आज फागुन ४, अछाम आक्रमणको १६ वर्ष : पिता गुमाउनुको कारण खोज्दै सन्तान

मंगलसेन । प्रत्येक वर्ष फागुन ४ गते देवसरा ढुंगानाको परिवारलाई पीडा बल्झाएर आउँछ। देवसराका पति रूपराज ढुंगानाले २५ वर्षको कलिलो उमेरमै अनाहकमा तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको सिकार बन्नुपरेको दिन फागुन ४ गते नै हो।

माओवादीको ०५८ फागुन ४ गते राति अछाम सदरमुकाम आक्रमणका क्रममा मंगलसेनका रूपराजले अनाहकमा ज्यान गुमाएपछि उनको परिवारमा फागुन ४ इतिहासकै सबैभन्दा कालो दिन बनेको हो।

मंगलसेनको एक मेडिकलमा काम गर्दै आएका रूपराजले सीएमए पास गरेको दुई हप्ता नबित्दै घटनामा परेर ज्यान गुमाए। ‘न सुरक्षाकर्मीमा जागिरे, न माओवादी भएर लड्न नै जानुभएको थियो, अर्काको मेडिकलमा काम गरेर खाने मान्छेलाई घटनाको दिन मारिदियो’, देवसराले गुनासो गरिन्, ‘अनाहकमा श्रीमान्को किन ज्यान लिए, अहिलेसम्म जवाफ पाउन सकेकी छैन।’ पाँच र दुई वर्षका दुई छोरा र तीन महिनाकी छोरी पेटमा हुँदा पति गुमाएपछि देवसराले दुःखको पहाड भोगेको खबर शिवराज खत्रीले अन्नपूर्ण पोष्टमा लेखेका छन ।

गाउँटोलमा अरूले बुबा भनेर बोलाएको सुन्दा रमिताको मन सारै पिरोल्छ। उनले जन्म दिने बुबाको अनुहार देख्न त के, बुबा भन्ने शब्द नै उच्चारण गर्न पाएकी छैनन्। छोरीले सबैको बुबा छन् हाम्रो बुबा किन छैनन् आमा भनेर प्रश्न सोध्दा आफूसँग जवाफ नहुने देवसराले बताइन्। ‘अरुले बुबा भनेर बोलाएको सुन्दा र साथीहरू आफ्नो बुबासँगै हिँडेको देख्दा साह्रै नरमाइलो हुन्छ’, १५ वर्षीया रमिताले भनिन्, ‘किन मेरा बुबाको हत्या भयो जान्ने मन छ। तर कसबाट जान्ने हो, त्योचाहिँ थाहा छैन।’

घट्ना भएको १२ वर्षसम्म आफूले कुनै राहत नपाएको देवसराले बताइन्। दाउरा बजारमा लगेर बिक्री गर्दै उनले छोराछोरीको शिक्षादीक्षा एवं लालनपालन गरिन्। राज्यले तीन वर्षदेखि थोरै भए पनि छात्रवृत्ति दिन थालेपछि केही राहत भएको उनको भनाइ छ। जेठो छोरा नवीन कक्षा ११, माइलो छोरा तेजराज कक्षा ९ र छोरी रमिता कक्षा ८ मा अध्ययनरत छन्।

रमिताका दाजुबहिनीजस्तै थुप्रै अबोध बालबालिकालाई के कारणले सशस्त्र युद्धको बेला अभिभावक गुमाउनुपर्‍यो भन्नेबारे थाहा छैन। मंगलसेन आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए। पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो।

क्याप्टेनसहित तत्कालीन शाही नेपाली सेनाका ५३ जना सेना मारिए। ५९ प्रहरी, निजामतीका दुई र सर्वसाधारण आठ गरी मंगलसेनमा एक सय २२ को ज्यान गयो। माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गर्‍यो। विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यसै राति मारिए। विद्रोही पक्षतर्फ कतिको ज्यान गयो त्यसबारे कुनै तथ्यांक छैन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।