ठेक्का नपाएपछि गुन्डा नाइके ‘शोके’ समूहद्वारा सांघातिक आक्रमण

घोराही, १ फागुन । नेपाल उद्योग वाणिज्य संघ दाङले फागुन ३ गतेदेखि लगाउन लागेको महोत्वसको पार्किङ ठेक्काको विषयमा विवाद हुँदा ‘गुन्डा नाइके’ ‘शोके’ समूहले परियार समाजका जिल्ला अध्यक्ष एवम् नेपाल दलित संघ दाङ – २ का उपाध्यक्ष केशव नेपालीसहितका युवाहरूमाथि सांघातिक आक्रमण गरेको छ ।

पार्किङको विषयमा विवाद बढ्दै गएपछि भरतपुरस्थित म्याङ्गो होटेलमा कुरा गर्न गत शुक्रबार राति ८ बजे जम्मा भएका अध्यक्ष नेपाली र ‘शोके’ समूहबीच भनाभन भएपछि ‘शोके’ समूहले पहिला आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । दैनिक नेपालमा खबर छ ।

आफूलाई क्रमण भएपछि प्रतिकारमा उत्रिएको अध्यक्ष नेपालीको समूहले जनाएको छ । घटना लगत्तै अध्यक्ष नेपालीको समूहलाई प्रहरीले पक्राउ गरेको छ भने ‘शोके’ समूह खुलेआम बाहिर हिँहिरहेको छ । घटनामा गुन्डा नाइके ‘शोक’को टाउकोमा चोट लागेकाले उपचारका लागि कोहलपुर लगिएको छ ।

तर, घटनामा बराबरको दोषी रहेको ‘शोके’ समूहलाई राजनीतिक दवावमा बाहिर घुम्ने छुट दिएको भन्दै परियार समाज दाङले आपत्ति जनाएको छ । ‘शोके’ समूहलाई बचाउन नेपाली कांग्रेस दाङका दिग्गज नेताहरू नै सक्रिय रहेको प्रहरी स्रोतको भनाइ छ ।

‘शोके समूहलाई कारबाही नगर्न कांग्रेस, एमाले र माओवादीका केही नेताहरूको दवाव छ’, प्रहरी स्रोतले भन्यो, ‘परियार समाजका अध्यक्ष केशव नेपाली समूहलाई कारबाही गर्न दवाव आएरहेको छ ।’

‘शोके’ समूहले परियार समाजलाई दिएको पार्किङको ठेक्का रद्द गर्न उद्योग वाणिज्य संघलाई पनि पटक पटक दवाव दिएको थियो । तर, संघले नमानेपछि ‘शोके’ समूह आफ्नो हातबाट पार्किङको ठेक्का गुम्यो भनेर आत्तिएको थियो ।

उद्योग वाणिज्य संघले परियार समाज दाङलाई दलितहरूको क्षेत्रमा सामाजिक काम होस् भनेर पार्किङको ठेक्का दिएको थियो । कथित गुन्डा नाइके ‘शोके’ भनिने शोकबहादुर रोका, तरुण दलका नेता विमलमान श्रेष्ठ, शिशिर काले, रमेश थापासहितका युवाले पार्किङको टेण्डर आफूहरूले पाउनुपर्ने भन्दै बबण्डर मच्चाएको परियार समाजका जिल्ला अध्यक्ष नेपालीले जानकारी दिए ।

‘दलितहरूको क्षेलमा आर्थिक सहयोग होस् भनेर उद्योग वाणिज्य संघ दाङसँग सहमति गरेर महोत्सवको पार्किङको टेण्डर हामीले लिएका थियौँ’, अध्यक्ष नेपालीले भने, ‘सहमतिपछि मैले केही रकम दलित समुदायलाई दिने भनेर घोषणा समेत गरेको थिएँ ।’

उनले भने, ‘हामीले पार्किङको ठेक्का पाएपछि ‘शोके’सहितका युवाहरूको समूहले हामीलाई सांघातिक आक्रमण गर्ने धम्की दिँदै आएको थियो । हामीले घटनालाई सामान्य रुपमा लिएका थियौँ । पछि सँगै बसेर म्याङ्गो होटेलमा पार्टी पनि खयौँ । सोही बेला हामीलाई आक्रमण भयो । त्यसको प्रतिकार भएको हो ।’

