाधिकारीसहितको टोलीले छपकैयामा सीमा नाकाको स्थलगत अवलोकन गर्दै सीमा स्तम्भ गाड्ने क्रममा नेपाल सरकारले ४८ बिघा नेपाली भूमी भारतलाइ सुम्पेको ठहर गरेको हो।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सेवन्तराज भण्डारी र क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जनको नेतृत्वमा नेपालको राष्ट्रिय झण्डा सहित बुधबार सीमा क्षेत्रमा पुगेका नेता कार्यकर्ताले नेपाल सरकारको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरे। उनीहरुले भारत सरकारको विरोधमा पनि नाराबाजी गरेका थिए।

प्रदर्शनपछि सीमा क्षेत्रमै आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष भण्डारीले नयाँ पिलर राख्ने क्रममा वीरगन्जको छपकैयामा नेपालीका लाजपुर्जा भएको ४८ बिघा जग्गा नेपाल सरकारले भारतलाइ सुम्पिएको आरोप लगाए।

छपकैयामा मिचिएको नेपाली भूमी भारत सरकारले भन्दा पनि नेपाल सरकार आफैँले लगेर सुम्पिएको हो , उनले भने , ‘नेपालमा रहेका भारतीय दलाल (नेपाल सरकार र नापी विभागका उच्च अधिकृतहरु) ले नेपाली भूमी भारतलाई सिधै लगेर सुम्पिदिएका हुन्। भारतले नेपाललाई पनि सिक्किमीकरण गर्न खोज्दैछ।’

‘नाम र थर लेखेर मात्रै नेपाली भइँदैन , राष्ट्रवादी हुँ भनेर भाषण गरेर मात्रै नेपाली भइँदैन , आफ्नो भूमीको रक्षा गर्न नसक्नेहरु कदापी राष्ट्रवादी बन्न सक्दैनन् , उनले भने। ‘हामी एक इन्च पनि नेपाली भूमी भारतमा मिसिन दिन्नौं , त्यसका लागि जस्तो सुकै बलिदानी दिन पनि हाम्रा पार्टीका युवा तयार छन्।’

वीरगन्जको छपकैयामा मिचिएको नेपाली भूमी नेपाल सरकारले फिर्ता नगरे नेपाली भूमीको रक्षाका लागि अखिल क्रान्तिकारी र क्रान्तिकारी युवा लिग सशक्त आन्दोलनमा उत्रिने क्रान्तिकारी युवा लिगका अध्यक्ष महर्जनले चेतावनी दिए। छपकैयामा सीमा क्षेत्रको स्थलगत अवलोकन र प्रदर्शन पछि बुधबार साँझ दुवै संगठनले वीरगन्जको मुख्य बजारमा पनि जुलुश र नाराबाजी गरेका थिए।

यसअघि भारतले नेपाली भूमी मिचे भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी , युवा संगठन वाइसिएल र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय टोलीले पनि वीरगन्जको छपकैयास्थित विवादित सीमा क्षेत्रको स्थलगत अवलोकन गरि सीमा क्षेत्रमा राष्ट्रिय झण्डा गाड्नुका साथै प्रदर्शन पनि गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।