‘सांसद हुनपाउँ’ भन्दै सर्वोच्च पुगे प्रेमबहादुर सिंह !
काठमाडौं, ६ फागुन । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आफूलाई सांसद बनाइ पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन् ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि नै नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका सिंह समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम नामावलीमा आफ्नो नाम नपरेपछि सर्वोच्च अदालत पुगेका हुन्, लोकान्तरमा खबर छ ।
माओवादीले उनलाई पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी समानुपातिकतर्फको सूचीमा समावेश गरेको थियो । तर निर्वाचन आयोगले प्रकाशन गरेको ‘छनौट भएका उम्मेदवार’को अन्तिम नामावलीमा उनको नाम हटाइएको थियो ।
आफूलाई निर्वाचन आयोगले षड्यन्त्रपूर्वक सांसद हुनबाट बञ्चित गराएको भन्दै सिंहले आइतवार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सिंहले रिट दायर गर्दै पिछडिएको क्षेत्रबाट आफ्नो प्रतिनिधित्व नहुने गरी निर्वाचन आयोगले गरेको निर्णय बदर गराउन माग गरेका छन् ।
निर्वाचन आयोगलाई प्रमुख विपक्षी बनाइएको उनको रिट आइतवार सर्वोच्च अदालतमा दर्ता भएको छ ।


