ओली प्रधानमन्त्री बनेपछि भारतीय चर्चित पत्रिकाले यस्तो लेख्यो
काठमाडौं, ४ फागुन । केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै छिमेकी मुलुक भारतमा पनि चर्चा भएको छ । भारतीय सञ्चारमाध्यम टेलिभिजन, अनलाइनहरुमा नेपालमा नयाँ प्रधानमन्त्री चयन भएको र उनी भारत निकट नभइ चीन निकट व्यक्ति रहेको प्रचार गरिएको छ ।
भारतीय सरकारी अखबार नवभारत टाइम्स, दैनिक जागरण, हिन्दुस्तान टाइम्सलगायतका मुख्य समाचारपत्रहरुले नेपालमा केपी ओली प्रधानमन्त्री बनेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका हुन् ।

हिन्दुस्तान टाइम्सले चीन समर्थक ओली दोस्रो पटक नेपालका प्रधानमन्त्री बने भन्ने शिर्षकमा लामो समाचार छापेको छ । उसले ओली प्रधानमन्त्री बन्दा चीनलाई रणनीतिक दृष्टिले पुग्ने जनाएको छ ।
त्यस्तै जागरण टाइम्सले दोस्रो पटक नेपालको पीएम बने कपी ओली शीर्षकमा समाचार प्रकाशन गरेको छ ।
नवभारत टाइम्सले चीन समर्थक ओली बने नेपालको नयाँ पीएम शीर्षकमा नवभारत टाइम्सले समाचार प्रकाशन गरेको छ ।
केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएपछि भारतीय पत्रिकाहरूमा धमाधम विश्लेषण आउन थालेका छन् । यसै क्रममा भारतबाट निस्कने अंग्रेजी पत्रिका द न्यु इन्डियन एक्सप्रेसमा रामानन्द सेनगुप्ताको बाईलाईनमा शुक्रवार एउटा विश्लेषण आएको छ ।
विश्लेषणमा भनिएको छ :

चीनपरस्त ओली सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका लागि अनि त्यही वर्ष आफूलाई सत्ताबाट बहिर्गमन गराउनका लागि भारत दोषी रहेको बताउँछन् । यतिखेर ओलीको नेकपा एमाले र पुष्पकमल दाहालको नेकपा माओवादी केन्द्रका बीच असहज गठबन्धन छ । प्रचण्ड वामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ ।
सम्बन्ध सुधार्न तथा नयाँ नेतृत्वप्रति भारतको समर्थनलाई थप सुदृढ गर्नका लागि विदेशमन्त्री सुष्मा स्वराजले फेब्रुअरीको शुरूतिर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणका क्रममा ओली र कम्युनिस्ट नेतृत्वसँग कुराकानी गरिन् ।
केही विश्लेषकहरूले ओलीले दुई ठूला छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने विश्वास राखेका भएपनि अधिकांशले भित्रभित्रै चाहिँ यसो नहुने स्वीकारेका छन् ।
‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहण गरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएको
दुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ एक भारतीय कूटनीतिज्ञले बताए ।
‘सबै कुरा नियमित रूपमा चल्न सक्छ,’ सम्पादक तथा राजनीतिक विश्लेषक युवराज घिमिरे भन्छन्, ‘तर ओलीले देखिनेगरी चीनसँग निकटता बढाएकोले भारत स्वाभाविक रूपमा चिन्तित छ । भारतीय नाकाबन्दीको प्रतिशोधस्वरूप
ओली चीनसँग नजिकिएका हुन् ।’
अर्का नेपाली पत्रकारले चाहिँ ठाडै भने, ‘काठमाडौंको कुरा गर्दा अब बाईबाई दिल्ली, हेलो बेइजिङ हो । यसलाई स्वीकार्नुस् ।’


