चीनको नजरमा शुष्मा स्वराजको नेपाल भ्रमण !
काठमाण्डौ, १९ माघ । प्रधानमन्त्री शेरवहादुर देउवा सरकार विदा भएर नयाँ सरकार बन्नै लाग्दा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालमा दुई दिने राजनीतिक भ्रमण गरेकी छन् ।उनलाई भावि प्रधानमन्त्री ठानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निमन्त्रणा गरेका हुन् । यो कुरालाई कुटनीतिक क्षेत्रमा अनौठो घटनाको रुपमा हेरिएको छ । यी यस्ता विषयमा चीनले हत्तपत्त मुख खोल्ने गर्दैन ।

तर चिनले स्वराज नेपाल भ्रमणमा आउनु नेपाल भन्दा भारतको चाहानामा भएको हो भन्नेमा चीनका जानकारहरुले बताएका छन् । चीनका लागि नेपालका पूर्व राजदुत टंक कार्की भन्छन्, ‘भारतले ओलीबाट ‘सेक्योर’ हुन खोजिरहेको छ । भारतको नजरमा ओली बागी हुन् । त्यही भएर भारत विश्वस्त हुन खोजेको हो ।’ स्वराजको भ्रमण बारे चिनीयाँ सरकारी समाचार सस्थाले ‘यो भ्रमणले नेपालसँग बिग्रिएको सम्बन्ध सुधारका लागि भारतको पहल हो भनेको छ ।’
भारतीय विदेशमन्त्रीले नेपालको भ्रमण गर्दै गर्दा चीनका राजदुत नेपालको तराई–मधेशको भ्रमणमा रहेका छन् । परराष्ट्रवीद हिरण्यलाल श्रेष्ठका अनुसार नेपालमा चीनको गतिविधि पनि बढिरहेको छ । उनी भन्छन्, ‘प्रतिस्पर्धा चीन र भारत दुबैको छ, हतारिएर स्वराजलाई यहाँ पठाउनुको कारण पनि भारत पछि छैन है भन्ने शन्देश दिनु नै हो ।’ स्वराजको भ्रमणलाई नकारात्मक मात्र नभई सकारात्मक रुपमा पनि हेर्न सकिने परराष्ट्रवीदको भनाई छ ।
पूर्व राजदुत कार्कीका अनुसार हिजोको नेपाल भारत नीतिले अव काम गर्नेवाला छैन भन्नेमा भारत पुगेको छ र त्यो नेपालको लागि सकारात्मक हो । त्यसमा भारतीय मिडिया र नेपालको हित चाहने भारतीय बुद्धिजीवी वर्गको महत्वपूर्ण भूमिका देखिन्छ । भारतीय मिडिया र बुद्धिजीवीहरु हिजोको विदेश नीतिले काम गरेन, दुबैका हितलाई सकेसम्म मिलाएर जानु पर्छ भन्ने शक्ति हावि भएको अनुमान गर्छन । त्यो ‘रियलाइजेशन’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भएको हुनुपर्छ ।
भारतले सकेसम्म वाम गठबन्धन, ओलीको सत्तागमन र एमाले–माओवादीको पार्टी एकता रोक्न चाहेको थियो, तर त्यो सम्भव नभएपनि सम्बन्ध विस्तार गरेर विश्वासमा लिने दोश्रो नीति अख्तियार गरेको कतिपयको बुझाइ छ । मोदी पहिलो पटक नेपाल आउँदा शुरुमा निक्कै वाहवाही पाएका थिए । पछि उनका व्यवहारले नेपालमा भारतविरोधी र चीन समर्थनको सेन्टिमेन्ट बढ्दै गयो । ओली प्रधानमन्त्री हुँनै लाग्दा भारतीय पक्षले यो कुरा राम्रैसँग बुझेको हुनुपर्छ ।
कार्की भन्छन्, ‘भारतले नेपालले रेड लाइन क्रस गर्न नसकोस् भन्ने चाहेको छ, तर त्यो रेड लाइन के हो भन्ने बारेमा खुलाउन चाहेको छैन, यदी चीनसँगको सम्बन्ध सुधारलाई नै उसले रेड लाइन भन्ने हो भने त्यो नेपालका लागि स्वीकार्य हुन सक्दैन ।’ परराष्ट्रवीद् श्रेष्ठका अनुसार, नेपालले अव भारत र चीनसँगको कुटनीतिक सम्बन्ध सुधार गर्दै आर्थिक समृद्धिमा ध्यान दिनुपर्छ । समृद्ध र विकसित नेपाल चीन र भारतका लागि पनि फाइदाजनक छ भन्ने छाप छोड्न सक्नुपर्छ ।
यस्ता विषयमा मौन रहने चीन नेपालको भूराजनीतिलाई राम्रोसँग नियालिरहेको छ । तर नेपालको आन्तरिक मामिलामा सिधै हस्तक्षेप गर्दैन । श्रेष्ठका अनुसार उसको मुख्य चासो नेपालमा चीन विरोधी गतिविधि नहोउन भन्ने नै हो । र अर्को कुरा आफ्नो पहलमा हुन लागेको ‘वान वेल्ट वान रोड्’को काममा कसैको प्रभाव नपरोस भन्नेमा पनि चीन पूर्णतः सचेत देखिन्छ । काठमाण्डू टुडे


