राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण कार्यक्रममा जे देखियो – हेर्नुहोस् भिडियो
काठमाडौँ, ३ फागुन । नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ ।
समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेप्नुभएका आफ्नो अडानमा दृढ नेता मानिनुहुन्छ । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री बन्नुभएका अध्यक्ष ओलीले २०७३ साउन २० मा राजीनामा दिनुभएको थियो । उहाँको यसअघिको कार्यकालमा उहाँबाट छिमेकी चीनको औपचारिक भ्रमण भई यातायात र पारवहनलगायत द्विपक्षीय महत्वपूर्ण सम्झौता सम्पन्न भएको थियो । नेकपा (माओवादी केन्द्र)ले समर्थन छाडेपछि सत्ताबाट बाहिरिनुभएका ओली अहिले माओवादी केन्द्रसँगको चुनावी तालमेल र त्यसपछि पार्टी एकता प्रक्रिया सँगसँगै केन्द्रकै समर्थनमा प्रधानमन्त्री हुनुभएको छ ।
नेता ओली पिता मोहनप्रसाद र आमा मधु ओलीको कोखबाट इवा–२, तेह्रथुममा २००८ साल फागुन ११ (सन् १९५२ । ०२ । २३) मा जन्मनुभएको थियो । रणामती–६, झापामा बसाइँ सर्नुभएका उहाँ त्यहीँबाट सक्रिय राजनीतिमा होमिनुभएको हो । उहाँ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नंं ५ बाट निर्वाचित हुनुभएको हो ।