भरतपुरस्थित म्याङ्गो होटेलमा घटना हुनेवित्तिकै प्रहरीको टोली आएर परियार समाजका अध्यक्ष नेपाली, तरुण दलका युवा नेता अभिमन्यू गिरी र गोविन्द थापालाई प्रहरीले पक्राउ गरेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।

सो घटनामा संलग्नहरूलाई प्रहरीले अस्पताल लगेर मादक पदार्थ सेवन गरे/नगरेको बारेमा मेडिकल चेकपअ गराएको थियो । मेडिकल चेकपअ गरेर फर्कने क्रममा ‘शोके’को समूह आएर अध्यक्ष नेपाल, गिरी र थापामाथि प्रहरीकै अगाडि सांघातिक आक्रमण गरेको थियो ।

प्रहरीले रोक्न खोज्दा ‘शोके’ समूहको आक्रमणबाट केही प्रहरी घाइते समेत भएका छन् । त्यस बेला प्रहरीले ‘शोके’ समूहका शिशिर कालेसहित दुईजनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय घोराहीमा लगेको थियो । तर, राजनीतिक दवावपछि उनीहरूलाई शुक्रबार राति नै छाडिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

अध्यक्ष नेपाली र तरुण दलका नेता गिरीले घटनामा ‘शोके’ समूहलाई पनि पक्राउ गरेर आफूहरूसँगै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । उनीहरू भन्छन्, ‘पावर छ भनेर कसैलाई छाड्ने कसैलाई थुन्न पाइँदैन ।’

यसैबीच, परियार समाज दाङले प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष परियारसहितका व्यक्तिमाथि भएको सांघातिक आक्रमणको विरोध गरेको छ । समाजले पक्राउ परेका अध्यक्ष नेपालीसहितका व्यक्तिलाई तत्काल विनासर्त रिहाइ गर्न माग गरेको छ ।

गुन्डा नाइके ‘शोके’ समूहले अध्यक्ष नेपाली र गिरीको समूहले हतियार देखाएर पाँच लाख लुटपाट गरेको समेत आरोप लगाएको छ । तर, सो आरोपको नेपाली र गिरीले खण्डन गरेका छन् ।

नेपाली र गिरीले भनेका छन्, ‘पार्किङको ठेक्काको विषयमा कुरा गर्न भनेर बोलाएर सँग खानेकुरा खाएपछि हामीमाथि आक्रमण भएपछि प्रतिकार गरेका हौँ । हाम्रो पहुँच पुगेन । हामी तीनजना पक्राउ परेर थुनिएका छौँ । उनीहरूको पहुँच पुग्यो बाहिर घुमेर हिँडेका छन् । उनीहरू कस्ता व्यक्ति हुन् पुलिसलाई नै सोधेपछि तपाईले थाहा पाइहाल्नु हुन्छ नि ?’

नेपाली र गिरीले गुन्डा नाइके ‘शोके’लाई आफूहरूले धारिलो हतियार प्रहार नगरेको तथा हतियार पनि नदेखाएको दाबी गरेका छन् ।

एसपी सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको र पाँच दिन म्याद थप गरेर छानविन चलिरहेको बताइन् । उनले भनिन्, ‘दोषी को छ ? छानविन भइरहेको छ । दोषी पाइयो भने विमलमान श्रेष्ठ, ‘शोके’ भनिने शोकबहादुर रोकासहितका युवाहरूलाई पनि हदैसम्मको कारबाही हुन्छ ।’

अध्यक्ष नेपालीको घरमा ‘शोके’ समूहको घेराबन्दी

यसैबीच, गुन्डा नाइके ‘शोक’ समूहले परियार समाजका अध्यक्ष नेपालीको घरमा दिनदिन मोटरसाइकलमा सहयोगीहरू पठाएर आतंक मच्चाउने गरेको पीडित परिवारले गुनासो गरेका छन् ।

नेपालीको परिवार र छोराछोरीलाई धम्काउने गरेको भन्दै शान्ति सुरक्षाको माग गरेर सोमबार परिवारजनले जिल्ला प्रहरी कार्यालय घोराहीमा निवेदन समेत परेको छ ।

पछिल्लो समय घोराहीमा ‘शोक’ समूहको आतंक र दादागिरि बढेको प्रहरीको भनाइ छ । राजनीतिक दवावका कारण केही गर्न नसकिएको एक प्रहरीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।