सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेमा दम्भ पलाएको माओवादीको निष्कर्ष, पार्टी एकता जटिल !

काठमाडौं २५ माघ । चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रकृया गतिरोधमा फसेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेमा दम्भ पलाएको माओवादीको विश्लेषण छ ।

माओवादीका एकजना प्रभावशाली नेताले एमालेसँगको पार्टी एकता टाँढिदै गएको बताए । ‘पीएम (प्रधामनन्त्री)मा कुरो मिल्यो, सीएम (पार्टी अध्यक्ष)मा कुरो मिलेन’ माओवादीका ती नेताले लोकान्तरसँग भने, ‘चुनावअघिको प्रतिबद्धता बिर्षेर एमालेले ७०/३० को अनुपातमा एकताको कुरा गर्यो ।’

स्वराजको नेपाल भ्रमणपछि भारतसँगको सम्बन्ध सुध्रिएको एमालेको ठम्याइ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रतिको अविश्वासका कारण एकता प्रक्रिया लम्बिएको माओवादीको निश्कर्ष छ । माओवादी नभएपनि मधेस केन्द्रित दलहरुको साथ लिएर सरकार बनाउन सकिन्छ भन्ने आत्मविश्वास एमालेमा पलाएको माओवादी नेताहरुको विश्लेषण छ ।

मधेसवादी दललाई एमालेसँग मिलेर सरकार बनाउ भारतीय विदेशमन्त्री स्वराजले ‘ग्रिन सिग्नल’ दिएको माओवादी बुझाइ छ ।

पार्टी एकताको बिषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पटक पटक छलफल भएपनि कुनै निश्कर्षमा पुग्न सकेका छ्रैनन् । बिहीवार पनि दुइ नेताहरुबीच गोप्य छलफलको तयारी भएको एमाले स्रोतले बतायो ।

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताको सर्तको रुपमा अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुनुपर्ने निश्कर्ष निकालेको थियो । सो निर्णयमा पार्टी अहिले पनि अडिक गरेको माओवादी नेताहरु बताउँछन् । पार्टी अध्यक्ष आफूले पाउनु पर्ने प्रचण्डको अडानमा एमालेका कतिपय नेताहरुले समर्थन जनाइसकेका छन् ।

एमालेसँग तालमेल गरेकै कारण चुनावमा सम्मानजनक हैसियत प्राप्त भएकोले एकीकरणबाट पछि नहट्न प्रचण्डलाई माओवादीमा पनि दवाव छ । ‘पार्टी एकता नहुने भनेर घोषणा गर्ने हैसियतमा माओवादी छैन, एउटा समिति या कार्यदल बनाएर विलम्ब हुनसक्छ’ माओवादी स्रोतले भन्यो ।

एकता अन्योलमा, गठबन्धन कायम

पार्टी एकता नभएपनि वामपन्थी गठबन्धन कायम रहने माओवादी नेताहरु बताउँछन् । ‘तत्काल पार्टी एकता नभएपनि वामपन्थी गठबन्धन टुट्दैन र एमालेकै नेतृत्वमा नयाँ सरकार बन्छ’ ती नेताले लोकान्तरसँग भने ।

चुनावमा पाएको जनमत अनुसार केपी ओलीलाई प्रधामनन्त्री बनाउन पूर्ण सहयोग गर्ने माओवादीको भनाइ छ । माओवादीका नेता मणि थापाले पनि सम्मानजनक एकताको पक्षमा आफूहरु प्रतिबद्ध रहेको बताए ।
‘वामपन्थी एकता गर्नुपर्छ भन्ने माओवादीको पहल कदमी नै हो, तर एमाले अलि प्रोभोकेटिभ भयो कि भन्ने हाम्रो आशंका छ’ नेता थापाले लोकान्तरसँग भने, ‘दुई पार्टी मिलुन् भन्ने जनताको अपेक्षामाथि तुषारापात नहोस् भन्नेमा माओवादी चिन्तित छ ।’

सुष्माको भ्रमणसँग वाम एकताको साइनो छैन

नेकपा एमालेका सचिव प्रद्रीप ज्ञवाली भने भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणसँग वामपन्थी एकताको कुनै साइनो नहुने बताउँछन् ।

वाम एकता हुन्छ, यसमा कुनै बाह्य शक्तिलाई जोड्नु पर्ने कारण छैन, हाम्रो एकताको जग चाहि त्यती कमजोर छैन कि त्यहाँ कुनै एकजना विदेशी आउदा बलियो हुने या कमजोर हुने’ लोकान्तरसँगको कुराकानीमा ज्ञवालीले भने, ‘हामी आफ्नै ढंगले एकताको प्रक्रियालाई अगाडि बढाइरहेका छौ र निकट भविष्यमा तपाईंले दुईवटा वापमन्थी पार्टी एक भएर नेपालमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण भएको देख्नु हुनेछ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।