बोका बली चढाएपछि मुख्यमन्त्री सरकारी क्वार्टरमा सरे
सुर्खेत । प्रदेश ६ का मुख्यमन्त्री बोका बली चढाएर सरकारी क्वार्टरमा सरेका छन् । महेन्द्रबहादुर शाही मुख्यमन्त्री नियुक्त भएपछि होटलमा बस्दै आएका थिए ।
उनले कालो बोका ढालेर सरकारी क्वार्टरभित्र पस्ने साइत जुराएका हुन् । यसअघि क्षेत्रीय प्रशासक बस्दै आएको वीरेन्द्रनगरस्थित क्वार्टरमा आइतवार विहान बोका ढालेपछि उनी सरकारी क्वार्टरमै बस्न थालेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीहरुले कालो बोकाको व्यवस्थापन र अन्य विधि पूरा गरेपछि मात्र मुख्यमन्त्री शाही सरकारी क्वार्टरमा सरेका हुन् । मुख्यमन्त्री क्वार्टरमा पस्नुअघि कालो बोका ढालिएपछि त्यहाँ पुगेका माओवादीका केही सांसद, नेता र कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।
विगतमा धर्म निरपेक्षताको चर्को वकालत गरेको पार्टीको नेताले नै मुख्यमन्त्री बनेपछि कालो बोका बली चढाएकोमा बधाई तथा शुभकामना दिन पुगेका कार्यकर्ता र सर्वसाधारणहरु भने कानेखुसी गरिरहेका थिए । – न्यूज२४ नेपाल ।


