प्रधानमन्त्री देउवा राजीनामाको तयारीमा, आजै कि निर्वाचनको अन्तिम परिणाम कुर्ने भन्ने परामर्शमा

काठमाडौं, २४ माघ- प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको लामो समयसम्म सत्तामा बसेको भनेर आलोचना भइरहेका बेला देउवाले राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेर राजीनामा दिने तयारी गरेका हुन्, लोकान्तरमा खबर छ ।

राष्ट्रियसभा निर्वाचनका लागि बुधबार ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश नम्बर २ मा भने सबै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रधानमन्त्रीले राजीनामा दिने तयारी गरेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म कुर्ने भन्नेमा छलफल भइरहेको विश्वकर्माले बताए ।

‘खासगरी यसमा दुई स्टेप छन्, आज राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि प्रतिनिधिसभाको अन्तिम परिणाम आएपछि भन्नेमा प्रधानमन्त्रीज्यू परामर्शमा हुनुहुन्छ,’ मन्त्री विश्वकर्माले लोकान्तरसँग भने । अर्का एक मन्त्रीले पनि राजीनामा दिने विषयमा प्रधानमन्त्री परामर्शमा रहेको पुष्टि गरे ।

देउवा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको समर्थनमा यही जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । प्रधानमन्त्रीका रूपमा चौंथो कार्यकाल पूरा गर्दै गरेका देउवाले यसपटक स्थानीय तह निर्वाचनको दुई चरण र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सम्पन्न गरेको थियो । कांग्रेस सभापतिसमेत रहेका देउवाले आफ्नो पार्टीलाई चुनावमा अपेक्षित सफलता दिलाउन नसके पनि देशलाई निकास दिन भने महत्त्वपूर्ण भूमिका निभाए ।

गत मंसिरमा भएको प्रतिनिधिसभामा एमाले–माओवादी गठबन्धनले अत्यधिक बहुमत हासिल गरेको थियो । नयाँ सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सम्भावना छ ।

प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएपछि बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।

यदि कुनै दलको एकल बहुमत भएको भए सोही दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था थियो ।

समानुपातिकतर्फको आधिकारिक परिणाम सार्व हुन बाँकी नै रहे पनि संसदमा कुनै पनि दलको एकल बहुमत नरहने पक्का छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।