अबको पाँच वर्ष सम्म विद्या भण्डारी र नन्दबहादुर नै राष्ट्रपति र उपराष्ट्रपति !
काठमाण्डौं, ८ फागुन । अबको पाँच वर्ष वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै रहने भएका छन् ।
पार्टी एकीकरणको सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्व तहमा भण्डारी र पुनलाई नै निरन्तरता दिने सहमति भएको एमालेका एक नेताले जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकतासम्बन्धी सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । लिखितसँगै दुई पार्टीबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष तथा मन्त्रीहरुमा भागबण्डाबारे भद्र सहमति भएको ती नेताले बताएको काठमाण्डूटुडेमा खबर छ ।
सोही सहमतिअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले निरन्तरता पाउने भएका हुन् । गत मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन दुवैले दोहोरिन आ–आफ्ना पूर्वपार्टीमा तीव्र लविङ गरेका थिए । भण्डारी एमालेबाट र पुन माओवादी केन्द्रबाट राष्ट्रपति÷उपराष्ट्रपति चुनिएका हुन् ।
राष्ट्रपति भण्डारीले बाम गठबन्धन गरेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शीतलनिवासमै बोलाएर एकले प्रधानमन्त्री र एकले पार्टीको नेतृत्व लिने गरी एकता गर्न दबाब दिएकी थिइन् ।
उनले प्रचण्ड परिवारलाई शीतलनिवासमा डिनरका लागि निम्तासमेत दिएकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको पहिलो बैठक आगामी २१ पmागुनमा आह्वान गरेकी छन् । राष्ट्रपति/उपराष्ट्रपति चयनका लागि २५ फागुनमा निर्वाचन हुँदैछ ।
एमालेमा भण्डारीलाई निरन्तरता दिन नहुने भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने चाहना राख्दै आएका छन् । रामबहादुर थापा बादलले अस्वीकार गरेपछि माओवादी केन्द्रमा भने राष्ट्रपतिका आकांक्षी छैनन् ।


