नबन्ने भए महिला मुख्यमन्त्री ! : मुख्यमन्त्री बनेर प्रदेश हाँक्ने महिला नेतृको चाहना अधुरै
काठमाडौं । सात प्रदेशमध्ये एउटामा पनि महिला मुख्यमन्त्री नहुने लगभग निश्चित भएको छ । एमाले स्थायी कमिटी बैठकले मुख्यमन्त्रीका लागि आवश्यक संसदीय दलको नेता चयनको अधिकार प्रदेशलाई नै दिएपछि मुख्यमन्त्री बनेर प्रदेश हाँक्ने महिला नेतृको चाहना अधुरै हुने अवस्था आएको हो ।

सात ओटा प्रदेशमध्ये चार ओटामा एमाले, दुई ओटामा माओवादी र एउटा प्रदेशमा संघीय समाजवादी फोरम वा राष्ट्रिय जनता पार्टी (राजपा) मध्ये एकले लिने सहमति भइसकेको छ । प्रदेशमा नेपाली कांग्रेस सरकार बनाउनै नसक्ने अवस्थामा रहेको छ । प्रदेश सरकार गठन गर्ने अन्तिम तयारी भइरहेको वेला प्रदेश–३ बाहेक कुनै पनि प्रदेशमा महिला नेतृले मुख्यमन्त्री दाबी गरेका छैनन् ।
एमालेको भागमा परेको प्रदेश–३ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री दाबी गरेकी छन् । एमाले स्थायी कमिटीले प्रदेशबाटै दलको नेता चयन गर्नै निर्णयसँगै उपाध्यक्ष शाक्यलाई मुख्यमन्त्री बन्न निकै कठिन देखिएको छ । एमालेको प्रदेश–३ को प्रमुखसमेत रहेकी शाक्य मुख्यमन्त्री बन्नकै लागि काठमाडौं–८ को प्रदेशसभा–१ बाट निर्वाचित भएकी थिइन् ।
स्थायी कमिटीमा शाक्यको नाममा लभगग सहमति हुने अवस्था रहेकोमा प्रदेश–१ र प्रदेश–४ मा सहमति हुन नसकेपछि चुनावबाट दलको नेता चयनको निर्णय हुँदा उनले यही कारण विरोध गरेकी थिइन् । तर, उनको आवाजलाई कसैले साथ दिएनन् । प्रदेश–४ बाट मुख्यमन्त्रीका आकांक्षी रहेका सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङबीच चर्काे प्रतिस्पर्धा भई चुनावमै जानुपर्ने विकल्पमा एमाले गएको हो ।
एमाले नेताहरूबीच प्रदेश–१ बाट पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री शेरधन राई, प्रदेश–३ बाट उपाध्यक्ष शाक्य र प्रदेश–४ बाट सचिव पृथ्वी सुब्बा गुरुङलाई मुख्यमन्त्री बनाउने गृहकार्यमा शीर्ष नेता रहेका थिए । जातीय सन्तुलन मिलाउन यस्तो गृहकार्य भइरहेको वेला हरेक प्रदेशमा दुई देखि ६ जनासम्म आकांक्षी देखिएपछि नेताहरू विवादमा फस्न नचाहेका हुन् ।
प्रदेश–३ मा संस्थापन पक्षधरसहित नवौँ महाधिवेशनमा वरिष्ठ नेता माधव नेपालतिर लागेका सांसदसमेत शाक्यलाई दलको नेता मान्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनदेखि सांसदको उम्मेदवार सिफारिससम्म शाक्यले कमिटी र जिल्ला नेतृत्वको सुझाव बाइपास गर्दै नेतृत्व क्षमता गुमाएको उनीहरूको आरोप छ । संस्थापन पक्षको स्पष्ट बहुमत रहेको प्रदेश–३ मा अध्यक्ष केपी शर्मा ओलीले सिनियर नेतृ रहेकोले शाक्यलाई मुख्यमन्त्री बनाउन दिएको सुझावसमेत उनीहरूले अस्वीकार गरेका छन् । ‘कसैको कुरा नसुन्ने, आफूखुसी गर्ने, स्थानीय कमिटीको रायभन्दा फरक उम्मेदवार उठाएर हराउने काम गर्नेलाई मुख्यमन्त्री बनाउन सकिन्न भन्दै ओलीका सारथीहरू हिँडेका छन् ।
