चुनाव हारेका पौडेल, निधि र पत्नी आरजु लाई राष्ट्रिय सभामा लैजाने देउवाको प्रयास, कांग्रेस भित्रै देउवाको आलोचना

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन् ।

हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ । राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ । देउवाले पौडेल, निधि र पत्नीलाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ ।

सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र आरजु मध्येबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ । ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि र आरुजु) नै पर्न सक्नुहुन्छ ।’

देउवाको प्रस्ताव वामले मानेन

देउवाले आरजुसहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका थिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए । उनले पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी गरे । राष्ट्रिय सभाको ५६ जनाको निर्वाचन सबै प्रक्रिया सकिएपछि मनोनितका विषयमा छलफल हुने बताए ।

‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’, उनले भने । प्रवक्ता शर्माले राष्ट्रिय सभाका तीनजनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए ।

‘राष्ट्रिय सभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीनजनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन’, उनले भने, ‘यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ ।’

कांग्रेसकै युवा नेता रामहरि खतिवडाले हारेका नेतालाई राष्ट्रिय सभामा मनोनित गर्नु नहुने बताए । उनले हारेकालाई मनोनयन गरिएमा पार्टीमा विवाद बढ्ने् बताए । सभापति देउवा समेत हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लाने पक्षमा नरहेको दाबी गरे ।

‘म पनि सभापतिसँग नजिकै छु, मलाई लाग्दैन की उहाँले हारेका व्यक्तिलाई राष्ट्रिय सभा लानुहुन्छ’, उनले भने । खतिवडाले बुद्धिजीवी र समाजसेवीमध्येबाट राष्ट्रिय सभामा लाने विषयमा चर्चा भइरहेको बताए ।

वरिष्ठ नेता पौडेल, निधि, शेखर कोइराला र विश्वप्रकाश शर्मादेखि आफूसम्मले कल्पना पनि नगरेको हार भोग्नुपरेको उनले बताए । ‘हामी धेरैले कल्पना नगरेको हार बेहोरेका छौँ’, उनले भने, ‘तर अब हारेकालाई राष्ट्रिय सभामा लानु हुँदैन, त्यो खेलमा कोही पनि लाग्नु हुदैन ।’- अन्नपूर्णपोस्टबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।