प्रदेश–३ मा अध्यक्ष ओलीका सवैभन्दा विश्वासपात्र काभ्रेका युवा नेता गोकुल बाँस्कोटाले शाक्यबाहेक अरूलाई मुख्यमन्त्री बनाउने विषयमा आफू सबै निर्देशन मान्ने तर उनलाई स्वीकार्न नसक्ने सार्वजनिक घोषणा नै गरेका छन् । स्थानीय तह निर्वाचनमा पाँचखाल नगरपालिकामा शाक्यले पठाएको एक व्यक्तिका कारण चुनाव हारेको भन्दै बाँस्कोटाले संकीर्ण र पार्टी सञ्चालन क्षमता नभएको व्यक्तिलाई मुख्यमन्त्री बनाउन नसिकने अडान राखेका छन् । प्रदेश–३ मा पुराना नेता पूर्वस्थानीय विकासमन्त्री राजेन्द्र पाण्डेसहित पोलिटब्युरो सदस्य सानु श्रेष्ठ, कैलाश ढुंगेल, केशव स्थापित र डोरमणि पौडेल मुख्यमन्त्रीको आकांक्षी छन् ।
संस्थापन पक्षमा रहेका बहुमत सांसद शाक्यको विकल्पमा जो भए पनि हुने लबिङ चलाएपछि नेतृत्वले हस्तक्षेप नगरे यिनैमध्ये एक दलको नेतामा छानिने अवस्था छ । मुख्यमन्त्रीका आकांक्षी पशुपति चौलागार्इंले भने अभियान त्यागेका छन् । चौलागार्इंलाई बाँस्कोटाले नै मुख्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, चौलागाईं सुरुमा उत्साहित भए पनि बिस्तारै पछि हटेका थिए । ‘उहाँ तयार हुनुभएन, हामीले भिजन भएका र तलको कुरा सुन्ने व्यक्ति खोजेका हौँ, आफूखुसी जे मनलाग्यो, त्यही गर्ने नेतृत्व होइन,’ बाँस्कोटाले भने । उनले शाक्यको विकल्पमा जो खडा हुन्छ, त्यही नै दलको नेता चयन हुने पनि बताए ।
संघीय संरचनाअनुसार सात ओटै प्रदेशमा फागुन पहिलो साताभित्र मुख्यमन्त्री चयन हुने अवस्था छ । प्रदेश–३ बाहेक अन्यमा पनि सबै पुरुष नै मुख्यमन्त्री हुने देखिएको छ । एमालेको भागमा परेको प्रदेश–१ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई र नेता जीवन घिमिरे आकांक्षी छन् । उनीहरूमध्ये दुई जनाबीच अन्तिममा भिडन्त हुनेछ । सो प्रदेशमा दलको नेता चयनका लागि २६ माघमा निर्वाचन तय गरिएको छ । यस्तै प्रदेश–४ मा सचिव गुरुङ र स्थायी कमिटी सदस्य गुरुङ प्रतिस्पर्धी छन् । प्रदेश–५ मा वैचारिक नेता शंकर पोखरेल दलको नेता चयन भइसकेका छन् ।
माओवादी केन्द्रको भागमा परेको प्रदेश–६ र ७ मा पनि पुरुष नै मुख्यमन्त्री बन्ने निश्चित छ । सो प्रदेशबाट माओवादीले एक÷दुई सांसदबाहेक सर्वसम्मत रूपमा त्रिलोचन भट्ट दलको नेता सिफारिस भइसकेका छन् । प्रदेश–५ मा पनि महेन्द्रबहादुर शाहीलाई दलको नेता बन्ने देखिएको छ । सो प्रदेशमा माओवादीबाट महिला आकांक्षी नै रहेका छैनन् । सौर्य दैनिक


